लघुवित्तले दिए एउटै धितोमा एकभन्दा बढीलाई कर्जा, राष्ट्र बैंकले के-के औंल्यायो कैफियत?

बिजमाण्डू
२०८१ बैशाख ५ गते १८:५५ | Apr 17, 2024
लघुवित्तले दिए एउटै धितोमा एकभन्दा बढीलाई कर्जा, राष्ट्र बैंकले के-के औंल्यायो कैफियत?

काठमाडौं। लघुवित्त संस्थाहरुले एउटै धितोमा एकभन्दा बढी व्यक्तिलाई कर्जा दिने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको सुपरिवेक्षणमा एउटा धितोको आधारमा एकभन्दा बढी व्यक्तिलाई कर्जा दिएको भेटिएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनमा कैफियत औंल्याइएको छ।

एउटा धितोका आधारमा एकभन्दा बढी व्यक्तिलाई कर्जा प्रवाह गर्न पाइँदैन। तर लघुवित्तहरुले आफ्नो निर्देशनका बाबजुद एउटै धितोमा एकभन्दा बढी व्यक्तिलाई कर्जा दिएको पाइएको विभागको प्रतिवेदनमा उल्लेख छ।

कर्जा प्रवाह गर्दा ऋणबाट कट्टा गरी अनिवार्य बचत लिएको तथा कर्जाको प्रयोजन तथा भाखा अवधिवीच तालमेल नभएको पनि पाइएको छ।

लघुवित्त वित्तीय संस्थाले सीमा नाघेर कर्जा लगानी गरेको पनि विभागको स्थलगत निरीक्षणबाट देखिएको छ।

यस्तै व्यवस्थापकीय पद रिक्त भएको ३ महिनाभित्र पूर्ति गर्न अटेर गरेको, जोखिम व्यवस्थापनका लागि डिजास्टर रिकभरि प्लान र बिजनेस कन्टिन्युटी प्लान नबनाएको, जोखिम हेर्न छुट्टै विभाग तथा विभागीय प्रमुख व्यवस्था नगरेको, स्वतन्त्र सञ्चालक नियुक्त नगरेको लगायत कैफियत प्रतिवेदनमा औंल्याइएको छ।

तर प्रतिवेदनमा कुन लघुवित्तमा कुन कैफियत देखिएको भन्नेचाहिं खुलाइएको छैन।