इलाम पुगेर रास्वपामाथि ओलीको कटाक्ष : केही युवा भएको पार्टीले धाक देखाए

बिजमाण्डू
२०८१ बैशाख ५ गते १६:२७ | Apr 17, 2024
इलाम पुगेर रास्वपामाथि ओलीको कटाक्ष : केही युवा भएको पार्टीले धाक देखाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले युवाहरुको पार्टी भएको दाबी गरेका छन्। इलाम क्षेत्र नम्बर २ को चुनावी प्रचारमा देउमाई पुगेका ‌ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्षसमेत गर्न भ्याए।

Tata
GBIME
Nepal Life

ओलीले दुई चार जना युवा भएका पार्टीले युवा नै युवा भएको धाक लगाएको तर्क गरे।

‘दुई चार जना युवा भएको पार्टीले युवा नै युवा छौं रे,’ ओलीले भने, ‘एमालेमा युवा नै युवा छन्। नाच्ने युवा गाउने युवा संगठन गर्ने युवा। उम्मेदवार पनि युवा। यसमा युवाहरुको पंक्ति सामेल हुँदै जान्छ।’

चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली।

किरात धर्मगुरु फाल्गुनन्दलाई एमालेले नै राष्ट्रिय धर्मगुरु बनाएको तर्क गर्दै ओलीले संघीयताको पाठ आफूलाई नसिकाउन चेतावनी दिए।

ओलीले इलाम २ को वास्तविक उम्मेदवार नै सुहाङ नेम्बाङ भएको बताए।

‘कानुनमा मास्टरर्स गरेको विद्वान व्यक्तित्व युवा हो सुहाङ नेम्बाङ। वास्ताविक उम्मेदवार। कहाँ पुग्ने भनेर थाह भएको, गन्तव्य थाह भएको,’ ओलीले भने।

ओलीले अरु पार्टीलाई अनावश्यक खर्च गरेर बालुवामा पानी खन्याएझैं नगर्नसमेत आग्रह गरे। ‘अनावश्यक खर्च नगर्नु होला। बालुवामा पानी खनाएजस्तै हो। जित्ने सुहाङले हो,’ ‌ओलीले भने।

यस क्षेत्रमा एमालेबाट डिक तामाङ आकंक्षी थिए। पछि उनी रास्वपामा प्रवेश गरि उम्मेदवार बन्ने तयारी गरे पनि उनलाई रास्वपाले पनि पत्याएन। यद्यपि यो क्षेत्रमा मत बिग्रने डरले ओलीलाई यहाँ डाकिएको इलाम एमालेले जनाएको छ।