साउदी अरब माथि नेपालको रोमाञ्चक जित, अपराजित रहँदै पुग्यो सेमिफाइनलमा

बिजमाण्डू
२०८१ बैशाख ५ गते १६:२० | Apr 17, 2024
साउदी अरब माथि नेपालको रोमाञ्चक जित, अपराजित रहँदै पुग्यो सेमिफाइनलमा
साउदी अरबविरुद्ध ब्याटिङमा गुल्सन झा। तस्बिर: एसीसी

काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कपमा नेपालले साउदी अरबलाई पराजित गरेको छ। ओमनमा जारी प्रतियोगिताको समूह ‘ए’को खेलमा नेपालले साउदी अरबमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो।

Tata
GBIME
Nepal Life

ओमनको अल अमेरत स्टेडियममा वर्षाका कारण मैदान खराब भएपछि केही ढिला गरेर ८ ओभरको खेल खेलाइएको थियो। जसमा टस हारेर ब्याटिङमा उत्रिएको साउदीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।

औसत् लक्ष्य पछ्याएको नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै इस्तिआक अहमेदको बलमा उस्मान नजीबबाट क्याचआउट भए। १.२ ओभरमा अर्का ओपनर आशिफ शेख ५ रन बनाएर नजीबकै बलमा आउट हुँदा साउदीका बलर नेपालमाथि हाबि हुन थालेका थिए।

त्यस्तै २.२ ओभरमा २ रन बनाएका कुशल मल्ल पनि आउट हुँदा नेपाल १५-३ को अफ्ठ्यारो अवस्थामा पुगिसकेको थियो।

गुल्सन झा र दीपेन्द्रसिंह ऐरी साउदी अरबविरुद्ध ब्याटिङमा। तस्बिर: एसीसी

साउदीतर्फ जाँदै गरेको खेलको मोमेन्टमलाई आफ्नो पक्षमा ल्याउन गुल्सन झाले जिम्मेवार ब्याटिङ गरे। १९ बलमा अविजित ३२ रन बनाएका उनले दीपेन्द्रसिंह ऐरीसँग ३३ र रोहितकुमार पौडेलसँग २७ रनको अविजित इनिङ्स खेले।

जारी प्रतियोगितामा उच्च लयमा रहेका ऐरीले १७ रन बनाउँदा रोहित १६ रनमा अविजित रहे।

बलिङतर्फ साउदी अरबका इस्तिआक अहमदले २ विकेट लिँदा उस्मान नजीब र वाजी उल हसनले समान १ विकेट लिए।

त्यसअघि सुरुवाती ब्याटिङमा उत्रिएको साउदीका लागि अब्दुल वाहीदले १६ बलमा ३७ रन बनाएर स्कोर उकासेका थिए। तर, त्यसबाहेकका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

साउदी अरबको विकेट क्याच लिने क्रममा करण केसी। तस्बिर: एसीसी

बलिङतर्फ नेपालका करण करण केसी र अभिनास बोहराले समान २ विकेट लिँदा ललितनारायण राजवंशी र प्रतिस जिसीले १ विकेट लिएका थिए।

नेपाल र हङकङ सेमिफाइनलमा

यो जीतसँगै समूह ‘ए’ बाट नेपाल समूह विजेता र हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्।

४ खेलमा अपराजित रहेको नेपालले ८ अंक जोड्दा २ जित र दुई हार ब्यहोरेको हङकङ ४ अंक बनाउँदै रनरेटमा समान अंक जोडेको कतारलाई पछि पारेर सेमिफाइनलमा पुगेको हो।

समूह ‘बी’ मा भने समूह विजेता र उपविजेताको टुंगो लाग्न बाँकी छ।