टी-२० अलराउण्डर वरीयतामा दीपेन्द्रको छलाङ, कुन नेपाली खेलाडी कतिऔं स्थानमा ?

बिजमाण्डू
२०८१ बैशाख ५ गते १४:५२ | Apr 17, 2024
टी-२० अलराउण्डर वरीयतामा दीपेन्द्रको छलाङ, कुन नेपाली खेलाडी कतिऔं स्थानमा ?
दिपेन्द्रसिंह ऐरी फिल्डिङमा। फाइल फोटो एसीसी

काठमाडौं। दीपेन्द्रसिंह ऐरीले टी-२० वरीयतामा छलाङ मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको पछिल्लो वरीयतामा १४ स्थान सुधार्दै दीपेन्द्र वरीयताको ११ औं स्थानमा उक्लिएका हुन्।

Tata
GBIME
Nepal Life

टी-२० अलराउण्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा वानिन्दु हसरंगा र तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाभी छन्।

नेपालका अर्का अलराउण्डर कुशल मल्ल यो सूचीमा २७औं स्थानमा छन्। त्यस्तै रोहित पौडेल ६२, गुल्सन झा ६८ र करण केसी ८०औं स्थानमा छन्।

ओमनमा जारी एसीसी प्रिमियर कपका हरेक खेलमा ऐरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कतारविरुद्धको खेलमा उनी अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्दै विश्व क्रिकेटको ध्यान तान्न सफल भएका थिए।

टी-२० अन्तर्राष्ट्रियको बलिङतर्फ नेपालका कुनै पनि बलर शीर्ष १०० खेलाडीभित्र छैनन्।

ब्याटिङतर्फ कप्तान रोहितकुमार पौडेल ५३औं स्थानमा रहँदा दीपेन्द्र १६ स्थान सुधार गर्दै ६१औं स्थानमा उक्लिएका छन्। त्यस्तै आशिफ शेख ७५ र कुशल मल्ल १००औं स्थानमा छन्।