चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार पड्कियो, माडीमा विद्युत् सेवा अवरुद्ध

बिजमाण्डू
२०८१ बैशाख ५ गते १४:४० | Apr 17, 2024
चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार पड्कियो, माडीमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज भित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ। सोमबार राति भूमिगत तार पड्किएपछि विद्युत् अवरुद्ध भएको थियो।

Tata
GBIME
Nepal Life

अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि संचालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जिनियर विनोद सापकोटाले जानकारी दिए।

उनले निकुञ्जभित्र तार मर्मतको काम सुरु गरिएको बताए।

आज दिनभरमा विद्युत् सेवा नियमित संचालनको प्रयास गरिने छ। पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुंगो नभएको सापकोटाले बताए।

‘आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत् सप्लाई गर्न सकिन्छ कि भन्ने छ। अहिल्यै भन्न सक्ने अवस्था भने छैन,’ उनले भने।

निकुञ्जभित्रको भूमिगत तारमा समस्या आउँदा माडीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ। निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव-प्रसारण लाइनको केबल भूमिगत गरिएको छ। निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इञ्जिनियर सापकोटाले बताए।

पटक पटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यम लगायत सबै क्षेत्र समस्यामा परेका छन्।