नागढुंगा-नौबिसे ४ किलोमिटर कालोपत्रे, नौबिसे-मलेखु आगामी साता सुरु हुँदै

बिजमाण्डू
२०८१ बैशाख ५ गते १३:५६ | Apr 17, 2024
नागढुंगा-नौबिसे ४ किलोमिटर कालोपत्रे, नौबिसे-मलेखु आगामी साता सुरु हुँदै

काठमाडौं। नागढुंगा-नौबिसे खण्डमा सडक एक लेन ४ किलोमिटर कालोपत्रेको काम पुरा भएको छ। नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाका इन्जिनियर तुलाकान्त चौधरीका अनुसार अहिले खानीखोलादेखि नागढुंगातर्फको सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ।

Tata
GBIME
Nepal Life

आयोजनाले यो खण्डमा गत चैत दोस्रो सातादेखि विस्तारको काम सुरु गरेको हो। जसमा एक साइडको ४.५ मिटर चौडाइमा एक लेन सडक ४ किलोमिटरसम्म कालोपत्रे गरिएको उनले बताए। यो सडक अहिले दुईबाट चार लेनमा विस्तार गर्न लागिएको छ।

‘अहिले एक लेन नागढुंगाबाट जाँदा ‍राइट साइडमा पर्ने ४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘अन्य लेनमा पनि कालोपत्रे गर्न बेस तयार पारिएका छन्।’

उनका अनुसार यो महिना यस खण्डको ६ किलोमिटर सडक चारै लेन कालोपत्रे गर्ने काम सक्नेगरि काम भइरहेको छ। ‘हामी यो महिनाभित्रै यो खण्ड ६ किलोमिटर सडक चार लेन नै कालोपत्रे गरेर सकाउछौं,’ उनले भने, ‘त्यही अनुसार हामीले बेसहरु तयार पारिरहेका छौं।’

नौबिसेदेखि खत्रीपौवासम्म १० किलोमिटरको दुरी छ। तर, यो महिनाभित्र ६ किलोमिटर सडक चार लेन कालोपत्रे हुने उनले बताए। यस्तै यो खण्डमा निर्माण हुने खत्रीपौवा, नौबिसे, गणेशखोला पुललगायत १३ वटा पुलहरु सबैको काम सुरु भएको छ। तर एउटा फेदी ब्रिजको काम सुरु गर्न नपाइएको चौधरीले बताए।

‘पुलको जग निजी जग्गामा पर्ने भएकाले त्यसको काम सुरु गर्न पाइएको छैन, ‘ उनले भने, ‘पहिले सडकको राइट अफ वे सेन्टरबाट २५/२५ मिटर थियो। त्यहीअनुसार जग्गाहरु उपलब्ध थिए। तर यो पुल तोकिएको भन्दा २ मिटर बढी जाने भएपछि समस्या भएको छ। यसका लागि जग्गाधनीसँग कुरा भइरहेको छ।’

यस्तै दोस्रो खण्डमा पर्ने नौबिसेदेखि मलेखुसम्मको सडक पनि कालोपत्रे आगामी सातादेखि सुरु गर्न लागिएको चौधरीले बताए। आयोजनाले जता जता बेस तयार भएको छ त्यही स्थानहरुमा कालोपत्रे गर्दै आएको छ। यो खण्डमा पनि अहिले गल्छीनजिक एकलेफाटदेखि नौबिसेतर्फ राइट साइडको एक लेन कालोपत्रे गर्न लागेको उनको भनाइ छ।

‘अहिले एक किलोमिटरको लागि बेस तयार भइसकेको छ। अर्को हप्तादेखि कालोपत्रे गर्न सुरु हुन्छ। त्यहीअनुसार अन्य ठाउँमा पनि बेस तयार भइरहेको छ,’ उनले भने। हालसम्म यो आयोजनामा पहिलो खण्डको भौतिक प्रगति ४५ प्रतिशत र दोस्रो खण्डमा १७ प्रतिशत भएको छ।

यो सडक आयोजनाको २०७८ को चैतमा पहिलो खण्ड र दोस्रो खण्डको २०७९ असोज मा ठेक्का लागेको थियो। ठेक्का लागेको २४ महिनापछि कालोपत्रे सुरु गरिएको हो। यसको निर्माण अवधि ३ वर्षको रहेको छ। आयोजनाको म्याद सकिने दिन नजिकिदै छ।