काठमाडौं। बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा सातदोबाटोदेखि बालकुमारी पुलसम्मको सडक पूर्ण रुपमा बन्द हुने भएको छ। ग्वार्को फ्लाइओभरमा गर्डर राख्न रातको समयमा सडक बन्द गर्न लागिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फलाम (स्टील)को बीम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ। उक्त गर्डर राख्न ठूला मेसिन प्रयोग गर्ने गरिन्छ।
केन्द्रका अनुसार सडक बिहीबारदेखि वैशाख ११ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म पैदलयात्रु आवतजावत तथा यातायात सञ्चालन पूर्ण रुपमा बन्द हुनेछ।
गर्डर लन्चिङ गर्दा सडक प्रयोगकर्ताहरूलाई हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरको गत चैत ३० गते बसेको बैठकले सडक बन्द गर्ने निर्णय गरेको हो।