यूएईमा ७५ वर्ष यताकै अत्यधिक वर्षा, सहर जलमग्न हुँदा आर्थिक गतिविधि ठप्प

बिजमाण्डू
२०८१ बैशाख ५ गते १२:३३ | Apr 17, 2024
यूएईमा ७५ वर्ष यताकै अत्यधिक वर्षा, सहर जलमग्न हुँदा आर्थिक गतिविधि ठप्प
Photo : Gulf News

संयुक्त अरब इमिरेट्समा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। सन् १९९४ देखि वर्षाको डेटा संकलन सुरु गरिएदेखिकै अत्यधिक वर्षा रेकर्ड गरिएको हो।

Tata
GBIME
Nepal Life

वर्षाका कारण कयौं आर्थिक गतिविधिमा केन्द्रीत सहरहरु जलमग्न भएका छन्। दुबई ग्रीन र रेड मेट्रो लाइनले सेवा अवधि छोट्याएको छ। बस सेवा पनि प्रभावित भएको छ। अन्तर सहर बस सेवा पनि रोकिएको छ।

मानिसहरुलाई आवश्यक भएमात्रै बाहिर निस्कन भनिएको छ। राजधानी आबुधाबीसहित कयौं सहरमा ट्राफिक डाइभर्सन गरिएको छ। वर्षालाई मध्यनजर गर्दै सडकमा स्पिड लिमिट घटाइएको थियो। हाललाई फेरि स्पिड लिमिट सामान्य अवस्थामै फर्काइएको छ।

वर्षाका कारण विमानस्थल संचालनमा पनि अवरोध पुगेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले अनावश्यक रुपमा यात्रा नगर्न आह्वान नै गरेको छ। यूएईभर सयौं विमानहरु डाइभर्ट गरिएको छ भने कयौं विमान ‘डिले’ भएका छन्। दुबई इमिरेट्स एयरलाइनले यात्रुहरुको चेक-इन नै स्थगित गरेको छ।

वर्षाका कारण घर र ठूला भवनमा समेत क्षति पुगेको छ। बाढी कयौं घरभित्र पसेको छ भने कारहरु बगाएको छ।

मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै यूएई सरकारले सतर्कता अपनाउन आह्‍वान गरेको छ।