१० करोड लगानीमा ‘त्रिशूली भिल्ला’, २२ कोठा सञ्चालनमा आउँदा बाँकी १५ केही महिनामै

बिजमाण्डू
२०८१ बैशाख ५ गते १०:५२ | Apr 17, 2024
१० करोड लगानीमा ‘त्रिशूली भिल्ला’, २२ कोठा सञ्चालनमा आउँदा बाँकी १५ केही महिनामै

काठमाडौं। मलेखु नजिक बेनिघाटमा त्रिशूली नदी पारी ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ। त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलले भिल्ला सञ्चालनमा ल्याएका हुन्।

Tata
GBIME
Nepal Life

१५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेल बताउँछन्। 

त्रिशूली रिभर साइड रिसोर्ट भन्दा लक्जरी सुविधासहितको १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ। २२ वटा कोठा सञ्चालनमा आइसकेको र अबको केही महिनामै बाँकी १५ वटा कोठा सञ्चालनमा ल्याइने उनले जानकारी दिए। 

भिल्लामा ३ सय जना अट्ने कन्फ्रेन्स हल पनि निर्माण गरिएको छ। जसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ। ‘वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ।

यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यू लगायतको मज्जा लिन सक्नेछन्।

भिल्लामा न्यूनतम ४ हजार रुपैयाँदेखिको प्याकेज उपलब्ध छ। भिल्ला बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्वीमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउँछन्।

भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ। रुमको बालकोनीबाट त्रिशूली नदीको दृश्यावलोकन समेत गर्न सकिने बताइएको छ।

कर्पोरेट ग्राहकमात्र नभएर कुनै विशेष पार्टीको मज्जा लिन तथा विवाह समारोह आयोजना गर्न समेत भिल्ला उत्तम गन्तव्य बन्ने सञ्चालक कँडेलले बताए।

रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ। त्रिशूली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, र्‍याफ्टिङ जस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टमा लिन सक्नेछन्।

भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिंगा झरेपछि त्रिशूली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ।

एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुंगे पुल तरेर भिल्ला पुग्न सक्छन्। सवारीसाधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ। बाइकमा भने झलुंगे पुल हुँदै भिल्लासम्मै पुग्न सकिन्छ।