खाद्य उद्योगीको दु:ख : भुस जति पनि बिक्छ तर चामल बिक्दैन, मूल्य घटेर तनावमा

अनन्तराज न्यौपाने
२०८१ बैशाख ५ गते ०९:३९ | Apr 17, 2024
खाद्य उद्योगीको दु:ख : भुस जति पनि बिक्छ तर चामल बिक्दैन, मूल्य घटेर तनावमा

विराटनगर। मुख्य खाद्यान्नका रूपमा रहेको चामलका उद्योगीको अहिलेको दुःख अनौठो छ। त्यो दुःख हो – भुस जति पनि बिक्छ, चामल बिक्दैन।

Tata
GBIME
Nepal Life

बजारमा राइस ब्रान र कनिका खरिद गर्नेको पनि लाइन छ, चामल सोध्न कोही आउँदैनन्। जबकी चामलको उत्पादन नगरी भुस, कनिका र राइस ब्रान तीन वटै वस्तुको उत्पादन सम्भव छैन। माग र बिक्री घटेसँगै चामलको मूल्यमा ह्रास आएको छ भने कनिका, भुस र राइस ब्रान तीन वटै सहउत्पादनको मूल्यवृद्धि भएको छ।

स्वदेशी बजारमा मुख्य खाद्यान्न चामलको माग घट्दो र यसका तीन वटै सहउत्पादन भुस, राइस ब्रान र कनिकाको बढ्दो क्रममा देखिएको हो। अन्तर्राष्ट्रिय मन्दी र अवैध आयातसँगै उपभोक्ताको संख्या पनि दिनानुदिन घटेका कारण मुख्य खाद्यान्न चामलको माग र मूल्यमा ह्रास आएको हो। यसका कारण चामलको उत्पादन घटेको छ। चामलसँगै सहउत्पादनहरू भुस, राइस ब्रान र कनिकाको उत्पादनमा पनि ह्रास आएपछि तीन वटै वस्तुको मूल्यवृद्धि भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी सदस्य एवम् स्वस्तिक राइस मिल्सका सञ्चालक श्रवण अग्रवालका अनुसार बजारमा चामलको माग ६० प्रतिशतले घटेको छ। सीमा नाकामा कडाइ गरेको खबर बारम्बार आइरहे पनि चामलको अनधिकृत आयात रोकिएको छैन। यस्तो अवैध चामल सीमाक्षेत्रमा मात्र नभई भित्री मधेस र पहाडी क्षेत्रका पसलमा पनि बिक्रीका लागि राखिएको पाइन्छ। यसका कारण स्वदेशी उद्योगमा चामलको माग र मूल्य दुवै घटेको हो।

उनका अनुसार चामलको अवैध आयात हुने गरेको भए पनि भुस, राइस ब्रान र कनिकाको यस्तो आयात हुँदैन। यसका कारणले मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा तीन वटै सहउत्पादनको माग र मूल्य दुवै बढेको उनको भनाइ छ। भुसले चल्ने ब्वाइलर मेसिन भएका उद्योगले ठूलो परिमाणमा भुसको खरिद गर्ने गर्छन्।

एक महिनाअघि भुसको मूल्य किलोको साढे ६ देखि ७ रुपैयाँमा बिक्री भइरहेकोमा अहिले ११ रुपैयाँ पुगेको जानकारी उद्योगी अग्रवालले दिए। त्यस्तै एक महिनामा राइस ब्रानको मूल्य किलोको २९ बाट ४० र कनिका किलोको ४४ बाट ४८ देखि ५० रुपैयाँ पुगेको छ।
सहउत्पादनका तुलनामा मुख्य उत्पादन चामलको मूल्य भने घटेको छ।

अग्रवालले भने, ‘एक महिनाअघि सोना चामलको कारखाना मूल्य किलोको ६८ देखि ६९ रुपैयाँ थियो। अहिले ६६ देखि ६७ रुपैयाँ छ। त्यस्तै एक महिनाअघि जिरा मसिनो चामलको कारखाना मूल्य ८९ देखि ९० थियो। अहिले ८७ देखि ८८ रुपैयाँ भएको छ।’

उनले थपे, ‘उद्योगमा चामल खरिद गर्न एक जना आए भने भुस, कनिका र ब्रान माग्न ५ जना आउँछन्। यसरी माग नभएका कारण चामलको उत्पादन घटेको छ। चामलसँगसँगै अन्य तीन वटै वस्तुको सहउत्पादन पनि घटेको छ।’

जितेन्द्र चामल उद्योगका संचालक जितु तापडिया मोरङ-सुनसरी औद्योगिक क्षेत्रका कागज, कार्टुन, साबुन, बिस्कुट, नुडल्स, तेल लगायतका धेरै उद्योगलाई उल्लेखनीय परिमाणमा भुसको आवश्यकता पर्ने बताउँछन्।

उद्योगी तापडियाले भने, ‘चामलको जस्तै भुसको अवैध आयात छैन। यहाँका अन्य उद्योगले यहीँका चामल उद्योगसित भुसको खरिद गर्नुपर्छ। चामल उद्योग आफैँलाई पनि ब्वाइलर चलाउन भुस चाहिन्छ। त्यसैले भुसको माग र मूल्य दुवैमा वृद्धि भएको हो।’

राइस ब्रानको उपयोग सोलभेन्ट उद्योगले गरिरहेका छन्। सोलभेन्ट उद्योगले राइस ब्रानबाट निकालेको तेल खाद्यतेलको कच्चा पदार्थका रूपमा भारततर्फ निर्यात गरिरहेका छन्। साथै यस्तो तेललाई साबुन उद्योगले कच्चा पदार्थका रूपमा पनि प्रयोग गर्छन्।

त्यसैगरी पशुपन्छीका दाना उद्योगले पनि कच्चा पदार्थका रूपमा राइस ब्रानको प्रयोग गर्छन्। पशुपन्छीको आहारामा सिधै राइस ब्रानको प्रयोग पनि गरिँदै आएको छ।

कनिकाको प्रयोग भने मदिरा उद्योगले गर्दै आएका छन्। मदिराको कच्चा पदार्थ एक्स्ट्रा नेचुरल अल्कोहल (इएनए)को उत्पादन कनिकाबाटै गरिन्छ। उद्योगी तापडियाका अनुसार १०० किलो चामल प्रशोधन गर्दा १० देखि १२ किलो कनिका, २० देखि २२ किलो भुस र ९ किलो राइस ब्रान निस्कन्छ। अब हरेक उद्योगमा चामलको उत्पादन नै ५० देखि ६० प्रतिशतले घटेपछि अन्य सहउत्पादनको उत्पादन पनि घट्ने नै भयो।

सुनसरीको प्रिमियर डिस्टिलरीका सञ्चालक प्रदीप शारडाले भारतले कनिकामा २० प्रतिशत निर्यात शुल्क लगाएपछि यसको आयात बन्द भएको बताए। ‘कनिकाको आयात गर्दा भारतीय भन्सारमा २० र नेपालको भन्सारमा १० प्रतिशत राजस्व तिर्नुपर्छ। यति महँगो राजस्व तिरेर आयात सम्भव छैन,’ उनले भने, ‘यता नेपालका चामल उद्योगले पनि माग अनुसारको कनिका दिन सकिरहेका छैनन्।’

शारडाले ६ महिनाअघि भारतले कनिकामा निर्यात शुल्क लगाउनु अघि मोरङ-सुनसरीका उद्योगले प्रति किलो ३५ रुपैयाँमा कनिका खरिद गरिरहेकोमा अहिले ४८ देखि ५० रुपैयाँ पुगिसकेको बताए।

उनी भन्छन्, ‘सामान्यतया बजेट भाषणले निर्धारण गरेको राजस्वका दर हेरेर बजेट भाषण पछि मदिराको नयाँ मूल्य निर्धारण गरिँदै आएको छ। त्यसपछि वर्ष भर मदिरा त्यही मूल्यमा बिक्री हुनेगर्छ। तर, यसको मुख्य कच्चा पदार्थको मूल्य भने सधैं बढिरहेको छ।’

राधाकृष्ण राइस मिल्सका संचालक सुधीर तोदीले मोरङ-सुनसरीमा दुई सिफ्टमा चल्ने राइस मिलहरू हाल एक सिफ्ट चलिरहेको छ। एक सिफ्ट चल्ने उद्योग हप्तामा दुई दिन मात्रै चलिरहेको उनी बताउँछन्।

उद्योगी तोदी भन्छन्, ‘सीमा नाकामा कडाइ छ भन्ने कुरा हामी समाचारमा मात्र सुनिरहेका छौं। व्यवहारमा पाइरहेका छैनौं। सीमा कडाइ हुने हो भने नेपालका सबै राइस मिलहरू दैनिक कम्तीमा १८ घण्टा सञ्चालनमा आउँछन्।