ऋणको ‘एभर ग्रिनिङ’ रोकिएन, हरेक त्रैमासको अन्तिम साता कर्जा ह्वात्तै बढ्दा नियामक हेरेको हेर्‍यै

बिजमाण्डू
२०८१ बैशाख ४ गते १८:०८ | Apr 16, 2024
ऋणको ‘एभर ग्रिनिङ’ रोकिएन, हरेक त्रैमासको अन्तिम साता कर्जा ह्वात्तै बढ्दा नियामक हेरेको हेर्‍यै

काठमाडौं। चालु पुँजी कर्जामा गरिएको कडाइपछि ऋणको ‘एभर ग्रिनिङ’ रोकिन्छ भन्ने विश्लेषण विपरीत बैंकहरुले पाकेको ब्याज तिर्न नयाँ ऋण दिएको देखिएको छ।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिमतिर बढेको ऋणले बैंकहरुले एभर ग्रिनिङ गरेको तस्बिर देखाउँछ।

चालु वर्षको सुरुदेखि नै ऋण बिस्तार निक्कै सुस्त छ। सातामा दुई/तीन अर्ब रुपैयाँभन्दा खासै बढेको देखिंदैन। तर चैत अन्तिम साता एकै पटक ३६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार, फागुन मसान्तको दिन बैंकहरुको कुल ऋण ४५ खर्ब रुपैयाँ थियो। चैत पहिलो साता घटेर ४४ खर्ब ९५ अर्बमा आयो। चैत २३ गते ऋण पुन: ४५ खर्ब १ अर्ब रुपैयाँ पुग्यो।

दुई सातामा मुस्किलले ६ अर्ब रुपैयाँ बढेकामा अन्तिम साता भने अचानक ३६ अर्ब ऋण थपियो। ऋणको आकार एक सातामा ह्वात्तै बढेर ४५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको तथ्यांक झस्काउने खालको छ।

‘यसले ब्याज तिर्न नयाँ ऋण गएको भन्ने नै देखिन्छ,’ एक बैंकरले भने, ‘मन्दी छ, नयाँ ऋणको माग छैन, चालु पुँजी कर्जामा गरिएको कडाइले प्रयोजन नखुलाई भुक्तानी दिन मिल्दैन। व्यक्तिगत प्रयोजनको ऋणमा पनि सीमा छ। त्यसो हुँदा नयाँ ऋण सृजना गरेर जाने त हो नि।’

ती बैंकरका अनुसार, बढेकोमध्ये अधिकांश ऋण पुरानो ब्याज तिरेर असल बनाउन दिइए पनि केही भने सरकारी कर भुक्तानीका लागि पनि निकालिएको हुनसक्छ।

‘क्यास फ्लो’ कम भएर राम्रो ‘क्लाइन्ट’ ले पनि नियमित समयमा किस्ता बुझाउन नसक्ने अवस्था आएपछि सम्भावित नोक्सानी व्यवस्थाबाट जोगिन पहिले कर्जा दिएका ऋणीहरुलाई नयाँ धितो लिएर वा नयाँ प्रयोजनको प्रबन्ध गरेर ऋण दिइएको अनुमान राष्ट्र बैंकको छ।

राष्ट्र बैंकका अनुसार, रियलस्टेट, हाउजिङ, सेयर बजार तथा अन्य उद्योग र व्यवसायका लागि ऋण लिएका कतिपय व्यापारीले समयमा पैसा तिर्न नसक्दा बैंकहरुले हरहिसाब राम्रो देखाउन अर्को बाटो रोजेका हुन्।

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको सुपरिवेक्षण प्रतिवेदनमा पनि बैंकहरुले पुरानो ऋणलाई राम्रो देखाउन नयाँ ऋण दिएर साँवा र ब्याज भुक्तानी गराएको उल्लेख छ। त्रैमासको अन्त्यतिर ह्वात्तै ऋण बढ्नु नयाँ भने होइन।

तर राष्ट्र बैंकले अनेक तरिका लगाएर ‘एभर ग्रिनिङ’ लाई रोक्न खोजेपनि त्यसमा सफलता नपाएको चैत अन्तिम साता प्रवाह भएको ऋणले पुष्टी गर्छ।

चैत २३ गते बैंकहरुसँग जति ऋण थियो, त्यो ऋण माघ मसान्तकै हाराहारी हो। प्रवाह भएको कुल ऋण माघ मसान्तको दिन ४५ खर्ब १ अर्ब रुपैयाँ थियो। फागुन मसान्तमा त्यो १ अर्ब रुपैयाँले घटेको थियो। चैत मसान्तमा ह्वात्तै ३६ अर्ब रुपैयाँले बढेको छ।

‘जब-जब त्रैमासको अन्त्य हुने अन्तिम साता पर्छ, त्यो बेला ऋण ह्वात्तै नै बढेको देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो।

यसअघि पुस मसान्तमा ऋण रकम ४४ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको थियो। जबकि त्यसको अघिल्लो महिना मंसिरमा ४४ खर्ब २० अर्ब र कात्तिकमा ४४ खर्ब ७ अर्ब थियो।

‘हामीले ऋणीलाई पहिले नै लिमिट दिएका हुन्छौं। त्यो लिमिट अरुबेला प्रयोग नभए पनि मसान्त वरपर प्रयोग भएको हुनसक्छ,’ अर्का एक बैंकरले भने, ‘त्रैमासको अन्त्यतिर नयाँ ऋण दिएको भन्दा पनि पुरानो लिमिटकै प्रयोग बढी हुने हो।’

राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार, एउटा ऋण तिर्न अर्को ऋण प्रयोग गर्न पाइँदैन। यसको निगरानी बैंकहरुले पनि गर्नु पर्छ। राष्ट्र बैंक आफैंले यसबारे प्रश्न उठाए पनि बैंकहरुसँग भने सवालजवाफ गर्ने गरेको छैन।