सुदूरपश्चिममा एकीकृत समाजवादी कांग्रेस गठबन्धनबाट ‘ब्याक’, रञ्जिताले कैलाशलाई दिइन् बधाई

बिजमाण्डू
२०८१ बैशाख ४ गते १६:५४ | Apr 16, 2024
सुदूरपश्चिममा एकीकृत समाजवादी कांग्रेस गठबन्धनबाट ‘ब्याक’, रञ्जिताले कैलाशलाई दिइन् बधाई
कैलाश चौधरीलाई बधाइ दिंदै रञ्जिता चौधरी

काठमाडौं। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएको नेकपा एकीकृत समाजवादी आफ्नो निर्णयबाट पछि हटेको छ।

Tata
GBIME
Nepal Life

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नजिर मियाँको कार्यकक्ष पुगी लक्ष्मणकिशोरलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिएका हुन्।

आइतबार नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका ५ र एकीकृत समाजवादीका ४ सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख मियाँलाई हस्ताक्षर बुझाएका थिए। राप्रपाका एक सांसदसहित लक्ष्मणकिशोरको पक्षमा २८ सांसद थिए।

सोही दिन नागरिक उन्मुक्तिका कैलाश चौधरीले पनि आफ्नो पार्टीबाट आफूसहित २ जना, एमालेका १०, माओवादी केन्द्रका ११ र स्वतन्त्र १ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

कैलाश पार्टी अध्यक्ष रञ्जिता चौधरी तथा लक्ष्मणकिशोर रेशम चौधरी पक्षका नेता हुन्। आइतबार बिहान सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले कैलाशलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। तर एकीकृत समाजवादीले असन्तुष्ट हुँदै कांग्रेसहितको गठबन्धन बनाएर लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन बहुमत पुर्‍याएको थियो।

एकीकृत समाजवादीले समर्थन फिर्ता लिंदा लक्ष्मणकिशोरको पक्षमा बहुमत पुग्दैन। ५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद चाहिन्छन्।

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता एकीकृत समाजवादीले समर्थन फिर्ता लिएसँगै कैलाश अब स्वत: मुख्यमन्त्री बन्ने बताउँछिन्। ‘कैलाश चौधरी नै मुख्यमन्त्री हो। मैले बधाई दिइसकें,’ रञ्जिताले भनिन्।

एकीकृत समाजवादीले भने सोडारीलाई मुख्यमन्त्री बनाउने सहमित भए अनुसार लक्ष्मणकिशोरलाई गरेको समर्थन फिर्ता लिएको बताएको छ।

सुदूरपश्चिममा सरकार गठनमा सकस परेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बिहान एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई बालुवाटार बोलाएर छलफल गरेका थिए। छलफलमा खनालले मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताएका थिए।

कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि १० दिनको समय दिएका थिए।