
पतंजलिको विज्ञापनबारे केही समयदेखि भारतको सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। भ्रामक विज्ञापन प्रशारण गरेर आफ्नो उत्पादन बिक्री गर्ने प्रयास गरेको अभियोग पतंजली माथि छ।
आज भएको सुनुवाइमा बाबा रामदेव र पतंजलीका प्रबन्ध निर्देशक बालकृष्ण उपस्थित भए। उनीहरुको तर्फबाट वकालत गरिरहेकाहरुले रामदेव र बालकृष्ण सार्वजनिक रुपमा नै माफी माग्न तयार भएको सर्वोच्चलाई बताएका थिए।
प्राविधिक कारणले सुनुवाइमा समस्या भएपछि अप्रिल २३ का लागि अर्को पेशी तोकिएको छ। सो दिन पनि दुवैजना अदालतमा उपस्थित हुनुपर्नेछ।
न्यायाधीशहरुले रामदेवले समाजका लागि गरेको काम राम्रो भएको तर कानुन सबैका लागि समान हुने आजको सुनुवाइका क्रममा बताएका थिए। रामदेवले भने सर्वोच्चको अपमान गर्ने आफ्नो मनसाय नरहेको बताएका थिए।
अदालतले रामदेवले ३ पटक आदेशको उल्लंघन गरेको भन्दै सुनुवाइका क्रममा भन्यो : अदालतमा के भइरहेको छ भनेर थाहा नहुने तपाईं त्यति अबोध पनि हुनुहुन्न।
अदालतले पतंजलीको औषधिको विज्ञापन रोक्न आदेश दिएको थियो। तर, त्यसको पालना नभएपछि रामदेव र बालकृष्णविरुद्ध मुद्दा दर्ता गरिएको हो।
यसअघि रामदेव र बालकृष्णले बिना कुनै सर्त माफीका लागि दिएको निवेदन सर्वोच्चले अस्वीकार गरेको थियो। रामदेव र बालकृष्णलाई कडा शब्दमा न्यायाधीशहरुले आफ्नो निर्देशन पालना नगरेको भन्दै पतंजलीमाथि कारबाही भएरै छाड्ने उल्लेख गरेको थियो।
अदालतले उत्तराखण्ड सरकारमाथि पनि प्रश्न उठाएको थियो। हरिद्वारमा रहेको पतंजली कम्पनीमाथि कुनै कारबाही नगरेको भन्दै सर्वोच्चले प्रश्न सोधेको छ।