अन्नपूर्ण क्षेत्रमा ९ महिनामा भित्रिए एक लाख ४४ हजार पर्यटक, ६० हजार दक्षिण एसियाबाट

बिजमाण्डू
२०८१ बैशाख ३ गते १७:३९ | Apr 15, 2024
अन्नपूर्ण क्षेत्रमा ९ महिनामा भित्रिए एक लाख ४४ हजार पर्यटक, ६० हजार दक्षिण एसियाबाट

काठमाडौं । अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको ९ महिनामा एक लाख ४४ हजार ६७५ जना विदेशी पर्यटक भित्रिएका छन्।

Tata
GBIME
Nepal Life

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९३९ र अन्य मुलुकका ८४ हजार ७३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन्।

गत चैतमा मात्र दक्षिण एसियाली मुलुकका १६ हजार ९६९ र अन्य मुलुकका १८ हजार २९६ गरि कूल ३५ हजार २६५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए। गत असोजमा २८ हजार ७०५ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।

यो वैशाख महिनामा पर्यटक संख्या थप बढ्ने प्रमुख डा कडरियाको अनुमान छ। गत आर्थिक वर्षको वैशाखमा ३१ हजार ९५१ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए। असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ।

‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको तथ्यांक राख्ने गरेको छ। सडक मार्ग भएर मनाङ, मुस्ताङलगायतका ठाउँ प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या यकीन छैन। ‘एक्याप’का अनुसार सन् २०२३ मा १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। उक्त संख्या हालसम्मकै उच्च हो।

त्यसअघि सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए। अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य छन्।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ।

हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ।