न्यौपानेलाई जेल फैसलासम्म पुर्‍याएको सम्पत्ति शुद्धीकरणले ज्ञानेन्द्रलाई किन गरिरहेको छ माया?

बिजमाण्डू
२०८१ बैशाख ३ गते १५:१९ | Apr 15, 2024
न्यौपानेलाई जेल फैसलासम्म पुर्‍याएको सम्पत्ति शुद्धीकरणले ज्ञानेन्द्रलाई किन गरिरहेको छ माया?

काठमाडौं। सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले २०७९ पुस २४ गते गुरुप्रसाद न्यौपानेलाई ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा कारवाही गर्‍यो।

Tata
GBIME
Nepal Life

न्यौपाने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत जलविद्युत कम्पनी रिडी पावर कम्पनीका अध्यक्ष थिए। अध्यक्ष रहेकै बेला उनले उक्त कम्पनीमा रहेको आफ्नो ३४ हजार कित्ता सेयर स्टक मार्केटमार्फत बिक्री गरेका थिए। धितोपत्र कानुनले सूचीकृत कम्पनीको सञ्चालक र व्यवस्थापनमै रहेको बेला सेयर खरिद वा बिक्री गर्न पाइँदैन। यस्तो कामलाई ‘इन्साइडर ट्रेडिङ’ मानेको छ।

रिडी पावरमा ‘इन्साइडर ट्रेडिङ’ गरेको पुष्टि भएपछि बोर्डले उनलाई धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम १ (क) तथा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७४ को दफा १४ को उपदफा (६) मा भएको व्यवस्थाको उल्लंघन गरेको आरोपमा कारवाही गर्‍यो।

यो उपदफामा कुनै पनि व्यक्ति सञ्चालकको पदमा रहुन्जेल तथा सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि सेयर, डिबेन्चर खरिदबिक्री गर्न नपाउने व्यवस्था छ। बोर्डले न्यौपानेलाई धितोपत्र सम्बन्धि ऐन २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम ७५ हजार रुपैयाँ जरिवानासमेत गर्‍यो।

यस्तो अपराधलाई ‘प्रेडिक्ट अफेन्स’का रुपमा लिइन्छ। र, त्यस्तो अपराधको छानबिन गर्ने जिम्मेवारी नेपालमा सम्पत्ति शुद्धीकरण विभागलाई दिइएको छ। धितोपत्र बोर्डको कारवाहीपछि न्यौपाने माथिको ‘प्रेडिक्ट अफेन्स’मा सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्‍यो।

छानबिनपछि न्यौपानेले इन्साइडर ट्रेडिङमार्फत सम्पत्ति शुद्धीकरणको कसुर गरेको आरोपमा विभागले विशेष अदालतमा २०८० कात्तिक २३ गते मुद्दा दायर भयो।

यो मुद्दामा सुनुवाइपछि विशेष अदालतले ‘इन्साइडर ट्रेडिङ’ गरेको आरोपमा न्यौपानेलाई १ करोड ९९ लाख १० हजार २५२ रुपैयाँ, त्यसको बिगोवापत थप १ करोड ९९ लाख १० हजार २५२ रुपैयाँ गरी ३ करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ जरिवाना हुने ठहर गर्‍यो।

त्यसैगरी न्यौपानेले यो कारोबारबाट सम्पत्ति शुद्धीकरण गरेको भन्दै थप १ करोड ९९ लाख १० हजार २५२ रुपैयाँ बराबरको सम्पत्ति जफत हुने र एक वर्ष कैद हुने फैसलासमेत विशेष अदालतले गर्‍यो।

तर ठिक त्यही बेला धितोपत्र बोर्डले न्यौपाने मात्रै होइन थप एक जना सेयर कारोबारी तथा ऊर्जा उद्यमीलाई पनि ‘इन्साइडर ट्रेडिङ’मा कारबाही गरेको थियो। र, त्यो कारबाही भोग्ने व्यक्ति थिए, हाइड्रो डेभलपर लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान।

बोर्डले २०७९ चैत १२ गते न्यौपानेमाथि जुन जुन नियम र कानुनहरु उल्लेख गरेर कारबाही गरेको थियो त्यही त्यही कानुनको बुँदाहरु उल्लेख गरेर ऊर्जा उद्यमी प्रधानमाथि पनि जरिवाना गरेको थियो।

नेपाल हाइड्रो डेभलपर लिमिटेडका तत्कालिन अध्यक्ष प्रधानले छोरा चेतन प्रधान र छोरी निभिता प्रधानका नाममा अध्यक्ष भएकै बेला सेयर हस्तान्तरण गरेको र त्यो सेयरको दोस्रो बजारमा कारोबार गरेका थिए।

बोर्डले प्रधानलाई पनि ७५ हजार रुपैयाँ जरिवाना गरेको थियो।

बोर्डले एउटै कानुन, उही नियमावली, उही बुँदाहरु उल्लेख गरेर उत्ति नै जरिवाना न्यौपाने र प्रधानलाई गरेको थियो। तर प्रधानको सन्दर्भमा भने सम्पत्ति शुद्धीकरण विभाग अहिले नरम देखिएको छ।

न्यौपानेभन्दा प्रधानलाई पुग नपुग तीन महिना ढिलो गरी जरिवाना गरिएको थियो। न्यौपानेमाथि सम्पत्ति शुद्धीकरण विभागले १० महिनामा अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा लगेको थियो। विशेष अदालतबाट आइतबार उनीविरुद्ध जेल सजाय र आर्थिक जरिवानाको फैसला पनि आएको छ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट प्रालिका तत्कालीन अध्यक्ष न्यौपानेले सार्वजनिक नभएको धितोपत्रको मूल्यमा असर पर्न सक्ने महत्त्वपूर्ण जानकारी हुँदाहुँदै आफ्नो नाममा कायम रहेको ३४ हजार कित्ता सेयर जसरी बिक्री गरेका थिए। यसैगरी प्रधानले पनि छोराछोरीको नाममा हस्तान्तरण गरेर सेयर बिक्री गरेका थिए।

तर एक वर्ष नाघिसक्दा पनि प्रधानमाथि भने विभागले अनुसन्धान अगाडि बढाएको छैन। विभागका महानिर्देशकलाई बिजमाण्डूले सोध्यो- प्रधानमाथिको मुद्दा के भइरहेको छ?

जवाफमा महानिर्देशक पुष्पराज शाहीले भने ‘मैले यस बारेमा हेरेको छैन। मैले पनि बुझ्नुपर्ने हुन्छ।’