सगरमाथा आधार शिविर पर्यटकले भरिभराउ, प्रहरी टोली पुगेर गर्‍यो शान्ति सुरक्षाबारे अन्तरक्रिया

बिजमाण्डू
२०८१ बैशाख ३ गते १२:४६ | Apr 15, 2024
सगरमाथा आधार शिविर पर्यटकले भरिभराउ, प्रहरी टोली पुगेर गर्‍यो शान्ति सुरक्षाबारे अन्तरक्रिया

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सगरमाथा आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो।

जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गरेका थिए।

५ हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ छ। पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।

घिमिरेको कमाण्डमा अस्थाई प्रहरी चौकी दिङबुचे सोलुखुम्बुका प्रहरीहरु समेत सो क्षेत्रमा परिचालन भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए।

‘सगरमाथा क्षेत्रको ४ हजार ४१० मिटरको उचाइमा अवस्थित दिङबुचे भन्दा माथि प्रहरी चौकी छैनन्। यसले गर्दा पर्यटकलाई असुरक्षित महसुस हुनसक्ने भएकाले गस्तीमार्फत शान्ति, सुरक्षाका बारेमा चेतनामूलक अन्तरक्रिया गरेका हौं,’ उनले भने।

हिमाल आरोहणको सिजन सुरु भएकाले सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेश पर्यटकको घुइँचो बढ्न थालेको घिमिरेले बताए। सुरक्षाको प्रत्याभुति दिलाउने र केही असहज भए अपनाउनुपर्ने सुरक्षा उपायका बारेमा जानकारी दिने उद्देश्यले गस्ती टोली परिचालन गरी अन्तरक्रियामा गरिएको उनको भनाइ छ।