आइफोन निर्माता एप्पललाई उछिन्दै सामसङ बन्यो वर्ल्ड्स लिडिङ स्मार्टफोन ब्राण्ड

बिजमाण्डू
२०८१ बैशाख ३ गते ११:०९ | Apr 15, 2024
आइफोन निर्माता एप्पललाई उछिन्दै सामसङ बन्यो वर्ल्ड्स लिडिङ स्मार्टफोन ब्राण्ड

काठमाडौं। आइफोन निर्माता एप्पललाई पन्छाउँदै सामसङ सबैभन्दा शीर्ष स्मार्टफोन ब्राण्ड बनेको छ। अघिल्लो वर्ष २०२३ को पहिलो त्रैमास (जनवरी-मार्च) को तुलनामा यो वर्ष २०२४ को सोही अवधिमा एप्पलको बजार हिस्सा ९.६ प्रतिशतले घटेपछि सामसङले उछिनेको हो।

Tata
GBIME
Nepal Life

सोमबार इन्टरनेसनल डेटा कर्पोरेसन (आइडीसी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार सामसङले २०२४ को पहिलो त्रैमासमा ६ करोड १ लाख थान स्मार्टफोन बजार पठाएको छ। सामसङको बजार हिस्सा पनि अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा ०.७ प्रतिशतले घट्न पुगेको छ। एप्पलले यो वर्षको पहिलो त्रैमासमा ५ करोड १ लाख थान स्मार्टफोन सिपिङ गरेको छ। अर्थात् चालु वर्षको पहिलो त्रैमासमा सामसङले एप्पलको भन्दा ठ्याक्कै एक करोड थान बढी स्मार्टफोन बजार पठाएको छ।

दक्षिण कोरियाली ह्यान्डसेट निर्माता सामसङको भोल्युम अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा २२.५ प्रतिशतबाट २०.८ प्रतिशतमा झरेको छ। यस्तै, एप्पलको भोल्युम २०.७ प्रतिशतबाट १७.३ प्रतिशतमा झरेको छ।

आइडीसीका अनुसार विश्वभर मोबाइल सिपमेन्ट भने ७.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा मोबाइल सिपमेन्ट उक्त प्रतिशतले बढेर २८ करोड ९४ लाख थान पुगेको हो।

आइडीसीका अनुसार विश्वबजारमा देखापरेका विभिन्न चुनौतीका कारण स्मार्टफोन व्यापार प्रभावित बनेको छ। लगातार पछिल्लो तीन त्रैमासमा स्मार्टफोन सिपमेन्ट बढ्दै गएकाले सुधारको यात्रा निरन्तर भइरहेको समेत आइडीसीले जनाएको छ।

‘स्मार्टफोनको बजार निरन्तर सुधार हुँदै गएको छ। शीर्ष मोबाइल ब्राण्डले बजारमा सकारात्मक प्रतिक्रिया पाउँदै गएका छन्। सन् २०२३ को अन्त्यमा एप्पल शीर्ष ब्राण्ड बनेको थियो। तर, लगत्तै २०२४ लागेसँगै सामसङले आफ्नो व्यापारमा सुधार गर्दै एप्पललाई उछिनेको छ,’ आइडीसीका ग्रुप उपाध्यक्ष रायन रेथले भने।

आइडीसीका अनुसार सामसङ र एप्पलले बजारको हाइ-एन्ड प्रडक्टमा कब्जा जमाइरहने अपेक्षा गरेको छ। तर, चीनमा हुवावेको आक्रामक पुनरागमनका साथै साओमी, ओप्पो/वान प्लस र भिभोको बजार बढेसँगै शीर्ष दुई स्मार्टफोन निर्माता सामसङ र एप्पललाई बजार विस्तार र प्रडक्ट डाइभर्सिफाई गर्नुपर्ने चुनौती थपिंदै गएको छ।

‘सुधार निरन्तर हुँदै गएकोमा दुई मत छैन। हामीले के देखेका छौं भने शीर्ष कम्पनीहरुले बजार हिस्सा अझै बढाउँदै जानेछन् भने साना ब्राण्डहरु अस्तित्वको लडाईंमा केन्द्रित हुनेछन्,’ रेथले भने।

यस्तै, आइडीसीको वर्ल्डवाइड ट्र्याकर टिमको रिसर्च निर्देशक नबिला पोपालले विगत दुई वर्षयता स्मार्टफोन बजारमा धेरै परिवर्तन भएको बताइन्। उनले विगत दुई वर्षमा चिनियाँ ब्राण्ड साओमीले खेपेको गिरावटपछि अहिले आक्रामक रुपमा कमब्याक गरिरहेको र ट्रान्सन ब्राण्डले आफूलाई शीर्ष पाँचमा स्थिर बनाउँदै लगेको जानकारी दिइन्। उनले शीर्ष दुई कम्पनीको वृद्धि घटेको स्थितिमा सामसङ निकै बलियोरुपमा उदाएको प्रतिक्रिया दिएकी छिन्।