नर्भिक इन्टरनेसनल अस्पताल ३१औं वर्षमा, उच्चस्तरीय सेवा विस्तारमा लगानी थप्दै

बिजमाण्डू
२०८१ बैशाख १ गते १०:१८ | Apr 13, 2024
नर्भिक इन्टरनेसनल अस्पताल ३१औं वर्षमा, उच्चस्तरीय सेवा विस्तारमा लगानी थप्दै

काठमाडौं। निजी क्षेत्रबाट सञ्चालित नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेड ३१ वर्षको भएको छ। अस्पतालको जग सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट बसाएका हुन्। काठमाडौंको थापाथलीस्थित नर्भिक अहिले मुलुककै ‘मल्टी स्पेस्यालिटी’ अस्पताल बनेको छ।

Tata
GBIME
Nepal Life

सञ्चालनमा आएको केही वर्षपछि अर्थात् सन १९९७ मा आएर नर्भिकले मुटु रोग उपचार सेवा विस्तार गरेको थियो। नर्भिकले भारतको स्कर्ट हर्ट इन्स्टिच्युटको सहकार्यमा हर्ट कमान्ड सेन्टर स्थापना गरेको थियो। सेवा विस्तारको क्रममा सन् १९९९ मा नर्भिकले न्युरोलोजी सेवा सुरु गरेको हो।

२००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सिटी स्क्यान सेवा सुरु गरेको थियो। सन् २००६ मा आएर नर्भिक इन्टरनेसनलले घुँडाको रिप्लेसमेन्ट सर्जरी गरेको थियो। २००८ मा अस्पतालले गंगादेवी चौधरी क्याथल्याब स्थापना गरेको थियो। २०१३ मा गाइनोलोजी सेवा सुरु गरेको थियो।

अस्पतालले २०२२ मा रेनल ट्रान्सप्लान्टेसन सुरु गरेको हो। साढे २ अर्ब लगानीमा भवन निर्माणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लागेको नर्भिक इन्टरनेसनल हस्पिटलले २ अर्ब ३८ करोड रुपैयाँ लगानीमा सेवा विस्तार थालेको छ। २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ। नर्भिकले अस्पतालको क्षमता बढाएर २ सय बेड पुर्‍याउने भएको छ।

नर्भिकको अहिले १ सय ४० बेड क्षमता छ। ३० सामान्य र जटिल बिरामीका लागि उपचार गर्न ३० बेड थप्ने नर्भिकको योजना छ। पूर्व घोषणाअनुसार नर्भिकले अहिलेको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माण गरिरहेको छ। निर्माणाधीन अस्पताल आगामी सन् २०२५ मा पूरा हुने अनुमान छ। अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको छ।

नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। १ लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ। नर्भिकमा बीएलसी होल्डिङ्सको ५१ प्रतिशत स्वामित्व छ भने बाँकी वसन्त चौधरीको छ। बीएलसीको उद्योग, व्यापार, बैंकिङ र सेवा क्षेत्रमा लगानी छ। नर्भिकमा सात जनाको सञ्चालक समिति छ। १ सय ५० चिकित्सक र साढे ८ सय मेडिकल स्टाफ कार्यरत नर्भिकका संरक्षक र संस्थापक अध्यक्ष वसन्त चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह, प्रबन्ध सञ्चालक मेघा चौधरी र प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अजयकुमार मिश्र छन्।

अस्पताल हाल नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ। नर्भिक अस्पतालका साथै मेडिकल कलेज पनि सञ्चालनमा छ। २०२१ जुलाइ १७ मा नर्भिक पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो। प्लाष्टिकजन्य वस्तुको प्रयोगमा निषेध स्थापनाको ३१औं वार्षिकोत्सव तथा नयाँ वर्ष २०८१ को अवसरमा अस्पतालले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ।

यस अवसरमा अस्पतालले पूर्ण रुपमा प्लाष्टिकजन्य प्रयोगलाई निषेध गर्ने नीति लिएको छ। पहिलो चरणमा प्रयोग भइरहेका प्लाष्टिकका झोलाहरुलाई प्रतिस्थापन गरी वातावरणमैत्री कम्पोष्टेवल (बायोडिग्रेडेबल) झोलाहरुको प्रयोगको शुरुवात गरेको छ।