पोकरमा जितेको रकमबाट स्टार्टअप सुरु गरेका चाउ, ४०० सहरमा ब्रान्ड बिस्तार गर्दै सेल्फमेड बिलेनियर

बिजमाण्डू
२०८० चैत्र २१ गते १४:५६ | Apr 3, 2024
पोकरमा जितेको रकमबाट स्टार्टअप सुरु गरेका चाउ, ४०० सहरमा ब्रान्ड बिस्तार गर्दै सेल्फमेड बिलेनियर
लालाटेक होल्डिङ्ग्सका सहसंस्थापक एवम् सिइओ सिङ् युक चाउ


विश्वमा जति स्टार्टअपहरु सुरु भए तिनको सफलताको कथा पछाडि काम सुरु गर्नेको लगानशिलता र अनुशासन प्रमुख कारक हुन्। प्रविधिमय बन्दै गरेको नयाँ विश्व व्यवस्थामा अब स्टार्टअपबाटै स्थापति हुन गाह्रो भइसकेको छ। पहिला सुरु भएका स्टार्टअपबाट पनि कमैले सफलता पाएका छन्। तिनीहरु मध्ये अपवादमा आउँछन् हङकङका चाउ सिङ् युक ।

Tata
GBIME
NLIC

सन् २०१३ मा  हङकङमा ‘इजी भ्यान’ (हाल लालाटेक होल्डिङ्ग्स) सुरु गरेका उनी पहिलोपटक फोर्ब्स अर्बपतिको सूचीमा समावेश भएका छन्। चीनमा जन्मिएका उनले हङकङलाई कर्मथलो बनाए। पछि चीन, मकाउ हुँदै आफ्नो व्यवसायलाई बढाउँदै लगेका उनी सन् २०२४ को बिलिनियर लिस्टमा अटाएका छन्। उनको नेटवर्थ हाल १.८ अर्ब डलर रहेको छ।

चाउ प्रो पोकर खेलाडी हुन्। अर्थात उनी तास खेल्न माहिर छन्। अर्थशास्त्रमा मास्टर्स गरेका उनले आफ्नो करियर हङकङको बेन एण्ड को.मा कन्सल्टेन्टबाट सुरु गरेका थिए। कामको बेलामा पनि उनको धेरै ध्यान पोकर खेल्नमा जान्थ्यो।

अमेरिकामा रहँदा पोकर खेल्न सिकेका उनी टेक्सस् होल्ड’एम पोकर अनलाइन खेल्न रमाउने गर्थे। क्यासिनोमा पनि उनले पोकर खेले। पोकर खेलेरै उनले आफ्नो आय बढाए। पछि उनले व्यवसायिक रुपमा नै पोकर खेले। ८ वर्ष व्यवसायिक पोकर खेलाडीका रुपमा खेलेका उनले त्यसबेला ३० मिलियन हङकङ डलर कमाए। सन् २००९ मा उनले पोकर खेल्न छाडे। पोकर खेलेर आएको केही रकम घडेरीमा लगानी गरे।

उनले त्यसबेला भनेका थिए, ‘तपाईं केहीमा राम्रो हुन चाहनुहुन्छ भने तपाईंमा अनुशासन हुनुपर्छ। पोकर खेल्नु पनि कम्पनी बनाउनु जस्तो हो। त्यसमा धेरै अनुशासन चाहिन्छ, धेरै काम हुन्छ। मानिसले त्यो नदेख्न सक्छ।’

सन् २०१३ मा प्रविधिले विस्तारै गति लिँदै गरेको समयमा उनी परम्परागत रुपमा स्थापित कल सेन्टरहरू मार्फत गरिने माल ढुवानी सेवाहरुको बुकिङ गर्ने परिपाटी देखेर आजित भएका थिए। कल सेन्टरमा फोन गरेर डेलिभरी सर्भिस सेवा लिनुपर्ने जमाना थियो त्यो। त्यसैले उनले थाने ‘अब म यो सेवामा प्रविधिको प्रयोग गर्छु’।

सन् २०१३ मा उनले अन डिमान्ड लजिस्टिक स्टार्टअप सुरु गर्ने निधो गरे। र, खोले ‘इजी भ्यान’। जसको उद्देश्य परम्परागत रुपमा हुँदै आएको डेलिभरीको कामलाई डिजिटलाइज्ड गर्ने थियो।

इजी भ्यान सुरु गर्दाखेरी चाउको तस्विर

सो नयाँ भेन्चर सुरु गर्न उनले पोकर खेलेर कमाएको सबै रकम पनि लगाए। मोबाइल एप्लिकेसन विकास गरेर उनको कम्पनीले ग्रसरी, फर्निचरदेखि घरपालुवा जनावरसमेत डेलिभरी गर्न थाल्यो। अहिले पोकर खेलेर कमाएर सुरु गरेको स्टार्टअपले चाउ ‘सेल्फ मेड बिलिनियर’ बनेका छन्।

सन् २०१३ मा सुरु भएको व्यवसाय हेर्दाहेर्दै ठूलो हुँदै गयो। प्रविधिको विकाससँगै मानिस डिजिटल सेवा सुविधा प्रति आकर्षित हुँदै गए। स्टार्टअप सफल भएसँगै इजी भ्यानको दायरा पनि बढ्दै गयो। सन् २०१४ मा उनले चीमा ‘होउलाल’ नाममा आफ्नो ब्रान्डलाई स्थापित गरे। सोही वर्ष ‘इजी भ्यान’ नयाँ नाम ‘लालामुभ’ बन्यो। तर, अझै उनलाई हङकङमा ‘इजी भ्यान’ नै भनेर चिनिने गरिन्छ।

हङकङ सहरबाट सुरु भएको उनको कम्पनी हाल एसिया र ल्याटिन अमेरिकासम्म फैलिएको छ। चीनसँगै बंगलादेश, ब्राजिल, इन्डोनेसिया, मलेसिया, मेक्सिको, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स र भियतनाममा यसको नेटवर्क छ। जकार्ता, ढाका, रियो डे जेनेरियो, मेक्सिको सिटी लगायत ४०० सहरमा लालाटेकको डेलिभरी कम्पनी संचालनमा छ। आउने केही वर्षमा उनले आफ्नो व्यवसाय खाडी मुलुकमा विस्तार गर्ने योजना बनाइरहेका छन्।

हाल विश्वभर लालाटेकको ७० लाख भेरिभाइड क्यारियर रहेको जनाइएको छ। यस्तै, १ करोड १० लाख भन्दा बढीले हरेक महिना आफ्नो प्लेटफर्म प्रयोग गर्ने लालाटेकको दाबी छ।

लालामुभले सन् २०१८ मा भारतमा पनि आफ्नो व्यापार विस्तार गरेको थियो। तर, सन् २०२० मा भारत सरकारले चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध लगाउने क्रममा लालमुभ संचालनमा पनि रोक लगाएको थियो।

लालाटेक होल्डिङ्ग्सका प्रमुख कार्यकारी अधिकृत चाउ विश्वको धनाढ्यको सूचीमा १ हजार १६९४ औं नम्बरमा छन्। चीनमा चर्किएको काठको घरमा बाल्य अवस्था बिताएका चाउको लागि बिलिनियर लिस्टमा पर्नु साधारण कुरा होइन। विद्यालय परीक्षामा ‘ए’ ग्रेड ल्याउन उनले अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयमा पढ्ने अवसर पनि पाए। स्ट्यान्फोर्डबाट अर्थशास्त्रमा मास्टर्स गरेका उनको कम्पनीलाई ‘एसियन डेलिभरी जायन्ट’ समेत भनिन्छ।

स्टार्टअपबाटै आफूलाई स्थापित गरेका चाउ अहिले चलिरहेको चलनसँगै हिँड्ने हो भने ‘ग्रेट कम्पनी’ बनाउन नसक्ने बताउँछन्। त्याग गर्न सके कम्पनीलाई सफल बनाउन सक्ने उनको मत छ।

‘कर्मचारीको भए तपाईंले बिदा लिन सक्नु हुन्छ र हप्ताको अन्त्यमा आराम गर्न पाउनु हुन्छ। तर, यदि तपाईं कम्पनीको संस्थापक हुनुहुन्छ भने तपाईं त्यो गर्न सक्नुहुन्न,’ उनी भन्छन्।