
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि चीनमा लगाइएको विभिन्न प्रतिबन्धका कारण त्यहाँको अर्थतन्त्रमा प्रभाव परिरहेको छ। हाल विभिन्न प्रयास गरेर अर्थतन्त्रलाई सुधार्ने प्रयास भइरहे पनि अर्थतन्त्रले सोचे अनुसार गति लिन सकिरहेको छैन। त्यसको चित्र देखाउँछ फोर्ब्स अर्बपतिको सूचीले
सन् २०२४ मा चिनियाँ अर्बपतिको संख्या घटेको छ। यो पहिलोपटक भएको भने होइन। लगातार ३ वर्ष भयो अर्बपतिको सूचीबाट चिनियाँ व्यापारीको नाम घट्दै गइरहेको छ।
सन् २०२१ मा ६२६ जना अर्बपति रहेको चीनमा सन् २०२३ मा ४९५ मा अर्बपतिको संख्या झरेको थियो। सन् २०२४ मा ४०६ जनाको नाम अर्बपतिको सूचीमा छ।
बिलिनियरको संख्या घटे पनि चीन अर्बपति धेरै हुने देशमा दोस्रो नम्बरमा छ। अमेरिकामा ८१३ जना अर्बपति रहेको फोर्ब्सले जनाएको छ। फोर्ब्सको सूचीमा हङकङ र मकाउका पासपोर्टबाहकलाई चीनमा समावेश गरिएको छैन।
चिनियाँ अर्बपतिहरुको कूल सम्पत्ति गत वर्ष १.६७ त्रिलियन डलर रहेकोमा सन् २०२४ मा १.३३ त्रिलियनमा झरेको छ। सन् २०२१ मा चिनियाँ अर्बपतिहरुको कूल सम्पत्ति २.५ त्रिलियन डलर थियो।
गत वर्ष फोर्ब्स अर्बपतिको सूचीमा रहेका १२५ जनाको नाम यो वर्ष सूचीबाट हट्दा ३१ जना नयाँ बिलियनरको नाम समावेश भएको छ। ११ जनाले पुन: अर्बपतिको सूचीमा नाम लेखाउन सफल भएका छन्।
चीनका १० धनाढ्यको कूल नेटवर्थ ३०४ अर्ब डलर रहेको छ। सन् २०२३ भन्दा यो दुई प्रतिशत (३११ अर्ब डलर) ले कम हो। विश्वका अर्बपतिहरुमध्ये चीनमा मात्रै १५ प्रतिशत बिलिनियर रहेका छन्।
चार वर्षदेखि लगातार जोङ सानसान चीनका सबैभन्दा धनाढ्य बनेका छन्। उनको नेटवर्थ ६२.८ अर्ब डलर रहेको छ। दोस्रोमा ४३.४ अर्ब डलरसहित हाड्ड यिमिङ छन् भने तेस्रोमा ३८.९ अर्ब डलरसहित कोलिन हुआङ रहेका छन्। चौथोमा ३३.५ अर्ब डलरसहित विलियम डिङ र पाँचौंमा ३०.२ अर्ब डलरसहित मा हुतेङ छन्।
हे सिजियाङको कूल नेटवर्थ सन् २०२३ मा २३.४ अर्ब डलर रहेकोमा यो वर्ष बढेर २५.१ अर्ब डलर पुगेको छ। यस्तै, इ-कमर्स टाइकुन ज्याक मा भने २४.५ अर्ब डलरसहित सातौं नम्बरमा छन्। सन् २०२३ मा उनको कूल नेटवर्थ २३.५ अर्ब थियो। अन्य धनाढ्यको सम्पत्ति घट्दा उनीहरुको कूल नेटवर्थ भने बढेको देखिन्छ।
आठौं नम्बरमा रहेका इरिक ली, नवौंमा रहेका किन यिङलिन र दशौंमा रहेका वाङ चुएनफुको सम्पत्ति पनि सन् २०२३ भन्दा घटेको छ।