
यो वर्ष संसारका अर्बपतिहरूका लागि कम भाग्यशाली रहेन। किनकी युद्ध, राजनीतिक उथलपुथल र लामो समयदेखिको मुद्रास्फीतिले विश्वव्यापी स्टक बजारहरूलाई नछुँदा उनीहरूको सम्पत्ति झन् झन् बढिरहेको छ।
फोर्ब्सका अनुसार यो वर्ष विश्वभरमा अर्बपतिहरूको संख्या बढेर २ हजार ७८१ पुगेको छ। जुन गत वर्षको तुलनामा यो संख्या १४१ ले बढी हो भने २०२१ मा तय गरिएको रेकर्डभन्दा २६ बढी हो।
अर्बपतिहरू पहिलेभन्दा झन् झन् धनी हुँदै गएको देखिएको छ। उनीहरूको समग्र सम्पत्ति जोड्ने हो भने १४.२ ट्रिलियन डलर हुन जान्छ। यो २०२३ को भन्दा २ ट्रिलियन डलर बढी हो भने २०२१ मै कायम भएको रेकर्डभन्दा १.१ ट्रिलियन डलर बढी हो।
फोर्ब्सले सार्वजनिक गरेको २०२४ को अर्बपति सूचीको शीर्ष स्थानमा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नल्टको परिवार रहेको छ। २०२३ मा २११ अर्ब डलर गरेको उनीहरूको नेट वर्थ २०२४ मा २३३ अर्ब डलर पुगेको छ।
दोस्रो स्थानमा १९५ अर्ब डलरसहित टेस्ला मोटर्सका मालिक इलोन मस्क छन्। २०२३ मा उनको नेटवर्थ १८० अर्ब डलर थियो।
तेस्रो स्थानमा अमेजोनका मालिक जेफ बेजोस छन्। उनको नेटवर्थ ११४ अर्ब डलरबाट बढेर १९४ अर्ब डलर पुगेको छ। चौथो स्थानमा रहेका फेसबुकका संस्थापक मार्क जुकरबर्गको नेटवर्थ १७७ अर्ब डलर पुगेको छ।
भारतीय व्यापारी मुकेश अम्बानी सूचीको ९औँ स्थानमा छन्। उनको पनि सम्पत्ति बढेर ११६ अर्ब डलर पुगेको छ। २०२३ मा उनको नेटवर्थ ८३.४ अर्ब डलर थियो।
अमेरिकी गायिका टेलर स्विफ्ट पहिलोपटक फोर्ब्स अर्बपतिको सूचीमा समावेश भएकी छिन्। उनको कूल नेटवर्थ १.१ अर्ब डलर रहेको छ।
अर्बपतिको सूचीमा रहेका दुई तिहाइ व्यक्तिहरु एक वर्षअघिको तुलनामा अढ बढी धनी भएका छन्। करिब एक चौथाइको मात्रै सम्पत्ति घटेको छ।
सूचीको शीर्ष २० मा रहेकाहरूले बढी कमाएका छन्। उनीहरूले संयुक्त रुपमा २०२३ यता ७ अर्ब डलर सम्पत्ति थपेका छन्।
अमेरिकामा मात्रै ८१३ जना अर्बपतिहरू रहेका छन्। उनीहरूको सम्पत्ति संयुक्त रूपमा ५.७ ट्रिलियन डलर पुगेको छ।
अमेरिकापछि चीनमा सबैभन्दा धेरै ४७३ अर्बपतिहरू (हङकङसहित) रहेका छन्। कमजोर उपभोक्ता खर्च र घरजग्गाको कारोबारमा आएको ह्रासले करिब ३०० अर्ब डलर गुमाउँदा पनि चीनका अर्बपतिहरूको सम्पत्ति संयुक्त रुपमा १.७ ट्रिलियन डलरको छ।
कीर्तिमानी २०० अर्बपतिहरू भएको भारत तेस्रो स्थानमा छ।
मार्च ८, २०२४ को सेयर मूल्य र विनिमय दरहरूका आधारमा फोर्ब्सले अर्बपतिहरूको नेट वर्थ हिसाब गरेको बताएको छ।
