काठमाडौं। लिएको ऋण नतिर्ने नियतले दुर्गा प्रसाईं अहिले बैंकहरुप्रति निकै आक्रामक भएका छन्। उनले आमसर्वसाधारणलाई समेत उक्साउने गरी बैंकहरुको नामै किटेर ऋण नतिर्न र संस्थै डुब्न लागेको अफवाह फैलाइरहेका छन्।
उनले बुधबार सामाजिक सञ्चालमा लेखे- ‘एनआइसी एसिया बैंक डुब्दै, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला। सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला। बेलैमा होस् पुर्याउनु होला।’
उनले सार्वजनिक मञ्चहरुबाट राजनीतिक नेतृत्वको आलोचना त गरिररहेका थिए त्यसमा अहिले वित्तीय क्षेत्रका व्यक्तिहरु पनि पर्न थालेका छन्। उनले एनआइसी एसिया बैंक, त्यहाँका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने, अन्य बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको चरित्र हत्या हुने गरी मन्तव्य दिन थालेका छन्।
उनले बुधबार एनआइसी एसियाबाट पैसा झिक्न सार्वजनिक आह्वान नै गरे। उनले बैंक डुब्न लागेको र सञ्चालक भागे भने सहकारीको जस्तो हालत हुने वक्तव्य दिएका छन्।
के साँच्चै एनआइसी एसिया बैंक समस्यामा छ? के बैंक डुब्ने अवस्थामा पुगेको हो? प्रसाईंको आरोपमा कुनै सत्यता छैन। उनको भड्काउ वक्तव्यमा सत्यता नभएको बैंकको वित्तीय विवरण खोतल्दा थाहा हुन्छ।
बैंक कति कमजोर छ भनेर हेर्ने एउटा सूचक हो- खराब कर्जा अनुपात। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुन नहुने व्यवस्था गरेको छ। त्योभन्दा माथि भए नियामकीय कारवाही सुरु हुन्छ।
पुस मसान्तसम्मको तथ्यांक हेर्ने हो भने एनआइसी एसियाको खराब ऋण १.१९ प्रतिशत छ। असोजमा यो १.३७ प्रतिशत थियो। बैंकले केही ऋण समस्यामा गयो भनेर आफ्नो आम्दानीबाट ४८ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन गरेको छ।
बैंकको अर्को हेर्ने भनेको पुँजी पर्याप्तता अनुपात हो। नियामकीय प्रावाधान अनुसार यो ११ प्रतिशतमाथि हुनुपर्छ। एनआइसी एसियाको १२.२१ प्रतिशत छ। तरल सम्पत्ति २० प्रतिशत हुनुपर्नेमा बैंकको त्योभन्दा बढी २७.२८ प्रतिशत छ।
बैंकसँग अहिले ग्राहकबाट उठाएको निक्षेप ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ छ। ग्राहकले विश्वासका आधारमा आफ्नो पैसा यो बैंकलाई दिएका हुन्। उनीहरुको पैसा सुरक्षित गर्ने दायित्व बैंकको हुन्छ।
सर्वसाधारणले दुखजिलो गरेर कमाएको पैसा बैंकले सुरक्षित राखेर ब्याज दिन्छ भनी त्यहाँ निक्षेप राखेका हुन्। यही विश्वासका आधारमा विश्वव्यापी रुपमा बैंक तथा वित्तीय संस्था चलेका हुन्छन्। बैंकले पनि त्यही पैसा सर्वसाधारणलाई ३ खर्ब २ अर्ब ६७ करोड रुपैयाँ ऋण दिएको छ।
निक्षेप लिने र त्यही निक्षेपको पैसा ऋण दिने काम गरेर बैंकले कमाउने हो। विश्वव्यापी रुपमै बैंकिङ चल्ने यसैगरी हो। यसरी प्रणालीभित्र चलेको बैंक तथा वित्तीय संस्थाको जग भत्काउने गरी प्रसाईंले अभिव्यक्ति दिएका छन्। उनले सहकारी संस्था र बैंकलाई एउटै टोकरीमा हालेका छन् जसमा आकाशजमिनको फरक छ।
बैंकमा समस्या आइहाल्यो भने पनि उसले साधारण बचतकर्ताको पैसा केही नहोस् भनेर बीमा गराएको हुन्छ। सहकारीको नियामकीय संस्था अत्यन्तै कमजोर छ। संघ, प्रदेश र स्थानीय तह गरी तीन तहले सहकारीलाई हेर्छन्। संघ अन्तर्गतकै सहकारी विभाग जनशक्तिका हिसाबले कमजोर छ। प्रदेश र स्थानीय तहको नियमनको बहसै गर्नुपरेन।
यता बैंक तथा वित्तीय संस्थाको नियमन राष्ट्र बैंकले गर्छ। राष्ट्र बैंक जनशक्तिका हिसाबले शक्तिशाली र नियमनमा अब्बल छ। त्यति मात्रै होइन, कुनै संस्था निकै अप्ठेरोमा परे भने त्यसबाट जोगाउनका लागि भनेर अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली जारी गरेको छ। विगतमा पनि राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई सुरक्षित अवतरण गराएको उदाहरण छ।
एनआइसीमाथि किन आक्रमण?
एनआइसीसहित अन्य बैंकमाथि दुर्गा प्रसाईंको आक्रमणको सिलसिला नयाँ होइन। उनी आफैं पनि ऋणमा छन्। ती ऋणहरु समयमा तिर्न नसक्दा पुनर्संरचना/पुनर्तालिकीकरण गर्नु परेको छ। विगतमा ब्याज बढेको थियो। त्यो भारले थिच्दा उनी अत्तालिएका छन् र अरुलाई पनि उक्साएर आक्रमण गरिरहेका हुन्।
एनआइसी एसियाको सवालमा भने अलिकति फरक छ। बेला यस्तोसम्म आयो- नियामकले एनआइसी एसियाको हर्कत अनुसार नीति नियम बनाउनु पर्यो। ब्याज वृद्धि होस् या ऋण लगानी, निक्षेप संकलन उपकरण होस् या धितो लिलामीमा एनआइसी एसियाले ‘अव्यवासायिक’ गतिविधि देखायो भनेर बैंकर्स संघमा बारम्बार उजुरी परिरहेको हुन्थ्यो। त्यो उजुरी राष्ट्र बैंकमा पनि पुग्थ्यो। बैंकरहरु नै भन्छन्- कतिपय कसिलो नीति एनआइसीलाई अंकुश लगाउन ल्याउँदा अरु बैंकहरुलाई पनि अप्ठेरो पर्यो।
राष्ट्र बैंकले एनआइसीलाई कस्नका लागि सुरु गरेको पहिलो निर्देशन- ब्याज दरकै थियो। एनआइसी एसिया यस्तो बैंक थियो- जसका सयौं शीर्षकका बचत खाता थिए। उसले निक्षेपकर्तालाई भुलभुलैयामा पार्नका लागि एकपछि अर्को गरेर नयाँ नयाँ बचत खाता योजना सञ्चालन गर्दा संख्या सयौं पुगेको थियो।
उदाहरणका लागि उसले चमत्कारिक बचत खातामा ५ प्रतिशत ब्याज दिने घोषणा गर्छ। अनि निक्षेप संकलन भएपछि त्यसको ब्याज दर ३ प्रतिशतमा झार्छ। निक्षेपकर्ता सोधिखोजी गर्न पनि आउँदैनन्। फेरि उसले ७ प्रतिशतको सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याउँछ। उसले चाहेजति निक्षेप उठेपछि ब्याज ५ प्रतिशतमा झारिदिन्छ। यसैगरी उसका बचत शीर्षकमा सयौं खाता सञ्चालनमा आएका थिए।
यसलाई रोक्न राष्ट्र बैंकले निर्देशन जारी गर्यो- निक्षेपको घटाउने हो भने सबैको समानुपातिक रुपमा घटाउने र बढाउनु परे सबैको समानुपातिक रुपमा बढाउने।
अर्को मुद्दा सोझै ऋणीसँग ठोकिन्थ्यो। एनआइसीका ग्राहकबाट बारम्बार गुनासो आइरहेको थियो- बैंकले एक किस्ता ऋण नतिर्दैमा पत्रिकामा सूचना निकालेर सम्पत्ति लिलामी गरिदियो।
बारम्बार एउटै बैंकको गुनासो आउन थालेपछि राष्ट्र बैंकले निर्देशन जारी गर्यो- ६ महिनासम्म नतिरेमा त्यसपछि मात्र सूचना प्रकाशित गरेर लिलामी प्रक्रिया अगाडि बढाउन पाइने छ। उच्च संचालन खर्च भएको बैंकले आफ्नो खराब ऋण यही आधारमा कम देखाउन पाएको थियो। यो नियमका कारण अन्य बैंक पनि समस्यामा परे।
अहिले एनआइसी एसिया गैरबैंकिङ सम्पत्ति बढी भएको संस्थाभित्र पर्छ। उसले यतिधेरै सम्पत्ति सकार्नु पर्यो- सरकारको हदबन्दीले गर्दा आफ्नो नाममा ल्याएर बिक्री गर्न पनि अप्ठेरो परिरहेको छ।
राष्ट्र बैंकले एनआइसी एसियालाई कस्नका लागि अर्को निर्देशन जारी गर्यो- विदेशी मुद्राको निक्षेप सापटी लिएमा त्यसलाई सीडी रेसियोमा गणना गर्न पाइने छैन। बैंकले २९ अर्ब रुपैयाँ अल्पकालीन सापटी लिएर सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गरेको थियो। नयाँ नियमपछि सबै पैसा फिर्ता भएर सीडी ९० प्रतिशत नाघ्ने अवस्था आएपछि बैंकले ब्याज दर ११.१ प्रतिशत पुर्याएको थियो। यो बीचमा बैंकको निक्षेप पनि घटेको थियो।
पछिल्लो समय बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुधीर पाण्डेले दबाब थेग्न नसकेर राजीनामा गरेको समाचार आएको थियो। यसले पनि बैंकलाई कमजोर बनाउन बल दियो। बैंकले खण्डन गरेपनि पाण्डेले राजीनामा गरेकै थिए। भलै त्यो ‘विषम अवस्थामा नगर्न’ भनेर राजीनामा फिर्ता गराइयो।
एनआइसीका यस्ता थुप्रै ‘गलत अभ्यास’ का कारण उसले गरिरहेको बैंकिङलाई उसैका नजिकका बैंकरले विश्वास गर्दैनन्। लिलामी प्रक्रिया, ऋण उठाउनका लागि गरिएको अव्यावसायिक कार्य भएका कारण एनआइसीविरुद्ध बेलाबेलामा उजुरी, विद्रोह हुँदै आएको थियो। उसले ऋण उठाउने प्रक्रियामा दबाब दिएकाहरुको ऋण मिनाहा हुन्छ भनेर प्रसाईंले उचालेका छन्। प्रसाईंको उक्साहटमा उनीहरु बैंकविरुद्ध खनिएका छन्। केही गरेपनि प्रणालीमा चलेको बैंकलाई असर नपरेपछि प्रसाईंले एनआइसी डुब्दैछ भन्न थालेका हुन्।
राजनीतिक लाभका लागि प्रसाईंले मारवाडी समुदायविरुद्ध अभिव्यक्ति दिइरहेका छन्। उनले त्यसैलाई टेकेर एनआइसी एसिया बैंकलाई निशाना साँध्न खोजेको देखिन्छ। सर्वसाधारणको निक्षेप, सर्वसाधारणको सेयर भएको बैंक कुनै एउटा समुदायको हुँदैन भन्ने कुरालाई छोप्दै मारवाडीको बैंक भन्दै निशाना साँधिरहेका छन्।
विश्वासका आधारमा संचालन हुने बैंकप्रति निशाना साँधेर प्रसाईंले बिग्रिएको अर्थतन्त्रलाई झन् समस्यामा पार्न खोजेको देखिन्छ। बैंकको वित्तीय स्वास्थ्य राम्रो भएको र नियामक पनि बलियो भएकाले प्रसाईंले सस्तो लोकप्रियता आर्जनका लागि विवादास्पद अभिव्यक्ति दिएको स्पष्ट हुन्छ।