
काठमाडौं। ५ अर्ब रुपैयाँको लगानीमा काठमाडौंको चम्पादेवीमा केबलकार निर्माण गरिने भएको छ। चम्पादेवी इको फ्रेन्डली कम्पनीले केबलकार निर्माण गर्ने भएको हो। यसमा लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको छ।
निर्माण कार्य आगामी पुसमा सुरु गरी २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कम्पनीका अनुसार केबलकार निर्माणमा ३०० र संचालनमा ३१२ कामदार संलग्न हुनेछन्।
कुल ७.७३ हेक्टरमा निर्माण गर्न लागिएको केबलकार २ किलोमिटर लामो हुनेछ। यसमा १२ वटा टावरसहित १० जना अट्ने ३४ वटा बक्स हुनेछन्। वारपार गर्न ७ मिनेट लाग्नेछ।
यसको पेब्याक समय १० वर्ष राखिएको छ।
कम्पनीले केबलकारका अलावा रेस्टुरेन्ट, किओस्क, मन्दिर तथा मनोरञ्जन पार्क पनि बनाउने बताएको छ।

तल्लो स्टेसनमा ५ हजार ९७५ वर्गमिटर र माथिल्लो स्टेसनमा २ हजार ६१४ वर्गमिटरमा संरचनाहरु बनाइने कम्पनीले जनाएको छ।
यस्तै मनोरञ्जन पार्कमा निर्माण हुने मुख्य संरचनाले ७ हजार ५०० वर्गमिटर ओगटनेछन्। कम्पनीले आवश्यक पर्ने निजी जग्गा प्राप्त गरिसकेको छ। दैनिक ५ हजार जनाले सेवा लिने कम्पनीको विश्वास छ।