दुर्गा प्रसाईं अराजक बनेपछि बैंकले बीएण्डसीमा ऋण दिन बन्द गरे, प्रसाईंलाई संचालकबाट हटाउँदै

सुदर्शन सापकोटा
२०७९ फागुन १७ गते ११:५३ | Mar 1, 2023
दुर्गा प्रसाईं अराजक बनेपछि बैंकले बीएण्डसीमा ऋण दिन बन्द गरे, प्रसाईंलाई संचालकबाट हटाउँदै

काठमाडौं। बैंक तथा वित्तीय संस्थाविरुद्ध मनपरी बोल्ने र वित्तीय क्षेत्रमा अराजकता निम्त्याउने काम गरिरहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई बैंकहरुले अब ऋण नदिने भएका छन्।

Tata
GBIME
Nepal Life

झापामा बीएण्डसी मेडिकल कलेज चलाइरहेका प्रसाईंले केही बैंकको नामै किटेर ‘फटाहा, बदमास’ मात्र भनिरहेका छैनन् समाजको एक तप्कालाई उचालेर बैंकको ऋण नतिर्न आह्‍वान गरिरहेका छन्।

उनले बैंकर ऋण उठाउन आए ‘कालोमोसो’ दल्न भनेर उचालिरहेका छन्। बैंक तथा वित्तीय संस्थाबाट करिब साढे पाँच अर्ब रुपैयाँ ऋण चलाइरहेका प्रसाईंले ऋण नतिर्ने अभिव्यक्ति दिन थालेपछि बैंकहरुले  उनलाई थप ऋण नदिने निर्णय नै गरेका छन्।

उनले केही दिनअघि आफूले ऋण चलाएको बैंकहरुको सह-वित्तीयकरण बैठकमा नआउने चेतावनी समेत दिएका छन्। ‘सह-वित्तीयकरणमा ऋण दिएका बैंकहरुलाई पत्र काट्दै प्रसाईंले बैठकमा आउँदिन, जे सक्छौं गर भनेर धम्क्याएका छन्,’ एक बैंकरले भने, ‘यस्तो अराजक मान्छेलाई अब कसरी ऋण दिने कुरो हुन्छ ?’

प्रसाईंकै कारण ऋण नपाउने अवस्था आएपछि उनलाई अगाडि सारेर व्यवसाय गर्दै आएका उनका नातेदार अगाडि आउने भएका छन्।’

बीएण्डसी टिडिङ हस्पिटल एण्ड मेडिकल कलेजले भर्खरै २ अर्ब ७० करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ। यो ऋण सहवित्तीयकरणमा छ। यसबाहेक उनले अन्य वाणिज्य बैंक र वित्तीय संस्थाहरुबाट पनि ऋण चलाएका छन्। राष्ट्र बैंकले उनको ऋण कति छ भनेर बैंकहरुलाई अनौपचारिक रूपमा सोधेको थियो। त्यो तथ्यांक अनुसार करिब साढे ५ अर्ब रुपैयाँ ऋण देखिएको छ।

‘ऋण तिर्दिन भन्नु आफैंमा बैंकिङ कसुर हो। बैंकिङ कसुर गर्छु भन्ने मान्छेलाई ऋण देउ भन्न हामीले पनि त नमिल्ला नि ?’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘निर्णय बैंकहरुले नै गर्ने हो।’

यद्यपि प्रसाईंले लिएका ऋणहरुको भाका नाघेको छैन। तर, उनकै कारणले ऋण पाउने अवस्था नदेखिएपछि उनका नातेदारहरु अगाडि आउने भएका छन्।

बीएण्डसीको कार्यकारी निर्देशक प्रसाईं हुन्। तर प्रसाईं मात्र कम्पनीका सर्वेसर्वा होइनन्। ससुरालीतिरको लगानीमा उनी कार्यकारी निर्देशक बनेका हुन्। गिरीबन्धु टी स्टेटका मालिकहरु बीएण्डसीका वास्तविक धनी हुन्।

बीएण्डसीका प्रबन्ध निर्देशक रहेका डा. रामबाबु गिरीहरुले यो कम्पनी चलाउनेछन्। ‘प्रसाईंजी कम्पनीमा रहुन्जेल ऋण दिन सक्ने अवस्था छैन,’ एक बैंकरले भने, ‘ऋण लिएर कम्पनी चलाउने हो भने प्रसाईंजी भएर त हुँदैन।’

कम्पनी स्रोतका अनुसार, बैंकले ऋण नदिने जानकारी गिरी परिवारलाई गराइसकेको छ। त्यसो हुँदा प्रसाईंलाई कम्पनीबाट अलग गरेर भएपनि परियोजना अगाडि बढाउने उनीहरुको मुड छ।

‘केही दिनमै तपाईहरुले निर्णय थाहा पाउनु हुने छ,’ स्रोतले भन्यो, ‘बीएण्डसी चल्छ। बैंकले ऋण पनि दिन्छन्।’

बीएण्डसीमा कुल ६१५ कर्मचारी छन् जसमध्ये ४६६ मेडिकल स्टाफ कार्यरत छन्।

बीएण्डसीले २०२१/२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष ८१ करोड ४० लाख र २०१९/२० मा ५३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो।

मेडिकल कलेज चलाउने हिसाबले बीएण्डसीले परियोजना अगाडि बढाएको थियो। तर सरकारले विद्यार्थी सिट नदिएका कारण अस्पताल मात्र सञ्चालनमा छ। कोभिडका बेलमा काठमाडौंमा बिरामी परेकाहरुलाई समेत झापाको बीएण्डसीमा लगेर उपचार गरिएको थियो।

प्रसाईंको वित्तीय पृष्ठभूमि राम्रो होइन, बिहेपछि ससुरालीको सम्पत्ति चलाएर उनी अगाडि बढ्दै गएका थिए। ससुरालीतिरका साला-जेठान पनि आफू अगाडि नआएर प्रसाईंमार्फत नै ब्यवसाय अगाडि बढाउन इच्छुक देखिए। 

यही बीचमा प्रसाईं टाइगर ब्रुअरीमा समेत लगानी गरेका थिए। वर्तमान प्रधानमन्त्री  पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटै टेबलमा बसेर ‘मार्सी चामलको भात’ खाएको तस्बिर सार्वजनिक भएको थियो। त्यो प्रबन्ध प्रसाईंले मिलाएका थिए। तस्बिरमा प्रसाईं पनि थिए।

त्यसपछि प्रसाईं ‘मार्सी’ नामबाट पनि परिचित भए। उनले यो नामको लाभ उठाउँदै टाइगर ब्रुअरीबाट ‘मार्सी बियर’ पनि उत्पादन गरेका थिए। टाइगर ब्रुअरीको सञ्चालकहरुको कोभिडका कारण निधन भएपछि आफ्नो योजनाअनुसार चल्न नपाउँदा उनी बाहिरिएका थिए।

प्रसाईंले मंगलबार मात्रै एक विज्ञप्ति जारी गर्दै २० लाखभन्दा तलको ऋण मिनाहा गर्नुपर्ने सरकारसँग माग राख्दै अभियान सुरु गरेको घोषणा गरेका छन्। उनले बैंकको ब्याज घटाउनुपर्ने लगायतका माग राखेका छन्।