पूर्व राजा ज्ञानेन्द्रको समेत तारणहार बनेका दुर्गा प्रसाईं कसरी बनेका थिए अर्बपति ?

अनन्तराज न्यौपाने
२०७९ फागुन १८ गते १७:३२ | Mar 2, 2023
पूर्व राजा ज्ञानेन्द्रको समेत तारणहार बनेका दुर्गा प्रसाईं कसरी बनेका थिए अर्बपति ?

विराटनगर। पूर्वराजा ज्ञानेन्द्रदेखि बैंकको ऋणले थला परेकाहरुको तारणहारको रुपमा एकाएक उदाएका व्यवसायी दुर्गा प्रसाईंको विगत सोचेभन्दा धेरै फरक छ।

Tata
GBIME
NLIC

आफ्नो स्वार्थका लागि विभिन्न राजनीतिक दलको उच्च नेतृत्वसँग उठबस गर्दै अहिले आफ्नै नेतृत्वमा अभियान थालेर देश दौडाहामा छन्। अहिले उनी बैंक तथा वित्तीय संस्थाविरुद्ध मनपरी बोल्दै हिड्न थालेका छन्। प्रसाईं कसरी अर्बपति बने र उनको विगत कस्तो थियो ?

प्रसाईंकै शब्दमा उनका पिता तेह्रथुमको आठराई फूलबारी भन्ने ठाउँबाट २००७ सालमा झापा आएर जंगल फाँडेर बसेका हुन्। उनले आफू आफ्नै परिश्रम र संघर्षका बलले यो अवस्थामा आएको जिकिर गरे।

प्रसाईंं २०४६ पछि नेपाली कांग्रेसका समर्थक थिए। झापाको एक मुख्य बजार बिर्तामोड नगरपालिकामा उनको मूल घर छ । नगरपालिकाको वडा नं. ५ मा पर्ने बिर्तामोड चोकबाट थोरै पूर्व प्रसाईंको बीएन्डसी अस्पताल चलिरहेको छ। प्रसाईं यसअघि यहीँ बस्थे । यस ठाउँमा २०६२–६३ को आन्दोलनभन्दा पूर्व प्रसाईंको काठको एउटा सामान्य र टाँडे घर थियो।

उनी यही घरमा बस्थे। यही घरछेउ उनी ३ बिघाजति जमिनमा खेतीपाती गर्थे। यो खेत उनका विभिन्न परिवारका सदस्यका नाम र अंशमा सगोल प्रकारको थियो। पुस्तैनी र सगोलको खेतीपातीबाट सोचेजस्तो पैसा कमाउन कठिन थियो।त्यसैले सुरुमा उनी एटा ग्रील उद्योगमा आबद्ध भए र त्यहाँ काम गरे।

यसैबीच उनले युरोप जाने अवसर पाए। तर त्यहाँ धेरै दिन टिकेनन्। उनले युरोपमा आफूसँग भैँसी पालेको अनुभव भएको भन्दै बिर्तामोडमा पनि भैँसीपालन सुरु गरे। अहिले बीएन्डसी अस्पताल भएको ठाउँ कुनै बेला प्रसाईंको भैँसी फार्मका नामले चिनिन्थ्यो।

तपाईंले भैँसीपालन पनि गर्नुभयो होइन भन्ने प्रश्नमा प्रसाईंले चिढिँदै भने, ‘भैँसी मात्रै किन मैले बाघ पनि पालेको छु नि, सक्नुहुन्छ भने बाघ पालेको प्रसाईं भनेर लेख्नुन!’ बिर्तामोडका एक पुराना पत्रकारका अनुसार त्यस बेला प्रसाईंका १२५ जति भैँसी थिए। उनले ती भैँसी भारतको हरियाणाबाट उन्नत जातका भनेर आयात गरेका थिए। प्रसाईं भैँसीको दुध स्थानीय बजारमा मात्र नभई नजिकको भारतीय बजारमा पनि लगेर बिक्री गर्थे।

तर, भैँसीपालनले प्रसाईंलाई उचित प्रतिफल दिन सकेन। उल्टो घाटा लाग्यो। उनी बैंकको किस्ता बुझाउन असमर्थ हुन थाले। किस्ता तिर्न उनले बैंकमै गएर थप ऋणको आवेदन गरे। तर बैंकले थप ऋण पत्याएन। यो रिसले उनले बिर्तामोडकै शनिश्चरेस्थित एक बैंकका आँगनमा २५–३० वटा जति भैँसीको बथान नै लगेर हुलिदिएको एक स्थानीयवासी सम्झना गर्छन्।

उस वेला प्रसाईंले आधाभन्दा बढी भैँसी हरियाणाको एक फर्मका सञ्चालकसँग ऋणमा ल्याएका थिए। ती फर्मका मालिक प्रसाईंसँग भैँसीको रकम लिन पनि आएका थिए। तर प्रसाईंले अभद्र गाली गरेर पैसा नतिर्ने धम्की दिएपछि ती फर्म सञ्चालक रुँदै फर्किएका थिए। यसरी भैँसीपालनमा प्रसाईं डुबे। उनी बैंकको ऋणमा नराम्ररी भास्सिए।

उनले ऋण मिलाइदिन नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालगायत सबैको घर धाए। तर पार लागेन। बैंकसँग खाएको ऋण तिर्नैपर्ने भयो। यति वेलासम्म झापामा माओवादी ‘जनयुद्ध’को प्रभाव बढ्दै थियो। उनी माओवादीतिर तानिए। तर, माओवादीतिर उनको आकर्षण बढ्नुमा कुनै सैद्धान्तिक र वैचारिक कारण थिएन।

उनका गिरि खलकका ससुराली धनाढ्य परिवारमा गनिन्थे। ससुराले बहुविवाह गरेका थिए। प्रसाईंकी सासू पक्षका परिवार आफू अंशमा ठगिएको गुनासो बारम्बार गरिरहन्थे। प्रसाईं, साला र श्रीमती मिलेर ससुरालाई अंश मुद्दा पनि दायर गरेका थिए। तर, अदालतले फैसला दिन सकेको थिएन।

त्यसबेला माओवादीको जनकारबाही र भाटे कारबाहीको अभियान उत्कर्षमा थियो। कोही पनि असामाजिक काम, अन्याय, व्यभिचार, जूवातास र महिला तथा बालबालिकामाथि गरिने हिंसाजस्ता काममा लिप्त हुनेलाई माओवादीको भाटे कारबाही राम्रैसित हुने गथ्र्यो। प्रसाईंको पनि माओवादीसँग नजिक हुनुको उद्देश्य कुनै राजनीतिक परिवर्तन होइन, बरु ससुरालीलाई माओवादीको यातना दिन लगाएर आफ्ना सालाका नाममा धेरैभन्दा धेरै अंश दिलाउनु थियो।

शाहीकालमा संकटकाल लाग्नुभन्दा अगाडि नै प्रसाईं र माओवादी नेताको हिमचिम सुरु भइसकेको थियो। बिर्तामोड चोकको त्यही टाँडे घरमा माओवादीका नेता र प्रसाईंको बारम्बार बैठक हुने गर्थ्यो। यसैबीच एक दिन दुर्गा प्रसाईंले चाहेजस्तै भयो। प्रसाईं अंश मुद्दाका आफ्ना प्रतिवादी रहेका ससुरा कृष्ण गिरिका एक छोरालाई माओवादी कार्यकर्ताबाट नराम्ररी यातना दिलाउन सफल भए।

उनको अवस्था नाजुक भइसकेको थियो तर सघन उपचारपछि उनी ठिक भए। तर पनि माओवादी छापामारहरूले गिरिको परिवारलाई धम्क्याउन र तर्साउन छाडेनन्। हप्तैपिच्छे छापामारका बेनामे चिठीहरू गिरिका घरमा आउने गर्थे। पत्रमा अंश ठगिएको कुरा निकाल्दै ज्यान मार्नेसम्मको धम्की हुनेगर्थ्यो।

यसपछि भने गिरि परिवार झस्कियो। माओवादी छापामारले ज्यानैसमेत लिने त्रासमा पुगे। अन्ततः गिरि परिवार मुद्दा नलड्ने बरु मिलाउनेतिर लाग्यो। गिरि परिवारले दुर्गाका आफ्नै साला रामबाबु गिरिका नाममा ३ बिघा जमिन पास गरिदियो। बिजमाण्डूले प्रसाईंसित तपाईंले ससुराली खलकलाई यातना दिन लगाएर सम्पत्ति हडपेको हो भन्ने प्रश्न गरेको थियो।
प्रसाईंले यस विषयलाई आक्रोशित मुद्रामा स्वीकार गरे।

उनको भनाइ थियो, ‘गरेँ हुँला। मेरा ससुरालीसँग सम्पत्ति थियो गरेँ। त्यस्ता ससुराली तपाईंका पनि छन् भने गर्नूस्, सम्पत्ति ल्याउनूस, किन मलाई जिस्क्याउनु हुन्छ ?’

यसरी माओवादी नेता र छापामारका आडभरोसामा प्रसाईंले बिर्तामोडजस्तो महँगो ठाउँको जमिन पाए। यसपछि भने उनको दिन दुगुना रात चौगुना प्रगति हुन थाल्यो। उनी जमिनको कारोबारमा लागे। आफू बस्तै आएको काठको टाँडे घर पनि भत्काए र त्यसलाई समेत प्लटिङ गरे। प्लटिङले उनी जागे। बिर्तामोडमा केही बिघा जमिन प्लटिङ गरेर महँगो मूल्यमा बिक्री गरेपछि उनी काठमाडौँ हान्निए। काठमाडौँमा पनि जग्गाजमिनकै कारोबार गरे।

अनि भक्तपुरमा अत्याधुनिक शैलीको विलासी घर बनाउन सफल भए। यही भक्तपुरको घरमा उनले ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएका थिए। यति बेलासम्म उनले कुनै बेला मुद्दा लडेका र माओवादी प्रयोग गरेका ससुरालीसँग पनि सम्बन्ध राम्रो बनाइसकेका थिए।

प्रसाईंले अहिले ठड्याएको बीएन्डसी अस्पताल भएको जमिन उनले ससुराली पक्षबाट पाएको हो। अस्पताल बनाएपछि उनले त्यही जमिन बैंकमा धरौटी राखेर करोडौँ ऋण लिए। अस्पतालमा केहीलाई अदृश्य साझेदारका रूपमा पनि राखे। उनीहरूसँग पैसा लिएर तिनलाई अस्पतालको साझेदारीबाट निकालेको आरोप प्रसाईंमाथि लाग्ने गरेको छ।

यति हुँदाहुँदै पनि प्रसाईंले यत्रो अकुत आर्जन कसरी गरे भन्ने विषय अझै रहस्यकै गर्भमा छ। अस्पताल खोलेका वेला उनी आफ्नो सबै जायजेथा बैंकमा छ भन्ने गर्थे तर अस्पतालमा जति सुकै महँगो मेसिन खरिद गर्नुपरे पनि चाहिएको रकम निकाल्ने गर्थे। उनी झापाकै धाइजन भन्ने ठाउँमा १६ बिघा क्षेत्रफलमा मेडिकल कलेजका लागि भवन र विभिन्न संरचनाको पनि निर्माण गरिरहेका छन्।

‘हामीले मेडिकल कलेजका लागि सम्पूर्ण संरचना र पूर्वाधार तयार पारेको ८ वर्ष पुगिसक्यो’, दुर्गाले भने, ‘तर पनि सरकारले हामीलाई सम्बन्धन दिएको छैन। हामीमाथि अन्याय भएको छ। ’प्रसाईंका अनुसार मेडिकल कलेजले आफ्नो पहिलो ब्याच विद्यार्थी भर्ना गरेपछि मात्र ऋणको ब्याज बुझाउने, भर्ना नहुन्जेल ब्याजलाई पुँजीकृत गर्दैजाने भन्ने बैंकसित सम्झौता छ। तर पनि मेडिकल कलेजले नियमित रूपमा ब्याज बुझाइरहेकै छ। ब्याजको रकम मात्र अहिलेसम्म ६७ करोड रुपैयाँ बुझाइसकेको छ। मेडिकल कलेज कालो सूचीमा परेको छैन।’

त्यसो त, प्रसाईंले उच्च शिक्षा हासिल गर्न पाएनन्। उच्च शिक्षा त के उनीसित एसएलसी (हालको एसइइ) उत्तीर्णको प्रमाणपत्रसमेत छैन। उनको औपचारिक शिक्षा भनेको कक्षा ८ सम्म मात्र हो भन्ने उनका समकालीनहरूको भनाइ छ। उनले आफ्नो शिक्षादीक्षाका बारेमा केही भन्न चाहेनन्। बरु आफ्नो डाक्टर भइसकेको छोरालाई मेडिकल कलेजको अध्यक्ष बनाएको र सालो बाबुराम गिरि पनि कलेज र अस्पतालको हिस्सेदार भएको जानकारी दिए।

प्रसाईंले व्यवसायमा उनका सालोको हिस्सा कति हो भन्ने खुलाएनन्।उनको भनाइ थियो, ‘हामी दुबैको सबै कारोबार एकै ठाउँ छ। यसरी नै बुझ्नूस्।’

उनले आफ्नो र साला बाबुरामका नाममा झापाको बिर्तामोडमा पाँचतारे होटल पनि निर्माण गरिरहेको जानकारी दिए।
बिजमाण्डूले उनलाई पूर्व राजा ज्ञानेन्द्रलाई ल्याएर कार्यक्रम गर्नुको कारण के थियो भन्ने प्रश्न गरेको थियो। यसमा प्रसाईंको प्रतिप्रश्न थियो, ‘मेरो हैसियत थियो ल्याएँ, तपाईंलाई के फरक पर्‍यो? म मोदी र पुटिनलाई पनि ल्याउन सक्छु। तपार्इंलाई केही आपत्ति छ ?’

उनले आफूले बैंकको सावाँब्याज नै नतिर्ने भनेर अभियान नचलाएको स्पष्टीकरण दिए।उनको जबाफ थियो, ‘म आफैं सावाँब्याज तिरिरहेको छु। मेरो भनाइ ब्याज महँगो भयो भन्ने मात्र हो।’