स्मार्टफोनमा जमेको चिनियाँ ब्राण्ड साओमी पनि इभी बजारमा उत्रियो, टेस्लालाई टक्कर दिने

बिजमाण्डू
२०८० चैत्र १६ गते १२:०५ | Mar 29, 2024
स्मार्टफोनमा जमेको चिनियाँ ब्राण्ड साओमी पनि इभी बजारमा उत्रियो, टेस्लालाई टक्कर दिने

चीनको विद्युतीय कार निर्माण उद्योगमा स्मार्टफोनमा जमेको ब्राण्ड साओमी पनि उत्रिएको छ। उसले आफ्नो बहुप्रतिक्षित इभी स्पिड अल्ट्रा सेभेन सेडान कार बेइजिङमा सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

साओमीका संस्थापक तथा सीइओ ली जुनले गत साता नै कम्पनीले अत्याकर्षक, चलाउन सजिलो र सबैभन्दा स्मार्ट कार त्यो पनि ६९ हजार डलरभन्दा कम मूल्यमा ल्याउन लागेको भन्दै पहिलो इभीको सार्वजनिकीकरणको संकेत गरिसकेका थिए।

‘साओमीले पोर्से र टेस्लासँग तुलना हुने गरी ड्रिम कार बनाउन चाहेको हो।’- उनले भने- ‘यदि हामी साँच्चै नै राम्रा कारहरु बनाउन चाहन्छौ भने यी दुई उत्कृष्ट कार निर्माता कम्पनीहरुबाट गम्भीरतापूर्वक सिक्नुपर्छ।’

साओमीले सार्वजनिक गरेको यस मोडलका विभिन्न भेरियन्टहरुको मूल्य ३० हजार देखि ४१.५ हजार डलरसम्म रहने बताएको छ।

कम्पनीले चिनियाँ अटो उद्योगमा दह्रो धक्का दिने गरी उपस्थिति जनाउने लक्ष्य राखेको छ। साओमीको एसयु सेभेन मोडलले सुरुवातमा चीनका २९ सहरहरुमा उपस्थिति जनाउने कम्पनीका सीइओ लीले बताए।

विश्वकै ठूलो इभी बजार का रुपमा रहेको चीनमा हाल २०० भन्दा प्रमुख कार निर्माता कम्पनीहरु छन् जसले विद्युतीय तथा हाइब्रिड कारहरु उत्पादन गरिरहेका छन्।

उपभोक्ताको माग कमजोर भएपनि कम्पनीहरुले बिक्री बढाउन गरेका प्रयासहरुका कारण गत वर्षदेखि इभीहरुमा प्राइस वार पनि सुरु भएको छ। सन् २०२३ मा यस क्षेत्रमा औसत नाफाको मार्जिन ५ प्रतिशतले घटेको सरकारी आँकडाले देखाउँछ।

चीनको इभी उद्योगको सबैभन्दा ठूलो खेलाडी मानिएको बीवाइडीले यसै साता आफ्नो त्रैमासिक नाफाको वृद्धि बिगत २ वर्ष यताकै सुस्त भएको सार्वजनिक गरिसकेको छ।

स्मार्टफोन र कन्ज्युमर इलेक्ट्रोनिक्सको उत्पादनमा नाम चलेको ब्राण्ड साओमीको सन २०२३ को अन्तिम त्रैमासमा चीन र विश्वभरकै स्मार्टफोन बिक्रीमा १३ प्रतिशत हिस्सा रहेको बताइएको छ। कारोबारका हिसाबले गत वर्षभरि नै यो ब्राण्ड चीनको शीर्ष पाँचौं कम्पनीका रुपमा रहिरह्यो।

साओमी योजनाबिनै यस क्षेत्रमा प्रवेश भने गरेको होइन। उसले सन् २०२१ मै अबको दशकमा स्मार्ट इभी उत्पादनका लागि १० अर्ब डलर खर्चिने घोषणा गरेको थियो। साओमीले प्रिमियम उपभोक्तालाई लक्षित गरी यो इभी ल्याएको हो, जसले इभी बजारमा पोर्सेको टाइकान र टेस्लाको मोडल एस सेडानसँग प्रतिस्पर्धा गर्ने बताइएको छ।

चीनमा इभीको मूल्य विश्वका अन्य देशहरुमा भन्दा सस्तो छ।