नेपाललाई बेच्ने बिजुलीको भाउ बढाउन भारतको प्रस्ताव, अर्को साताबाट कार्यान्वयनमा आउने

बिजमाण्डू
२०८० चैत्र १६ गते ०९:४६ | Mar 29, 2024
नेपाललाई बेच्ने बिजुलीको भाउ बढाउन भारतको प्रस्ताव, अर्को साताबाट कार्यान्वयनमा आउने

काठमाडौं। भारतले कोइलाको भाउ बढेको भन्दै नेपाललाई बेच्ने बिजुलीको भाउ बढाउन प्रस्ताव गरेको छ। तीन साताअघि नेपाल-भारत विद्युत आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को बैठकमा भाउ बढाउन प्रस्ताव गरिएको हो।

Tata
GBIME
Nepal Life

भारतसँग नेपालका सीमाना जोडिएका राज्यबाट बिजुली खरिद सम्बन्धि सम्झौता छ। त्यही सम्झौताअनुसार नेपालले सीमा जोडिएका जिल्लाबाट विद्युत खरिद गर्छ। त्यही विद्युतको भाउ बढाउन भारतले अहिले प्रस्ताव गरेको हो।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार अप्रिलदेखि नयाँ दररेट कार्यान्वयनमा ल्याउने भन्दै भारतले नेपाललाई जानकारी समेत गराइसकेको छ।

उच्च स्रोतका अनुसार भारतले त्यहाँबाट खरिद गर्ने बिजुलीको भाउ ३३ केभी प्रसारण लाइनबाट प्रति युनिट भारु ८.६५ बनाउन प्रस्ताव गरेको छ। यसअघि ३३ केभी प्रसारण लाइनबाट ल्याउँदा ८.२८ भारु थियो। स्रोतका अनुसार भारतले १३२ केभीको लागि प्रति युनिट ७.९८ भारु प्रस्ताव गरेको छ। अहिले यो बिजुलीको दर ७.६४ भारु छ।

अहिले नेपालले प्रति युनिट ७.६४ भारतीय रुपैयाँमा बिजुली दिइरहेको छ।

‘भारतले बिजुलीको भाउ धेरै बढाउन प्रस्ताव गरेको होइन। हामीले सीमा क्षेत्रबाट धेरै बिजुली ल्याउने गरेका छैनौं,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘हामीलाई अपुग भएका बेलामा ल्याएर सहज बनाउने गरेका छौं।’

नेपाल विद्युत प्राधिकरणले बिजुलीको आवश्यकता हेरेर सीमाना जोडिएका युपी र विहारबाट बिजुली ल्याउने गरेको छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बिजुलीको भाउ बढाउने प्रस्तावका बारेमा जानकारी नभएको बताए।

‘पीईसी मिटिङ भएको हो। तर, बिजुलीको भाउ बढाउने प्रस्तावका बारेमा जानकारी छैन,’ उनले बिजमाण्डूसँग भने।

त्यही बैठकमा भारतले बिजुली बिक्रीका लागि प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मार्फत पुर्‍याउन युपी र बिहारको प्रसारणलाइन प्रयोग गर्न दिन तयार भएको थियो।

यो सुविधा नेपालले पाए उपलब्ध प्रसारण लाइनहरुमार्फत सहज रुपमा बिजुली पठाउन सक्नेछ। अहिले ढल्केबर-मुज्जफरपुर ४०० केभी प्रसारण लाइनबाट बिजुली निर्यात भइरहेको छ। अन्य १३२ केभीका क्रस बोर्डर लाइनहरुबाट आयात भइरहेको छ। निर्यातका लागि अनुमति पाएको भए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन।

प्रसारण लाइन प्रयोग गर्न भारतले दिएपछि विद्युत् व्यापारका लागि सहज हुनेछ। अहिले नेपालले बर्खामा ‘सरप्लस’ हुने करिब ५०० मेगावाट बिजुली निर्यात गर्ने गरेको छ। जसमध्ये करिब ११० मेगावाट मध्यकालीन खरिदबिक्री सम्झौताअनुसार हरियाणा जान्छ भने बाँकी बिजुली प्रतिस्पर्धी बजारमार्फत बिक्री हुने गरेको छ।

बर्खामा बढी हुने बिजुली नेपालले भारत निर्यात गर्ने भए पनि हिउँदमा आयात गर्छ।