नयाँ वर्षमा पर्यटक आकर्षित गर्न बन्दीपुरमा खाना महोत्सव, सांस्कृतिक कार्यक्रम पनि हुने

बिजमाण्डू
२०८० चैत्र १५ गते १६:१५ | Mar 28, 2024
नयाँ वर्षमा पर्यटक आकर्षित गर्न बन्दीपुरमा खाना महोत्सव, सांस्कृतिक कार्यक्रम पनि हुने

काठमाडौं । नयाँ वर्ष २०८१ का अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ। यही चैत ३०, वैशाख १ र २ गते सडक खाना महोत्सवको आयोजना गरिन लागेको छ।

Tata
GBIME
Nepal Life

बन्दीपुरको पर्यटन प्रवर्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर एकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले भने, बन्दीपुर तनहुँकै प्रमुख पर्यटकीयस्थल हो। नयाँ वर्ष मनाउन बाहिर जिल्ला जान नपरोस् भन्ने हेतुले सडक खाना महोत्सव आयोजना गरिएको हो। त्यतिबेला यहाँ तनहुँका मात्र नभई देशका विभिन्न जिल्लाबाट तथा विदेशी पर्यटकको समेत घुइँचो हुनेमा ढुक्क छौं।

सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। मगर, नेवार, गुरुङ, ब्राह्मणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिने उनले बताए।

आन्तरिक पर्यटकका अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ। यहाँ विशेषगरी चिनियाँ पर्यटकको संख्या बढी हुन्छ। नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन्।

बन्दीपुरमा आयोजना हुने सडक खाना महोत्सवले यहाँको पर्यटनमा टेवा मिल्ने होटल व्यवसायी वैश गुरुङ बताउँछन्।

उनले भने, बन्दीपुरमा नयाँ वर्षमा घुम्नका लागि पर्यटक आउनुहुन्छ, सडक खाना महोत्वले उहाँहरूलाई थप आकर्षित गर्नेछ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापनिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक–फरक भाषामा तयार गरिएको छ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ। त्यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ।

बन्दीपुरमा होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन्। बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन्।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ।