रवि लक्षित गगनको टिप्पणी : भगवानले ठगे पनि हुने, लुटे पनि हुने ?

बिजमाण्डू
२०८० चैत्र १५ गते १३:५४ | Mar 28, 2024
रवि लक्षित गगनको टिप्पणी : भगवानले ठगे पनि हुने, लुटे पनि हुने ?

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा निरंकुशता हाबी भएको बताएका छन्। नवलपरासी गोपीगञ्जमा बिहीबार बिहान संवाद यात्रा थाल्दै थापाले कांग्रेसभित्र भने लोकतन्त्र रहेको दाबी गरे।

Tata
GBIME
Nepal Life

‘हामीहरुको पार्टीमा प्रश्न गर्न पाउँछ। माइक राखेर ढ्वाङ राखेर छलफल गरिरहेका छौं,’ थापाले भने, ‘नेकपा एमालेमा पार्टीका अध्यक्षलाई कसैले प्रश्न सोध्न नपाउने। प्रश्नभन्दामाथि बा। बा प्रश्नभन्दा माथि। पार्टीको नेता आलोचनाभन्दा माथि।’

रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै थापाले नयाँ पार्टीमा पनि यस्तो समस्या रहेको दाबी गरे।

‘नयाँ पार्टीमा पनि अध्यक्ष बनेको भगवान। प्रश्न गर्न पनि नपाउने। भगवानले ठगे पनि हुने। भगवानले लुटे पनि हुने,’ गगनले भने।

त्यसक्रममा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा गगनले गृहमन्त्रीबाट लामिछानेको राजीनामा मागेका थिए। जवाफमा लामिछानेले भने आफू निर्दोष रहेको र गगनसँग लाइभ डिबेट गर्न तयार रहेको बताइसकेका छन्।

गगनको दोस्रो चरणको संवाद यात्रा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन्। सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नेछन्।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन्।