आईपीएल : कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बई हैदराबादसँग पराजित, लगातार दोस्रो हार

बिजमाण्डू
२०८० चैत्र १५ गते ०६:५४ | Mar 28, 2024
आईपीएल : कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बई हैदराबादसँग पराजित, लगातार दोस्रो हार
सनराइजर्स हैदराबादविरुद्ध ब्याटिङ गर्दै मुम्बईका खेलाडी। तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्स सनराइजर्स हैदराबादसँग पराजित भएको छ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा गएराति सम्पन्न खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो।

Tata
GBIME
Nepal Life

रनको वर्षा भएको खेलमा मुम्बइले टस जितेर हैदराबादलाई ब्याटिङको निम्ता दिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको हैदराबादले आईपीएल इतिहासकै ठूलो इनिङ्स खेल्दै ३ विकेट गुमाएर २७७ रन बनायो।

यसअघि यो कीर्तिमान रोयल च्यालेन्जर्स बेङ्ग्लुरुको नाम थियो। सन् २०१३ मा उसले यो रेकर्ड पूणे वारियर्सविरुद्ध बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४६ रनमा समेटियो। यो स्कोर पनि आईपीएलको संयुक्तरुपमा पाँचौँ ठूलो स्कोर हो।

सन् २०१० मा चेन्नइले राजस्थान रोयल्सविरुद्ध यो स्कोर बनाएको थियो। मुम्बईका तिलक वर्माले आक्रमक इनिङ्स खेल्दै ३४ बलमा ६४ रन बनाउँदा इशान किशनले ३४, नमन धीरले ३०, रोहित शर्माले २६ तथा कप्तान हार्दिक पाण्ड्याले २४ रन बनाए। त्यस्तै टिम डेभिडले २२ बलमा ४४ रन र रोमेरियो सेपार्डले ६ बलमा १५ रन बनाउँदै अविजित रहे।

त्यसअघि ब्याटिङ गरेको हैदराबादले आईपीएलको ठूलो इन्निङ्स खेलेर कीर्तिमान बनाएको थियो। यसक्रममा बेङ्ग्लुरुले सन् २०१३ मा क्रिस गेलको ६६ बलमा १७५ रनको सहायतामा बनाएको २६३ रनको आईपीएलको कीर्तिमान टुटेको थियो।

हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाउने क्रममा शीर्षक्रमका ब्याटरहरुको सुरुबाटै आक्रामक ब्याटिङ रह्यो। ओपनर मयंक अग्रवाल ११ रनमा हार्दिक पाण्ड्याको बलमा आउट ४.१ ओभरमा आउट भएसँगै हैदराबादको ब्याटिङ तातेको थियो।

ओपनर ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्काको सहायतामा ६२ बनाएर ७.३ ओभरमा पभेलियन फर्किए। त्यस्तै २३ बलमै ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रन बनाएका अभिषेक शर्मा १९.६ ओभरमा पियुष चावलाको बलमा आउट हुन पुगे।

हैदराबादको खेललाई २० औँ ओभरसम्मै लगेका एइडन मार्क्रमले २८ बलमा ४२ रन बनाउँदै अविजित रहँदा हेइरिच क्लासेनले ३४ बलमा ८० रन बनाए।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या, गेराल्ड कोएट्जी र पियुष चावलाले समान १ विकेट लिए।

जारी आईपीएलमा मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई गुजरात टाइटन्ससँग पराजित भएको थियो। अर्कोतर्फ पहिलो खेलमा हार ब्यहोरेको हैदराबादले दोस्रो खेलमा पुनरागमन गरेको हो। पहिलो खेलमा कोलकाता नाइटराइडर्सले हैदराबादलाई ४ रनले हराएको थियो।

आज आईपीएलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दैछन्। खेल जयपुरमा साँझ पौने ८ बजे सुरु हुनेछ।