बीमितको आर्थिक अवस्था नहेरी जथाभावीरुपमा पोलिसी बिक्री, सम्पत्ति शुद्धीकरणमा चुनौती

बिजमाण्डू
२०८० चैत्र १४ गते १९:३४ | Mar 27, 2024
बीमितको आर्थिक अवस्था नहेरी जथाभावीरुपमा पोलिसी बिक्री, सम्पत्ति शुद्धीकरणमा चुनौती

काठमाडौं। बीमा कम्पनीहरुले बीमितको आयस्रोत नहेरी अन्धाधुन्धरुपमा पोलिसी बिक्री गरेको पाइएएको छ।

Tata
GBIME
Nepal Life

नेपाल बीमा प्राधिकरणले स्थलगत र गैरस्थलगत रुपमा गरेको सुपरिवेक्षणमा जीवन बीमा कम्पनीमा एकै प्रकृतिका कैफियत पाएको हो।

नियमनको क्रममा कम्पनीले बीमितको आयस्रोत नहेरी जथाभावीरुपमा पोलिसी बिक्री गरेको पाइएकाले प्राधिकरणले नियमनमा कडाइ गर्न थालेको छ।

जथाभावीरुपमा पोलिसी बिक्रीले सम्पत्ति शुद्धीकरण र अपराधको जोखिम बढाएको प्राधिकरणको निष्कर्ष छ।

कम्पनीका एजेन्टले कमिसनको लोभमा बीमितको आम्दानी नहेरी पोलिस थमाउने गरेका छन। जसका कारण बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र अपराधको जोखिम बढेको प्राधिकरणका अधिकारी बताउँछन्।

‘बीमितको सम्पत्ति नहेरी एजेन्टले जथाभावी पोलिसी बिक्री गर्दा सम्पत्ति शुद्धीकरण र पोलिसीको निरन्तरतामा चुनौती देखिएको छ। नियमनका क्रममा प्राधिकरणले एकै प्रकारका कैफियत भेट्टाएको छ,’ प्राधिकरणका एक निर्देशकले भने।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नियमनका क्रममा कैफियत भेटिएकाले कम्पनीहरुलाई थप निर्देशित गरेको बताए।

‘कम्पनीहरुले बीमितको आयस्रोतको विवरण समेत नराखेरै बीमा गरेको कैफियत पाइयो। यो गर्न सकिने सामान्य काम हो। तर, नगर्दा बीमा रकमका लागि अपराध र सम्पत्ति शुद्धीकरणको जोखिम बढाउँछ। त्यसैले कम्पनीहरुलाई थप निर्देशित गरिएको छ,’ उनले भने।

प्राधिकरणले कैफियत देखिएको भन्दै चैत ५ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई १८ बुँदे निर्देशन दिएको थियो।

प्राधिकरणले जोखिमयुक्त बीमितको वृह्द् ग्राहक पहिचान (इडीडी) गर्न निर्देशन दिएको थियो।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिका,२०७५ अनुसार बीमकको जोखिम मूल्यांकन प्रतिवेदन अध्यावधिक गर्न पनि प्राधिकरणले भनेको थियो।