चिनियाँ राजदूतले भने- पोखरा र भैरहवामा चीनबाट सिधा उडानका लागि अधिकतम प्रयास गरिरहेका छौं

बिजमाण्डू
२०८० चैत्र १४ गते १८:१६ | Mar 27, 2024
चिनियाँ राजदूतले भने- पोखरा र भैरहवामा चीनबाट सिधा उडानका लागि अधिकतम प्रयास गरिरहेका छौं
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग चनियाँ राजदूत छन सोङ। तस्वीर : गृहमन्त्रीको सचिवालय

काठमाडौं। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडानका लागि प्रयास भइरहेको चिनियाँ दूतावासले बताएको छ।

Tata
GBIME
Nepal Life

नेपालका लागि चीनका राजदूत छन सोङले बुधबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगको भेटवार्तामा ती दुवै विमानस्थलमा सिधा उडानका लागि अधिकतम प्रयास गरिरहेको बताएको मन्त्रीको सचिवालयले जनाएको छ।

आफूलाई बधाई दिन मन्त्रालयमा उपस्थित राजदूतसामु मन्त्री लामिछानेले चीनका केही सहरबाट गौतमबुद्ध र पोखरा विमानस्थलमा सिधा हवाई उडानको अपेक्षा राखेको बताएका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संचालनमा आएको १५ महिना हुँदा पनि नियमित व्यावसायिक उडान हुन सकेको छैन भने गौतमबुद्ध विमानस्थलमा नेपाल वायु सेवा निगमले सातामा जम्मा एउटा उडान गर्दै आएको छ। यो विमानस्थल संचालनमा आएको २ वर्ष हुन लागेको छ।

चिनियाँ राजदूत सोङले त्रिभुवन विमानस्थलसहित अध्यागमन कार्यालयको सुदृढीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उनले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यक औंल्याएको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री लामिछानेलाई चिनियाँ समकक्षी वाङ छियाहङका तर्फबाट राजदूत सोङले चीन भ्रमणको निम्ता दिएका छन्।