शिक्षामन्त्री सुमनाले बिर्सिइन् जिम्मेवारी, भर्नालाई लिएर विद्यालयका प्रिन्सिपलसँग सोधपुछ

बिजमाण्डू
२०८० चैत्र १४ गते १७:२६ | Mar 27, 2024
शिक्षामन्त्री सुमनाले बिर्सिइन् जिम्मेवारी, भर्नालाई लिएर विद्यालयका प्रिन्सिपलसँग सोधपुछ
तीन विद्यालयका प्रिन्सिपलसँगको छलफलमा शिक्षामन्त्री सुमना श्रेष्ठ। तस्वीर : गृहमन्त्रीको सचिवालय

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफ्नो पदीय जिम्मेवारी नै भुलेकी छन्। उनले बुधबार विभिन्न तीन विद्यालयका प्रिन्सिपललाई बोलाएर भर्ना प्रक्रियाबारे छलफल गरेकी छन्।

Tata
GBIME
Nepal Life

उनले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई बोलाएर भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन भनेकी हुन्। जबकि यो विषय उनको क्षेत्राधिकारभित्र पर्दैन। विद्यालय शिक्षा स्थानीय तहको क्षेत्राधिकारभित्र पर्छ।

स्थानीय तहका प्रमुखले गर्नुपर्ने काम मन्त्री श्रेष्ठले गरेकी हुन्। उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी भर्ना गर्न आग्रह गरेकी छन्। सेन्ट जेभियर्सले गोला प्रथाबाट र बुढानीलकण्ठले परीक्षा लिएर विद्यार्थीको भर्ना लिंदै आएका छन्।

मन्त्री श्रेष्ठले बुधबार गरेको छलफलको सूचना सार्वजनिक गर्ने काममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयको समेत दुरुपयोग गरिएको छ। मन्त्री श्रेष्ठले छलफल गरेको जानकारी लामिछानेको सचिवालयबाट संचारकर्मीलाई दिइएको छ।

तीन विद्यालयका प्रिन्सिपलसँगको छलफलमा शिक्षामन्त्री सुमना श्रेष्ठ। तस्वीर : गृहमन्त्रीको सचिवालय

लामिछानेको सचिवालयले ‘सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलको भर्नाबारे शिक्षामन्त्रीले दिएको चासोबारे पर्याप्त प्रचार हुनुपर्छ भन्ने लागेर हाम्रो सचिवालयसँग सम्बन्धित नभए पनि यो न्यूज प्रेषित गरेको छु,’ भनेको छ।

मन्त्री श्रेष्ठले तीन विद्यालयका प्रिन्सिपललाई मन्त्रालयमै बोलाएर छलफल गरेको भन्दै गृहमन्त्रीको सचिवालयले यसलाई ठूलो कामका रुपमा प्रचार गर्न खोजेको छ। देशभर ३० हजारभन्दा बढी विद्यालय छन्।