डन्डीको बिक्री घट्दा विजयश्री स्टिलको व्यापार एकैवर्ष १ अर्ब १५ करोड रुपैयाँले घट्यो

बिजमाण्डू
२०८० चैत्र १४ गते ११:५९ | Mar 27, 2024
डन्डीको बिक्री घट्दा विजयश्री स्टिलको व्यापार एकैवर्ष १ अर्ब १५ करोड रुपैयाँले घट्यो

काठमाडौं। बिक्री घटेपछि विजयश्री स्टिलको व्यापार एकैवर्ष १ अर्ब १५ करोड रुपैयाँले घटेको छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले सन् २०२२/२३ मा ३ अर्ब ५६ करोड रुपैयाँको व्यापार गरेको जनाएको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ४ अर्ब ७१ करोड रुपैयाँको कारोबार गरेको थियो। यस्तै, सन् २०२०/२१ मा कम्पनीले ५ अर्ब ३४ करोड रुपैयाँको व्यापार गरेको थियो।

Tata
GBIME
Nepal Life

कम्पनीले २०२३/२४ मा ३५ हजार ७४४ टन डन्डी बेचेको छ। निर्माण क्षेत्रमा मन्दीसँगै कम्पनीले कन्टिन्युअस कास्टिङ मेसिन (सीसीएम) प्लान्ट जडानको काम समेत सँगै अघि बढाउँदा उत्पादनमा गिरावट आएर बिक्रीमा असर पुगेको बताइएको छ।

कपिलवस्तुमा प्लान्ट रहेको उद्योगसँग दैनिक ७ सय टन डन्डी उत्पादन गर्न सक्ने क्षमता छ। यस्तै, उद्योगले दैनिक ४ सय टन बिलेट उत्पादन गर्न सक्छ। कम्पनीको अध्यक्ष विकास केडिया हुन्।

कम्पनीले ३ अर्ब ९४ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ। केयर रेटिङ्स नेपालले १ अर्ब ४ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी माइनस र २ अर्ब ९० करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पुन: पुष्टि गरिदिएको छ।