अल्ट्राभोइलेटको स्पोर्टी इ-बाइक ‘एफ ७७’ नेपाली बजारमा आउँदै, मूल्य १० लाख रुपैयाँ

बिजमाण्डू
२०८० चैत्र १४ गते ०८:४१ | Mar 27, 2024
अल्ट्राभोइलेटको स्पोर्टी इ-बाइक ‘एफ ७७’ नेपाली बजारमा आउँदै, मूल्य १० लाख रुपैयाँ

काठमाडौं । अटो कम्पनी अल्ट्राभोइलेटको नयाँ स्पोर्टी इ-बाइक ‘एफ ७७’ मोडल नेपाली बजारमा उपलब्ध हुन भएको छ। गत मंसिरमा भारतीय कम्पनीले यो स्पोर्टी नयाँ इ-बाइक बजारमा सार्वजनिक गरेको थियो। नेपालमा भने अप्रिलको मध्यतिर सार्वजनिक गर्ने तयारी गरिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले भारतमा यो इलेक्ट्रिक बाइक जनवरीदेखि डेलिभरी सुरु गरेको थियो। भारतमा ४.५५ लाख भारतीय रुपैयाँ मूल्य भएको इभी नेपालमा ९ लाख ९९ हजार रुपैयाँ तोकिएको आधिकारिक बिक्रेता केडिया इन्टरनेशनलले जनाएको छ। यो मूल्य भने सुरुमा खरिद गर्ने केही ३० जना ग्राहकहरुलाई मात्र लागू हुने कम्पनीले जनाएको छ।

यसको उत्पादनमा टीभीएस मोटर कम्पनीले पनि लगानी गरेको छ। कम्पनीले यो बाइक विकासका लागि ५ वर्ष लगाएको थियो।

भारतमा यो बाइक दुईवटा ओरिजिनल र रेकन भेरियन्टमा उपलब्ध छन्। नेपालमा भने एउटा रेकन भेरियन्ट मात्र उपलब्ध हुनेछ।

नेपाली बजारमा उपलब्ध हुने रेकन भेरियन्टमा भएको १०.३ किलोवाट ब्याट्री प्याकले एक पटकको फूल चार्जमा ३०७ किलोमिटर दुरी पार गर्न सक्ने कम्पनीको दाबी छ। यो भेरियन्टमा भएको २९ किलोवाट क्षमताको मोटरले ९५ एनएम पिक पावर उत्पादन गर्दछ।

यस्तै, अर्को ओरिजनल भेरियन्टमा भएको ७.१ किलोवाट ब्याट्री प्याकले एक पटकको फूल चार्जमा २०७ किलोमिटरको दुरी पार गर्न सक्छ। यसमा भएको २७ किलोवाट क्षमताको मोटरको पिक पावर ८५ एनएम रहेको छ। यो भेरियन्ट भने तत्काल नेपाल आउने छैन।

यी दुई भेरियन्टमा १३४० एमएमको ह्वीलबेस छ भने ८०० एमएमसम्मको सिट छ। साथै यसको ग्राउन्ड क्लियरेन्स १६० एमएमसम्म छ। तीनवटा एयरस्ट्राइक, लेजर र स्याड्यो रंगमा यी बाइक पाइने छन्। यी सबैका आ-आफ्नै फिचर र पर्फर्मेन्स रहेको कम्पनीले जनाएको छ।

यसमा लिथियम-आयोन ब्याट्री प्याक उपलब्ध छ। साथै यो ब्याट्री आल्मुनियम केसभित्र सुरक्षित तवरले राखिएको छ। यसमा ५ स्टारको सेफ्टी र प्यासिभ एयर कुलिङ प्रविधि पनि समावेश गरिएको बताइएको छ।

कम्पनीले यो बाइकमा भएको ब्याट्री प्याकमा भेरियन्ट अनुसार ३ वर्षदेखि ५ वर्षसम्मको वारेन्टी दिएको छ। यस्तै लिमिटेड एडिसनको बाइकमा भने ८ वर्षसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ। लिमिटेड एडिसनको लागि भने मूल्य फरक हुनेछ।

अल्ट्राभोइलेट अटोमोटिभले ल्याएको यो इलेक्ट्रिक बाइक एफ ७७ मोडलको हालसम्म १ सय ९० देशहरुबाट ७० हजार युनिटभन्दा धेरै प्रि-बुकिङ भइसकेको कम्पनीले जनाएको छ।