ट्वीटरलाई टक्कर दिन ल्याएको ट्रुथ सोसलले ट्रम्पलाई बनायो मालामाल, पहिलोपटक ५०० बिलेनियर क्लबमा

बिजमाण्डू
२०८० चैत्र १३ गते १८:०६ | Mar 26, 2024
ट्वीटरलाई टक्कर दिन ल्याएको ट्रुथ सोसलले ट्रम्पलाई बनायो मालामाल, पहिलोपटक ५०० बिलेनियर क्लबमा

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको एप ट्रुथ सोसल संचालन गर्ने उनको कम्पनी ट्रम्प मिडियाले उनलाई पहिलोपटक ब्लुमबर्ग बिलेनियर इन्डेक्समा विश्वका ५ सय धनाढ्यभित्र सूचीकृत गरिदिएको छ।

Tata
GBIME
Nepal Life

समर्थकहरुको भीडले अमेरिकी संसद भवनमा आक्रमण गरेको घटनापछि सन् २०२१ मा उनलाई फेसबुक र ट्विटरजस्ता सामाजिक संजालले प्रतिबन्ध लगाएको थियो। अभिव्यक्ति स्वतन्त्रता हनन गरिएको भन्दै आक्रोशित ट्रम्पले कथित “ठूला प्रविधि कम्पनीहरु बिरुद्ध” भन्दै बैकल्पिक सामाजिक संजालका रुपमा ट्रुथ सोसल सार्वजनिक गरेका थिए।  

ट्वीटर जस्तै गरी प्रयोग गर्न मिल्ने एप ट्रुथ सोसलको मालिक कम्पनी ट्रम्प मिडिया र डिजिटल वर्ल्ड एक्विजिसन कर्पबीचको मर्जरले एकै दिनमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति दोब्बरभन्दा बढीले बढ्यो।  

ट्रम्प मिडियाले मंगलबारदेखि स्टक मार्केटमा नयाँ कम्पनीसँग मर्ज भइ डेब्यु गर्ने घोषणा गरेपछि उनी पहिलो पटक ब्लुमबर्ग बिलेनियर इन्डेक्समा ५ सय धनाढ्य क्लबमा प्रवेश गरेका हुन्।

ब्लुमबर्गले ट्रम्पको कुल सम्पत्ति सोमबार मात्रै ४ अर्ब डलर बढेर ६.५ अर्ब डलर पुगेको अनुमान गरेको छ।

ट्रम्प मिडिया र डिजिटल वर्ल्ड एक्विजिसन कर्पबीचको मर्जर सम्पन्न भएपछि ट्रम्पको सम्पत्तिमा अचानक उछाल आएको हो। अब ट्रम्प नयाँ कम्पनीको अध्यक्ष र प्रमुख सेयरधनी बन्नेछन्।  

मर्जरको समाचारले डिजिटल वर्ल्डको सेयरमा २१ प्रतिशतले उछाल आएको छ। सोमबारको सेयर कारोबारमा पनि कम्पनीको सेयर ३९ प्रतिशतले बढ्यो। हालको मूल्य अनुसार कम्पनीमा ट्रम्पको सेयर मूल्य करिब ४ अर्ब डलर छ। तथापि ट्रम्पले कम्पनीको सेयर बिक्री गर्न वा किन्नकै लागि पनि ‘लक अप रेस्ट्रिक्सन’का कारण अझै केही समय कुर्नुपर्ने हुन्छ।

संयुक्त कम्पनीको सेयर कारोबार मंगलबारदेखि नै नास्दाक स्टक मार्केटमा सुरु हुने बताइएको छ।

दुई कम्पनीबीचको मर्जरले ट्रम्पलाई फाइदा पुगेपनि ट्रुथ सोसलको प्रयोगकर्ताहरु भने घटिरहेका छन्। अमेरिकामै मासिक सक्रिय प्रयोगकर्ताहरु हेर्ने हो भने गत वर्षको भन्दा ३९ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ।