चौधरी ग्रुपले निर्माण गरेको भिभान्ता चितवन टाटा समूहको आइएचसीएलले सञ्चालन गर्ने

बिजमाण्डू
२०८० चैत्र १३ गते १२:३६ | Mar 26, 2024
चौधरी ग्रुपले निर्माण गरेको भिभान्ता चितवन टाटा समूहको आइएचसीएलले सञ्चालन गर्ने

काठमाडौं। भारतको इन्डियन होटल्स कम्पनी लिमिटेड (आइएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने भएको छ। भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आइएचसिएलले जनाएको छ।

Tata
GBIME
Nepal Life

भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आइएचसीएल, न्यू बिजनेस एण्ड होटल्स ओपनिङ्सका उपाध्यक्ष दीपिका रावले नेपालमा आइएचसीएलको तेस्रो होटेलका रुपमा भिभान्ता चितवन विस्तार हुनु कम्पनीका लागि अर्को एक महत्वपूर्ण उपलब्धी रहेको बताइन्।

‘देशको प्रमुख सहरी केन्द्रमध्येको एक भरतपुर चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनी जस्ता विश्व सम्पदाको प्रवेशद्वार हो। भिभान्ता चितवन आइएचसीएल र चौधरी ग्रुपबीच २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण हो। यस अवधिमा आइएचसीएल र सीजीले ५ देशका ११ होटलमा सहकार्य गरिरहेका छन्,’ रावले भनिन्।

भिभान्ता चितवनले बेग्लै शैली र भावना प्रस्तुत गरेको चौधरी ग्रुपको भनाइ छ। होटलमा ४५ रूम निर्माण गरिएका छन्। भिभान्ताका सुइटमार्फत पाहुनाले सुन्दर देवचुली र प्रकृतिको लोभलाग्दो दृष्य हेर्न सक्ने छन्। साथै, पाहुनाले होटलको मिन्टमा डिनरसहित विभिन्न खानाको स्वाद लिन सक्ने छन् भने होटलको बार ‘विंक’ मा आरामका साथै भरपुर मनोरञ्जनको स्वाद पाउने चौधरी ग्रुपले जनाएको छ।

त्यस्तै, वेलनेस र मनोरञ्जनका लागि होटलमा अत्याधुनिक फिटनेस सेन्टरका साथै स्वीमिङ पुल निर्माण गरिएको छ, जहाँबाट मनोरम सिराइचुली हिमालको दृष्य देख्न सकिन्छ। होटलमा २४०० वर्गफिटको सभाहलका साथै बिजनेस सेन्टर छन्।

सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले सीजीले विकास गरेको होटलमा ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। ‘भिभान्ता चितवन थपिएपछि पाहुनाले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ चौधरीले भने।

राहुल चौधरी

इन्डियन सव-कन्टिनेन्ट र मिडल इस्टमा चौधरी ग्रुप र आइएचसीएलबीचको सहकार्यमा माल्दिभ्समा ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा र ताज कोरल रिफ रिसोर्ट एण्ड स्पा, श्रीलंकामा ताज कोलम्बो, दुबईमा ताज जुमेराह लेक टावर्स, भारतमा ताज सफारी र नेपालमा मेघौली सेराई संचालनमा छन्।