सेयरको भाउ बढाइए पनि फाइनान्स कम्पनीको वित्तीय अवस्था नराम्रो, यस्ता छन् सूचक

सुनिल कुँवर
२०८१ बैशाख १६ गते ०६:१६ | Apr 28, 2024
सेयरको भाउ बढाइए पनि फाइनान्स कम्पनीको वित्तीय अवस्था नराम्रो, यस्ता छन् सूचक

काठमाडौं । बिहीबार सेयर बजार ३.२४ अंकले घट्दा सबै फाइनान्स कम्पनीको सेयर मूल्य बढ्यो। बियरिस ट्रेन्डमा रहेको बजारमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.१३ प्रतिशतले बढ्दा कारोबार र मूल्य बढ्ने कम्पनीको सूचीमा फाइनान्स कम्पनीकै वर्चस्व रह्यो।

Tata
GBIME
Nepal Life

बिहीबार पोखरा फाइनान्सको सर्वाधिक ११ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भयो। कम्पनीको सेयर मूल्य ७.८९ प्रतिशतले बढेर पछिल्लो एक वर्षयताकै उच्च प्रति कित्ता ६१० रुपैयाँ पुगेको छ। कम्पनीको सेयरमा बुधबार पोजेटिभ सर्किट लागेको थियो।

पोखरा फाइनान्सको मूल्य चल्तीका वाणिज्य बैंकको भन्दा निकै धेरै हो। अहिले वाणिज्य बैंकको सेयर मूल्य डेढ सय रुपैयाँभन्दा तल झरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सबैभन्दा धेरै ५१७ रुपैयाँ छ।

घट्दो बजारमा फाइनान्स कम्पनीको सेयर मूल्य र कारोबारको उकालो ग्राफलाई वित्तीय विवरणले भने स्वाभाविक देखाउँदैन।

पोखरा फाइनान्सकै वित्तीय विवरण हेरौं।

चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कम्पनी १८ करोड २९ लाख रुपैयाँ घाटामा छ। खराब कर्जा ७.९१ प्रतिशत पुगेको छ। वित्तीय अवस्था सुधारमा कुनै चमत्कार भएन भने आगामी वर्ष कम्पनीले लगानीकर्तालाई लाभांश दिन सक्दैन।

कम्पनीको वितरणयोग्य नाफा ४५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक छ।

वितरणयोग्य नाफा ऋणात्मक हुनु भनेको लगानीकर्तालाई लाभांश बाँड्न नसक्ने अवस्था हो। पोखरा फाइनान्सको प्रति सेयर आम्दानी २१.३२ रुपैयाँ ऋणात्मक छ।

बिहीबार बेस्ट फाइनान्सको सेयर मूल्य ६.३५ प्रतिशतले बढेर प्रति कित्ता ३६९ रुपैयाँ पुग्यो। कारोबार रकमका आधारमा कम्पनी ४ करोड ४७ लाख रुपैयाँको सेयर किनबेचसहित १० औं स्थानमा रह्यो।

कम्पनीको वितरणयोग्य नाफा ३० करोड ८७ लाख रुपैयाँ ऋणात्मक छ। चालु वर्षको अन्तिम त्रैमासमा कम्पनीको वित्तीय विवरणमा सुधार नआए यो वर्ष लगानीकर्ताले लाभांश पाउने छैनन्।

कम्पनीको खुद नाफा २ करोड ३० लाख रुपैयाँबाट ६५.१५ प्रतिशतले घटेर ८० लाखमा सीमित भएको छ। प्रति सेयर आम्दानी १.२५ रुपैयाँमा सीमित छ।

पोखरा र बेस्ट फाइनान्स मात्र होइन, अरुको पनि वित्तीय अवस्था नाजुक छ।

गुहेश्वरी फाइनान्सको सेयर मूल्य बिहीबार ४.२३ प्रतिशतले बढेर ३७० रुपैयाँ पुग्यो। तर, कम्पनीको वित्तीय अवस्थाले भने यो भाउ धेरै महँगो भएको देखाउँछ।

५ करोड ५० लाख रुपैयाँ नोक्सानीमा गएको कम्पनीको खराब कर्जा ५.७३ प्रतिशत पुगेको छ। वितरणयोग्य नाफा ६ करोड १७ लाख रुपैयाँ ऋणात्मक छ भने प्रति सेयर आम्दानी ५.४४ प्रतिशत ऋणात्मक छ।

सेन्ट्रल फाइनान्स ९ महिनामा ६ करोड १४ लाख रुपैयाँ नोक्सानीमा गएको छ। वितरणयोग्य नाफा १५ करोड ४३ लाख ऋणात्मक हुँदा प्रति सेयर आम्दानी ८.६४ रुपैयाँ ऋणात्मक छ।

जानकी फाइनान्स चालु वर्ष चैतसम्म १० करोड ८६ लाख घाटामा छ। कम्पनीको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक छ। प्रति सेयर आम्दानी २०.९८ रुपैयाँ ऋणात्मक छ। तर, बिहीबार कम्पनीको सेयर मूल्य १.६५ प्रतिशतले बढेर प्रति कित्ता ४५५ रुपैयाँ पुग्यो।

१५ वटा फाइनान्स कम्पनीमध्ये अधिकांशको खुद नाफा घटेको छ। १२ वटाको वितरणयोग्य नाफा ऋणात्मक छ। पोहोर ९ महिनामा ३२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका सूचीकृत कम्पनीले चालु वर्ष ९ महिनामा ३५ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा गएका छन्।

खराब कर्जा औसतमा ९ प्रतिशत पुगेको छ। १२ कम्पनीको विरतणयोग्य नाफा ऋणात्मक छ। यस्तै ८ कम्पनीको प्रति सेयर आम्दानी ऋणात्मक छ।

सूचकका आधारमा हेर्ने हो भने लगानीकर्ताले फाइनान्सको सेयरमा पैसा हाल्नुपर्ने कारण नै देखिंदैन।

मजबुत वित्तीय सूचक भएका कम्पनीकै सेयर मूल्य निरन्तर ओरालो लागिरहेका बेला खराब वित्तीय अवस्थाका फाइनान्स कम्पनीको सेयरमा पैसा हाल्नुलाई बजारका जानकारहरु डुब्ने मेलो भन्छन्।

विश्लेषक र ब्रोकर दुवै सेयर संख्या नै कम भएका कारण सप्लाई कम हुँदा फाइनान्सको मूल्य उचाल्ने काम भइरहेको भन्दै लगानीकर्ता फस्ने बताउँछन्।

‘फाइनान्स कम्पनीको सेयर कम छ। वित्तीय अवस्था खराब भएको बेला पनि सर्किट लाग्नु भनेको चलखेल गरेर बढाइएको बुझ्न कठिन छैन,’ एक ब्रोकरले भने।

खराब सूचक भएका कम्पनीको मूल्य बढ्ने देखेर सेयर खरिद गर्दा लगानीकर्ताको सम्पत्ति भने जोखिममा पर्ने गरेको छ।

‘मनोवैज्ञानिक रुपमा लगानीकर्ता कम्पनीको सूचक हेर्नभन्दा जता सेयर मूल्य र कारोबार बढिरहेको हुन्छ त्यतै लगानी गर्छन्,’ एक विश्लेषकले भने, ‘तर कम्पनीको खराब वित्तीय अवस्थाले उनीहको लगानी नै जोखिममा पर्न सक्छ।’