आजदेखि लगानी सम्मेलन : ९ खर्ब बराबरको १५१ वटा परियोजना प्रस्तुत गरिने

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०९:०९ | Apr 28, 2024
आजदेखि लगानी सम्मेलन : ९ खर्ब बराबरको १५१ वटा परियोजना प्रस्तुत गरिने

काठमाडौं। आजदेखि लगानी सम्मेलन सुरु हुँदैछ। वैदेशिक लगानी भित्र्याउने उद्देश्य सहित तेस्रो लगानी सम्मेलन सुरु आयोजना गरिएको हो।

Tata
GBIME
Nepal Life

सोल्टी होटलमा आयोजना हुने लगानी सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन्। सम्मेलनमा लगानीका करिब ९ खर्ब रुपैयाँ बराबरका १५१ परियोजना प्रस्तुत गरिँदैछ।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६०० लगानीकर्ता सहभागी हुनेछन्। लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छ। १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन्। दोस्रो दिन (भोलि) ११ वटा समानान्तर सत्र संचालन गरिनेछ।

सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, बेलायतको एसिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर र त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनेछन्।