गोर्खाज फाइनान्सको सोमबार २९ करोडको सेयर किनबेच, गत सातादेखि सर्वाधिक कारोबार किन ?

सुनिल कुँवर
२०८० चैत्र १३ गते ०९:२५ | Mar 26, 2024
गोर्खाज फाइनान्सको सोमबार २९ करोडको सेयर किनबेच, गत सातादेखि सर्वाधिक कारोबार किन ?

काठमाडौं। सोमबार सेयर बजारमा २ अर्ब ४८ करोड रुपैयाँको कारोबार हुँदा गोर्खाज फाइनान्स पहिलो स्थानमा रह्यो।

Tata
GBIME
Nepal Life

यस दिन कम्पनीको सर्वाधिक २८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भयो। कम्पनीको प्रति कित्ता ८७२ रुपैयाँमा ३ लाख ४३ हजार ४८५ कित्ता सेयर किनबेच भएको हो।

गत सातादेखि कम्पनीको सेयर सर्वाधिक कारोबार भइरहेको छ। चैत ५ गते २ अर्ब ८७ करोड रुपैयाँको बजारमा कारोबार हुँदा गोर्खाज फाइनान्स सर्वाधिक सेयर किनबेच हुने कम्पनीमा रह्यो।

त्यो दिन कम्पनीको २३ करोड १४ लाख रुपैयाँको सेयर कारोबार मात्रै भएन बजार ३.२७ अंकले बढ्दा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट नै लाग्यो।

चैत ६ गते ३ अर्ब ६१ करोडको सेयर किनबेच हुँदा गोर्खाज फाइनान्स सर्वाधिक कारोबार हुने तीन कम्पनीमा रह्यो। त्यो दिन कम्पनीको १५ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

चैत ७ गते बिहीबार बजारमा ३ अर्ब ४३ करोड रुपैयाँको कारोबार हुँदा गोर्खाज फाइनान्सको ११ करोड १९ लाख सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन कम्पनीमा रह्यो। चैत ८ गते सेयर बजारमा २ अर्ब ५७ करोड रुपैयाँको कारोबार हुँदा गोर्खाज फाइनान्सकै सर्वाधिक २८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।

सेयर बजारमा एकसातादेखि गोर्खाजको सेयर सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ। कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने ८६ लाख ७९ हजार ९३७ कित्ता सेयर सूचीकृत छ।

फाइनान्स कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित हुन नसकेका बेला सर्वाधिक सेयर कारोबार हुने कम्पनीको शीर्ष स्थानमा कसरी गोर्खाज फाइनान्स आइरहेको छ?

बजारका विश्लेषक र ब्रोकरहरु यसलाई स्वभाविक मान्दैनन्। ‘थोरै सेयर भोलूम भएका कम्पनीहरुको मूल्यमा केही लगानीकर्ताले खेलिरहेका हुन्छन्,’ एक ब्रोकरले भने,’ त्यो कहिले हाइड्रोपार, कहिले माइक्रोफाइनान्स, कहिले कुनै कम्पनीमा देखिन्छ। अहिले गोर्खाज फाइनान्समा पनि त्यही भइरहेको हो।’

एकदिन सप्लाई घटाएर मूल्य बढाउने र अर्कोदिन बिक्री गरेर नाफा बुक गर्ने ट्रेन्ड देखिएको उनको विश्लेषण छ।

कम्पनीको सेयर मूल्यमा देखिएको उतारचढावले उनको भनाइलाई थप बल पुग्छ। फागुन ३० मा ७.५५ प्रतिशतले कम्पनीको सेयर मूल्य प्रति कित्ता ७५५ रुपैयाँ पुग्यो। दोस्रो दिन ०.६६ प्रतिशतले घटेर ७५० मा सीमित भयो। चैत ४ गते ४.६७ र ५ गते १० प्रतिशतले बढेर प्रति कित्ता ८६३ रुपैयाँ पुग्यो। दोस्रो दिन घटेर ८६० रुपैयाँमा सीमित भयो भने चैत ७ मा सकारात्मक सर्किट लागेर प्रति कित्ता ९४६ रुपैयाँ पुग्यो।

कम्पनीको यो मूल्य पछिल्लो एक वर्षकै सबैभन्दा उच्च हो। बिहीबार ७.६१ प्रतिशतले घटेर कम्पनीको मूल्य प्रति कित्ता ८५५ रुपैयाँमा सीमित भएको थियो।

पछिल्लो एक वर्षमा कम्पनीको सर्वाधिक सेयर मूल्य ९४६ पुगेको छ भने न्यून ४५४ रुपैयाँमा आएको छ। अहिले गोर्खाज फाइनान्सको प्रति कित्ता सेयर मूल्य ८७२ रुपैयाँ रहेको छ।

‘हाम्रो मार्केटमा लगानीकर्ताहरु जुन कम्पनीको सेयर मूल्य बढिरहेको छ, त्यसतिर लगानी गर्ने गरेको पाइन्छ। त्योभन्दा पनि कम्पनीको फन्डामेन्टल हेरिँदैन,’  बजारका एक विश्लेषकले भने, ‘ त्यही कारण साना लगानीकर्ता फस्ने जोखिम हुन्छ। चलखेल गर्नेहरुले नाफा कमाउँछन्।’