रसियामा आज राष्ट्रिय शोक, १३३ जनाको मृत्यु हुने गरि भएको आक्रमणमा संलग्न चारजना पक्राउ

बिजमाण्डू
२०८० चैत्र ११ गते ०९:०८ | Mar 24, 2024
रसियामा आज राष्ट्रिय शोक, १३३ जनाको मृत्यु हुने गरि भएको आक्रमणमा संलग्न चारजना पक्राउ
Photo : Sky News

रसियामा कन्सर्ट भइरहेको बेला हलमा प्रवेश गरेर गोली चलाउने चारजनालाई पक्राउ गरिएको छ। मस्कोमा भइरहेको कन्सर्टमा हिजो बन्दुकधारीले गोली चलाउँदा १३३ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

Tata
GBIME
Nepal Life

सो आक्रमणमा १४० भन्दा बढी घाइते भएका छन्। गोली चलाएर युक्रेनतर्फ भागिरहेको क्रममा चारजनालाई पक्राउ गरिएको रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। घटनाको जिम्मेवारी आइएसआइएसले लिए पनि विस्तृत अनुसन्धान भइरहेको छ। पुटिनले आक्रमण रसियामाथिकै प्रहार भएको भन्दै त्यसमा जिम्मेवार कसैलाई नछाड्ने बताएका छन्।

आइएसआइएसले गोली हानिरहेको भिडियोसमेत सार्वजनिक गरेको छ। रसियामा २० वर्षपछि कै सबैभन्दा ठूलो आतंककारी आक्रमण भएको हो।

युक्रेनले भने सो आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेको छ। अमेरिकाले आक्रमणको निन्दा गर्दै इस्लामिक आतंकवादी समूहलाई सबै ठाउँमा पराजित गर्नुपर्ने बताएको छ।

आक्रमण हुँदा हलभित्र ६ हजार बढी उपस्थित थिए। आक्रमणको सूचना लगत्तै रसियाली सुरक्षाफौजको टोलीले कारबाही सुरु गरेको थियो। त्यसक्रममा गोली चलाउनेहरु भागेका थिए। पक्राउ परेकाहरुले पैसाका लागि मानिसको हत्या गरेको बताएका छन्।

आज रसियामा राष्ट्रिय शोक घोषणा गरिएको छ।