‘टुप्पी दूध’को मारमा डीडीसी, १ अर्ब ३५ करोड बराबरको दुग्धजन्य सामग्री गोदाममा

नेत्र तामाङ
२०८० चैत्र ८ गते ०६:३७ | Mar 21, 2024
‘टुप्पी दूध’को मारमा डीडीसी, १ अर्ब ३५ करोड बराबरको दुग्धजन्य सामग्री गोदाममा

काठमाडौं। दुग्ध विकास संस्थानअन्तर्गत सबैभन्दा बढी क्षमताको बालाजु आयोजनामा एक अर्ब ३५ करोड बराबरको दुग्धजन्य सामग्री स्टकमा बसेको छ।

Tata
GBIME
Nepal Life

कुनै बेला बजारमा वाहवाही पाएको डीडीसीको दूधको माग हाल बजारमा कम हुन थालेपछि नौनी(बटर) र पाउडर थन्किएको बालाजु आयोजनाले जनाएको छ।

बालाजुमा मात्र ३ लाख ९६ हजार ६४० किलो एसएमपी पाउडर र ३ लाख ८९ हजार ६२६ किलो नौनी थन्किएको हो। उत्पादित सामग्री बजारमा अस्वस्थ प्रतिस्पर्धा र आर्थिक मन्दीका कारण स्टकमा बसेको आयोजना प्रमुख गणेशकुमार यादव बताउँछन्।

‘बजारमा अस्वस्थ प्रतिस्पर्धा छ। अर्को भनेको आर्थिक मन्दी पनि हो,’ उनी भन्छन्।

आयोजना प्रमुख गणेशकुमार यादव

बजारमा ब्रान्डरहित खुल्ला उत्पादनको बिक्रीमा सरकारले अनुगमन नगर्दा पनि सरकारी संस्थान चेपुवामा परेको उनको भनाई छ। ‘बजारमा फ्रेस भनेर कुनै ब्रान्ड नभएको खुल्ला दूध खुवाइरहेका छन्। जसलाई टुप्पी दूध भनिन्छ,’ यादव भन्छन्, ‘ती दूधमा गुणस्तरको प्रश्न त आउँछ नै, सरकारले कर पनि पाउँदैन।’

डीडीसीको बालाजु आयोजनाको कोल्ड चेनमा रहेको स्टक बटर

खुलारुपमा दूध बेच्न नपाउने नियम भए पनि त्यो कार्यान्वयनमा जान नसक्दा त्यसको असर डीडीसीसँगै अन्य ब्रान्डको दूधको बजारमा परेको यादवले बताए।

‘टुप्पी दूध खाएर कसैलाई केही भयो भने जिम्मेवारी कसले लिन्छ? लेबल हुँदैन, कसलाई खोज्न जाने?,’ उनले भने, ‘डीडीसीको दूध नउमाली खान सकिन्छ। केही कैफियत देखियो भने हामी जिम्मेवारी हुन्छौं।’

गोदाममा थन्किएको दुध पाउडर।

कसरी थन्कियो पाउडर र बटर?

डीडीसीले औसत दैनिक १ लाख ३० हजार लिटर दूध संकलन गर्छ। तर, ७० हजार लिटरभन्दा बढी बिक्री हुँदैन।

बालाजु आयोजनाले काठमाडौंलाई मुख्य बजारका रुपमा हेरेको छ। तर, बढ्दो प्रतिस्पर्धामा डीडीसीले आफूलाई अब्बल बनाउने गरी काम गर्न सकेको छैन। बजारमा डीडीसीको दूध पाउन हम्मेहम्मे हुन्छ। यसको कारण कमिसन भएको यादव बताउँछन्।

गोदाममा थन्किएको पाउडर दुध

‘हाम्रो कमिसन कम छ। सरकारी हो, नियममा रहेर काम गर्नुपर्छ। अरुले धेरै कमिसन दिन्छन्। त्यसैले दूध लुकाएर बेच्छन्,’ उनले भने, ‘हाम्रोमा गुणस्तरमा कम्प्रोमाइज हुँदैन।’

डीडीसीले रसबरी, पनिर, घिउ लगायत उत्पादन पनि बजारमा पठाउँछ। तर, प्रचारप्रसार हुन नसक्दा सरकारी स्वामित्वको संस्थानका उत्पादनको माग बजारमा त्यति देखिंदैन। आयोजना स्वयम् पनि प्रचारप्रसारको अभाव भएको स्वीकार्छ।

सामानहरु स्टकमा रहँदा पनि ३१ करोड ४० लाख नाफामा रहेको यादवको दाबी छ। तर, डीडीसीले किसानको पौने दुई अर्ब रुपैयाँ बक्यौता तिर्न सकेको छैन। बक्यौता तिर्न डीडीसीले सरकारसँग ऋण मागेको छ। ऋण स्वीकृत भइसकेको छैन।

बजारमा नगएको बाँकी दूधबाट डीडीसीले पाउडर(एसएमपी) र बटर बनाउँछ। ‘धेरै समयसम्म स्टक गर्न मिल्ने भएकाले पाउडर र बटर बनाएको हो,’ दुग्ध विज्ञ चक्रवर्ती पौडेलले भने, ‘यी उत्पादनको १८ महिनासम्म म्याद हुन्छ।’

डीडीसीको दूध प्रशोधनशाला

बालाजुमा भदौ यताको पाउडर दूध र बटर थन्किएको छ। ३०० मेट्रिक टनको बटर फ्रिज भरिन लागेको छ भने गोदाममा पाउडर थपिएको थपियै छ। बालाजु आयोजनाले बाग्मती प्रदेशका १ लाख किसानबाट दूध संकलन गर्छ। यहाँ २०६ सहकारी संस्था आबद्ध छन्।

डीडीसीअन्तर्गत बालाजुका अलावा विराटनगर, हेटौंडा, बुटबल, कोहलपुर र अत्तरियामा आयोजना सञ्चालनमा छन्।