कुनै बेला ८ हजार नजिक पुगेको हिमालयन डिस्टिलरीको सेयर मूल्य कतिसम्म पुग्ला ?

बिजमाण्डू
२०८० चैत्र ६ गते ०६:२३ | Mar 19, 2024
कुनै बेला ८ हजार नजिक पुगेको हिमालयन डिस्टिलरीको सेयर मूल्य कतिसम्म पुग्ला ?

काठमाडौं । एचडीएल अर्थात हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य कतिसम्म पुग्ला? सेयर लगानीकर्ताबीच सामाजिक सञ्जालमा दैनिक हुने बहसको विषय हो – एचडीएलको मूल्य।

Tata
GBIME
Nepal Life

कुनैबेला बजारको ‘ब्लुचिप’ हिमालयन डिस्टिलरीको सेयर मूल्य ७ हजार ९३८ रुपैयाँ पुगेकोमा अहिले १ हजार ५८० रुपैयाँ छ। 

पोहोर ३ हजार रुपैयाँ हालेकाहरुले आज पैसा गुमाइसकेका छन्। बीचबीचमा पनि केही माथि पुग्दै यसको मूल्य १६ सय रुपैयाँभन्दा कम नै आएर बस्ने गरेको छ।

सामाजिक संजालमा लगानीकर्ताहरुले मूल्य १ हजारमा झर्नेदेखि बढेर ५ हजार रुपैयाँ पुग्नेसम्म पुग्ने अनुमान गरिरहेका हुन्छन्।

वित्तीय अवस्था

गोल्डेन ओकलगायत सस्तो रेञ्जको मदिरा उत्पादन गर्ने हिमालयन डिस्टिलरीको व्यापार डेढ वर्षयता खस्किरहेको छ। दुई अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको पछिल्लो समय कुनै पनि सूचकांक राम्रो छैन। 

सञ्चालनदेखि खुद नाफासम्म घटेको छ। एक वर्षमै प्रति सेयर आम्दानी आधा घटेको छ। रिटर्न अन इक्विटी पनि ५० प्रतिशत कम भएको छ।

शीर्षक (रु. हजारमा)चालु वर्षको पुसगत वर्षको पुस
चुक्ता पुँजी26725232429566
जगेडा कोष481501557458
बिक्री आय18988162768109
कुल सञ्चालन नाफा247582424689
खुद नाफा163655294263
प्रति सेयर आम्दानी (रु.)12.2524.22
रिटर्न अन इक्विटी (आरओइ (रु.))10.3819.7

एक वर्षयताको कारोबार हेर्दा हिमालयन डिस्टिलरीको सेयर मूल्य बढ्ने भन्दा घटेकै छ। २४ सय माथि पुगेपछि निरन्तर घटेर साढे १४ सय रुपैयाँ हाराहारीसम्म आएको छ। त्यसपछि मूल्य केही सुधार भए पनि १६ सय हाराहारी मात्र पुगेको छ।

एकातिर कम्पनीको व्यापारसँगै आय घट्ने र अर्कातिर चुक्ता पुँजी बढेर रिटर्न अन इक्विटी घट्दा यसमा लगानीकर्ताको आकर्षण कम भएर गएको हो।

१० वर्षको इतिहासमा पछिल्लो पाँच वर्ष कम्पनीले लगातार बोनस सेयर वितरण गरिरहेको छ। त्यसअघि नगद लाभांश मात्र उसको प्राथमिकतामा थियो।

कम्पनीले पछिल्लो पाँच आर्थिक वर्ष लगातार चुक्ता पुँजी वृद्धि गरिरहेको छ। सुरुवातमा दिएको उच्च दरको नगद र बोनस सेयरले कम्पनीको मूल्यमा आकर्षण बढेको थियो। तर पछिल्लो समय समग्र लाभांश घटेको छ, त्यसमा पनि बोनस सेयरको हिस्सा थप घटेको छ।

आर्थिक वर्षनगद लाभांशबोनस सेयर
२०७९/८०१५.००%१०.००%
२०७८/७९१०.००%६०.००%
२०७७/७८२५.००%७५.००%
२०७६/७७५०.००%५०.००%
२०७५/७६१२१.००%५०.००%
२०७४/७५२१.०५%०.००%
२०७३/७४२१.०५%०.००%
२०७२/७३२०.००%०.००%
२०७१/७२२०.००%०.००%

गत वर्षको नाफाबाट १५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर बाँडेको कम्पनीको वित्तीय अवस्था थप कमजोर भएर गएकाले आगामी वर्ष पनि लाभांश आकर्षक नआउने निष्कर्ष ठूला लगानीकर्ताको छ।

तर बजारमा आशावादी लगानीकर्ताहरुको पनि कमी छैन। समग्र अर्थतन्त्र मन्दीमा जाँदा हिमालयन डिस्टिलरीको व्यापार खुम्चिएको हो। विस्तारै बजार लयमा जान थालेपछि यसको व्यापार र आम्दानी बढ्छ। त्यो बेला हिमालयन डिस्टिलरीले पुरानो मूल्य फिर्ता ल्याउँछ भन्ने उनीहरुको विश्लेषण छ।

तर, वित्तीय अवस्था र रणनीतिहरु नजिकबाट हेरिरहेका एक चार्टर्ड एकाउन्टेन्टका अनुसार अब हिमालयन डिस्टिलरीको व्यापार वृद्धिकै कारण पुरानै लयमा फर्किने अवस्था कम छ।

‘एउटा सीमित सेग्मेन्टको मदिरा बेच्ने कम्पनीको अहिले नै पुँजीकरण धेरै भइसकेको छ। उसले पाउनु पर्ने मूल्य पाइसकेको छ,’ उनले भने, ‘दुई अर्ब ६७ करोड चुक्ता पुँजी भएको कम्पनीको ६ महिनाको नाफा १६ करोड छ। वर्ष दिनमा निक्कै बढेछ भने पनि ३५ करोड पुग्ने हो। योबाहेक कम्पनीको कुल मूल्यांकन साढे ४२ अर्ब रुपैयाँ पुगेको छ। चमत्कार भयो भने मात्र हो नभए त पोहोर बराबरको भाउ पाउन पनि गाह्रो छ।’

विभिन्न प्राविधिक विश्लेषणहरु हेर्दा कम्पनीको सेयर मूल्य अधिकतम २ हजार रुपैयाँसम्म पुग्न सक्छ। घट्दा पनि साढे १२ सयसम्म झर्न सक्ने उनी बताउँछन्।

‘ठूलै रणनीतिक निर्णय भयो, कम्पनीले व्यापार उच्च दरले बढ्ने विश्वासिलो योजना ल्यायो भने अर्कै कुरा हो’ ती विश्लेषकले भने, ‘नभए मूल्यमा ठूलो वृद्धि हुने देखिंदैन।’

कम्पनीमा संस्थापकको ५८ प्रतिशत र सर्वसाधारणको ४२ प्रतिशत सेयर हिस्सा छ।