नेपालमा भारतले लगाएको नाकाबन्दी गलत थियो, ‘भारत कहिल्यै हिन्दु राष्ट्र बन्न सक्दैन’

बिजमाण्डू
२०८० चैत्र ५ गते २०:४३ | Mar 18, 2024
नेपालमा भारतले लगाएको नाकाबन्दी गलत थियो, ‘भारत कहिल्यै हिन्दु राष्ट्र बन्न सक्दैन’

विराटनगर। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) का प्राध्यापक एवम् भारत-नेपाल सम्बन्धका जानकार एसडी मुनिले भारत कहिल्यै हिन्दु राष्ट्र बन्न नसक्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

विराटनगरको एलिट क्लबद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्धका नयाँ आयामहरू’ विषयको अन्तरक्रियामा मुनिले भारत सधैं धर्मनिरपेक्ष राष्ट्र हुने दाबी गरेका हुन्।

‘देश कुनै एउटा धर्म, एउटा जाति र एउटा भाषाको हुनसक्दैन,’ उनले भने, ‘यसो गर्न खोजियो भने त्यहाँ अशान्ति र विखण्डन सुरु हुन्छ। पाकिस्तानबाट बंगलादेश टुक्रिने कारण यही थियो। श्रीलंका र म्यान्मारमा यही कारण अशान्ति भएको हो। राज्यको संज्ञा कुनै एक धर्म, एक जाति र एक भाषाका आधारमा हुनुहुँदैन। यो मेरो विचार हो। सरकारले मान्नुपर्छ भन्ने छैन।’ 

उनले भारतमा लोकतन्त्र र धर्ममा केही ‘डाइल्युट’ हुन थालेको र राजनीतिमा हिन्दुवाद बढिरहेको बताए।

म राजतन्त्रको उपासक होइन

प्राध्यापक मुनिले आफू सक्रिय राजतन्त्रको समर्थक र उपासक कहिल्यै नभएको दाबी समेत गरे।

मुनिले राजतन्त्रले ७० वर्षसम्म नेपाल र नेपालीलाई के दियो भन्ने प्रश्न गर्दै माओवादी आन्दोलन राजतन्त्रले नै दिएको जिकिरसमेत गरे।

लिपुलेक–कालापानीमा वार्ता नै समाधान

मुनिले लिपुलेक र कालापानीको समस्या नयाँ नक्शाले समाधान हुन नसक्‍ने बताए। आफूले कालापानी र लिपुलेकको दस्तावेज पढेको र त्यसमा दुवै देशको दाबी रहेको उनले बताए।

उनले भने, ‘नेपाल सुगौली सन्धिको कुरा गर्छ। तर यसमा भारतले पनि दाबी गर्दै आएको छ। यो एउटा टेबुलमा बसेर छलफल गरेर टुंगिने विषय हो। नयाँ नक्शा बनाएर, संविधानमा संशोधन गरेर वा वार्ता नगरेर समाधान हुँदैन।’

नाकाबन्दी ठिक थिएन

भारतले नेपालमा गरेको २०७२ सालको नाकाबन्दी ठिक र उचित नभएको उनले बताए।

मुनिले सुनाए, ‘मैले त्यो नाकाबन्दीको विरोध गरें। त्यो वास्तवमै उचित थिएन। मैले भारत सरकारलाई यसो नगर्नूस्, यसले दुवै देशबिचको सम्बन्ध बिग्रन्छ भनेको थिएँ।’

‘चीनको विद्युत् खरिद गर्नुपर्छ’

उनले चिनियाँ लगानीमा नेपालमा उत्पादित जलविद्युत् भारतले खरिद गर्नुपर्ने विचार व्यक्त गरे।

‘चिनियाँ लगानीको जलविद्युत् कम्पनीबाट उत्पादित बिजुली भारतले खरिद गर्दिन भन्नु राम्रो होइन’, उनको भनाइ थियो, ‘जसले उत्पादन गरेको होस्, खरिद गरेपछि त्यो आफ्नो हुन्छ।’

मुनिले भने, ‘त्यसैले भारत चाहन्छ कि दक्षिण एसियामा चीनको प्रभाव नबढोस्। तर चिनियाँ लगानीमा उत्पादित विद्युत् खरिद नगर्नु र चिनियाँ लगानीको विमानस्थल प्रयोग नगर्नु सैद्धान्तिक रूपमा ठिक होइन।’

प्राध्यापक मुनिले चीनले भारतीय सीमामा सेना तैनाथ गरेको दाबी समेत गरेका छन्। चीन अहिले पहिलेको जस्तो चीन नभएको भन्दै उनले सम्पूर्ण दक्षिण एसियामा चीनले आफ्नो प्रभाव जमाउन खोजिरहेको आरोप लगाए।

‘अब चीन पनि पहिलको जस्तो चीन रहेन’, उनले सुनाए, ‘चीन पहिले राजा महेन्द्रले बोलाएपछि मात्र नेपालमा आएको हो। अब तपाईंले नबोलाए पनि ऊ आउँछ र आइरहेको छ। दक्षिण एसियाको हाम्रो समुदाय संसारकै ठूलो समुदाय हो। यहाँको अर्थतन्त्र ५ देखि ६ प्रतिशतले बढिरहेको छ। दुनियाँमा यसरी कतै बढेको छैन। यस क्षेत्रको जनसंख्या पनि एक अर्ब ६० करोडको छ। त्यसैले कुनै पनि मुलुक यो जनसंख्या र आर्थिक वृद्धिको फाइदा उठाउन खोज्छ। कुनै देशले यो क्षेत्र र समुदायलाई नेग्लेट गर्न सक्तैन। त्यसैले चीन अब तपाईंले नबोलाए पनि आउँछ।’