नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने, राष्ट्र बैंकले दियो अनुमति

बिजमाण्डू
२०८० चैत्र २ गते १६:२० | Mar 15, 2024
नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने, राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं। नेपाली नागरिकले पनि भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकका खाताबाहकले भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने बताएको छ।

Tata
GBIME
Nepal Life

नेपाली बैंकमा आबद्ध क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट विदेशमा भुक्तानी गर्न राष्ट्र बैंकले स्वीकृति दिएको हो।

नेपाल-भारतबीच अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर कोड भुक्तानी सुरु भएको दुई सातामा १ करोड भारु (एक करोड ६० लाख रुपैयाँ) कारोबार भएको थियो।

भारतीय नागरिकले नेपालमा फोनपेको क्यूआर कोडमा भारतको फोनपे र भीम एपमार्फत गत फागुन १६ गतेदेखि भुक्तानी गर्न थालेका थिए। त्यसपछि गुगल पेसमेत यसमा जोडिइसकेको छ। अहिले भारतीयले हरेक दिन ४५० देखि ५ सय वटा क्यूआर कारोबार नेपालमा गरिरहेका छन्।

क्रसबोर्डर क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच गत भदौमा सम्झौता भएको थियो। त्यससँगै भारतीयलाई नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने सुविधाको औपचारिक सुरुआत भए पनि राष्ट्र बैंकले स्वीकृति नदिंदा भारत जाने नेपालीले क्यूआरमार्फत भुक्तानी गर्न पाएका थिएनन्।

राष्ट्र बैंकको शुक्रबारको सर्कुलरसँगै अब नेपालीले भारतमा रहँदा क्यूआरमार्फत मर्चेन्ट भुक्तानी गर्न सक्ने छन्।

त्यसैगरी, क्रसबोर्डर भुक्तानी सम्बन्धमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल)बीच गत जेठमा सम्झौता भएको थियो। यसका लागि प्राविधिक परीक्षण अहिले अन्तिम चरणमा छ। 

राष्ट्र बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खातामार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन १५ हजार भारु र प्रति महिना एक लाख रुपैयाँ भारु सटही सुविधा पाउने व्यवस्था गरेको छ।

भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनका लागि राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले व्यवस्था गरेको ‘इन्डो-नेपाल रेमिटेन्स फ्यासिलिटी स्किम’ को अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खातामार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउन सक्ने नयाँ व्यवस्था पनि गरिएको छ।

नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा पाउने गरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्न राष्ट्र बैंकले खुला गरिदिएको छ।

यस्तो कारोबार गर्दाका जोखिम र सोको निराकरण/न्यूनीकरणका उपाय सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक आफैंले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।