हवाई सुरक्षामा एनएसीको खेलाँची, तीन विभाग ६ महिनादेखि प्रमुखविहीन, क्यान मूकदर्शक

बिजमाण्डू
२०८० फागुन २९ गते १५:१२ | Mar 12, 2024
हवाई सुरक्षामा एनएसीको खेलाँची, तीन विभाग ६ महिनादेखि प्रमुखविहीन, क्यान मूकदर्शक

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) को सुरक्षासँग जोडिएका तीन महत्त्वपूर्ण विभागलाई प्रमुखविहीन बनाएर गम्भीर लापरबाही गरेको पाइएको छ।

Tata
GBIME
Nepal Life

निगमको ड्युटी मेन्टिनेन्स डिपार्टमेन्ट, कन्टिनियुङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन र कर्पोरेट सेफ्टी डिपार्टमेन्टलाई प्रमुखविहीन बनाइएको हो। ती जहाज मर्मत सम्भारसँग जोडिएका महत्त्वपूर्ण विभाग हुन्। ती विभाग प्रमुखविहीन हुँदा जहाजको सुरक्षामा गम्भीर प्रश्न उठेमा जवाफदेहिता हुँदैन।

निगम स्रोतका अनुसार सुरक्षासँग जोडिएका महत्त्वपूर्ण विभागलाई प्रमुखविहीन बनाएर व्यवस्थापनले गम्भीर लापरबाही गर्दा समेत नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बेवास्ता गर्दै आएको छ।

‘निगम व्यवस्थापनले गरिरहेको लापरबाहीलाई प्राधिकरणले नजरअन्दाज गरिरहेको छ। नियामकले तत्कालै यसमा हस्तक्षेप नगरे ठूलो समस्या निम्तिन सक्छ,’ निगमका एक कर्मचारीले भने, ‘जहाजमा कुनै समस्या आएमा कसलाई जवाफदेही मान्ने? जहाजजस्तो संवेदनशील विषय पनि भगवान भरोसामा चलाउन खोजेर हुन्छ?’  

ती कर्मचारीका अनुसार निगम व्यवस्थापनको खेलाँचीका बारेमा तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई समेत जानकारी गराइएको थियो। निगमको महत्त्वपूर्ण विभागलाई प्रमुखविहीन बनाउँदा सुरक्षामा गम्भीर प्रश्न खडा भएको किरातीलाई ‘ब्रिफ्रिङ’ गरिएको थियो।

तर, किरातीले बेवास्ता गरे। उनले सुरक्षामा खेलाँची गर्नेहरुलाई सचेत गराउनुको साटो कमिसनको लोभमा जहाज किन्ने योजना अगाडि बढाउन लगाएको आरोप छ। आर्थिक रुपमा जर्जर बन्दै गएकाले निगमले जहाज किन्न सक्ने कुरै थिएन।

‘उच्च व्यवस्थापनले सिर्जना गरेका बेथितिबारे जानकारी गराउँदा कुनै सुनुवाइ भएन। अहिले नयाँ मन्त्री आउनुभएको छ,’ ती कर्मचारीले भने, ‘नयाँ मन्त्रीले सुरक्षासँग जोडिएका यी विषय सम्बोधन गर्ने अपेक्षा राखेका छौं।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किरातीलाई बिदा दिएर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी हितबहादुर तामाङलाई दिएका छन्।

६ महिनादेखि जिम्मेवारीविहीन

क्यानले ६ महिनाअघि ड्युटी मेन्टिनेन्स डिपार्टमेन्ट र कन्टिनियुङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसनका म्यानेजरलाई ग्राउण्डेड गरेको थियो। नेपालबाट साउदी अरेबियाको दमामका लागि उडेको निगमको जहाज पाकिस्तानको आकासबाट फिर्ता भएको थियो। जहाज उड्दा नजिकै अर्को जहाज भए/नभएको बारे चेतावनी दिने प्रणाली टीसीएएसमा प्राविधिक समस्या आएको थियो। त्यसपछि त्यो जहाज नेपाल फिर्ता भएको थियो।

सो प्रकरणमा मेन्टिनेन्स डिपार्टमेन्टका डीके सन्जेल र कन्टिनियुङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसनका उपेन्द्र पौडेललाई क्यानले ग्राउण्डेड गरेको थियो। उनी ग्राउण्डेड भएपछि निगम व्यवस्थापनले कसैलाई जिम्मेवारी नदिइ यी विभाग आफै चलाइरहेको छ।

निगमको सेफ्टी डाइरेक्टरमा भने क्यानले कम अनुभव भएका विकास थापालाई पठाएको भन्दै फाइल स्वीकृत गरिएको छैन। युरोपेली युनियन (ईयू) ले जहाज उडानमा गम्भीर लापरबाही गरेको प्रतिवेदन दिएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफू जोगिन धीरेन्द्र रौनियारलाई हटाई थापालाई प्रस्ताव गरेका थिए।

क्यान अबगालबाट पन्छिँदै

निगम व्यवस्थापनले हवाई सुरक्षामा गरिरहेको लापरबाहीबारे क्यान जानकार छ। ईयूको प्रतिवेदन आएपछि क्यानले गत कार्यकारी अध्यक्ष अधिकारीलाई कारबाही गर्न खोजेको थियो। कारबाहीको तयारीस्वरुप मंसिर तेस्रो साता अधिकारीलाई सात दिने स्पष्टीकरण सोधिएको थियो।

तर, राजनीतिक दबाबका कारण अधिकारी कारबाहीबाट जोगिए। ‘सरकारी स्वामित्वको निगममाथि हामीले कुनै कारबाही गर्ने बित्तिकै अबगाल आउँछ। त्यही भएर हामीले त्यहाँ भइरहेको लापरबाही समेत टुलुटुलु हेरिरहनु परेको छ,’ क्यानका एक कर्मचारीले भने, ‘निगमका उच्च पदस्थले मनलाग्दी गरिरहेका छन्। यसले जहाजको सुरक्षामाथि धेरै ठूलो प्रश्न सिर्जना भएको छ।’