न्यारोबडीपछि तीनवटा एटीआर जहाज ल्याउने एनएसीको तयारी, किराती र अधिकारीले किन गर्दैछन् मरिहत्ते?

वसन्तराज उप्रेती
२०८० माघ २५ गते १८:३९ | Feb 8, 2024
न्यारोबडीपछि तीनवटा एटीआर जहाज ल्याउने एनएसीको तयारी, किराती र अधिकारीले किन गर्दैछन् मरिहत्ते?

काठमाडौं। दुईवटा ट्वीनअटर जहाज खरिद र २ वटा न्यारोबडी जहाज वेट लिजमा ल्याउने योजनाले मूर्तरुप नपाउँदै नेपाल वायुसेवा निगम ३ वटा एटीआर जहाज लिजमा ल्याउने तयारीमा लागेको छ।

Tata
GBIME
Nepal Life

निगमले एटीआर जहाज वेट लिजमा ल्याउनका लागि कर्मचारीको नेतृत्वमा समिति गठन गरेको छ। समितिले जहाज ल्याउने विषयमा अध्ययन थालिसकेको निगमका एक उच्च अधिकृतले जानकारी दिए।

‘निगमले धमाधम जहाज बढाउने योजना अघि बढाएको छ। न्यारोबडी जहाज वेट लिजमा ल्याउन भर्खरै टेण्डर आह्‍वान गरिएकामा अब एटीआर जहाज पनि वेट लिजमा ल्याउने भनेर अध्ययन गराउने काम भइरहेको छ,’ निगमका ती उच्च अधिकृतले भने, ‘ट्वीनअटर जहाज किन्ने प्रक्रिया अगाडि बढ्न नसकेपछि एटीआर जहाज ल्याउने तयारी अघि बढाइएको छ।’

एटिआर कम्पनीको आधिकारीक पेजबाट साभार तस्विर
एटीआर कम्पनीको पेजबाट साभार तस्विर

एटीआर-७२ सिरिजका ३ वटा जहाज लिजमा ल्याउन समितिले छलफल सुरु गरिसको छ। समितिले जहाज ड्राइ वा वेट लिजमा ल्याउने भन्ने विषयमा अध्ययन गर्न बाँकी छ।

आन्तरिक उडानका लागि निगमसँग तीन वटा ट्वीनअटर जहाज रहेकामा २ वटा मात्र संचालनमा छन्। ती जहाजमार्फत निगमले विभिन्न १६ वटा गन्तव्यमा सातामा २५ उडान गर्दै आएको छ। एउटा जहाज १२ वर्षदेखि मर्मत नगरी राखिएको छ।

सुगम गन्तव्यतर्फ उडानका लागि भन्दै निगमले ११ वर्ष अघि मोडर्न आर्क (एमए-६०) सिरिजका २ वटा र वाइ-१२ सिरिजका ४ वटा चिनियाँ जहाज भित्र्याएको थियो।

२ वटा अनुदान र ४ वटा साढे ३ अर्ब रुपैयाँमा किनिएकामा व्यावसायिकरुपमा उडाउन नसकेर २ अर्ब रुपैयाँभन्दा बढी घाटा लागेपछि ३ वर्षअघि नै ग्राउण्डेड गरेको थियो। ती जहाज २ अर्ब ६० करोड रुपैयाँमा बिक्रीका लागि भनेर निगमले दोस्रो पटक माघ २३ गते लिलामीको सूचना निकालेको थियो।

एउटा न्यारोबडी जहाज मंसिर १५ देखि ग्राउण्डेड रहेकामा निगम व्यवस्थापनले मर्मत सम्भारमा खेलाँची गर्दै आएको छ। निगमले जहाज मर्मत गर्न छोडेर अर्को लाउडा काण्ड दोहोर्‍याउन न्यारोबडी जहाज वेट लिजमा ल्याउने भन्दै माघ २३ गते टेण्डरको सूचना निकालेको थियो।

निगमले यसअघि २ वटा ट्वीनअटर जहाज किन्नका लागि दसैं बिदाको अवसर पारेर टेण्डरको सूचना निकालेकामा आवेदन दिएका कम्पनी प्राविधिकरुपमा फेल भएका छन्। अध्यक्ष युवराज अधिकारी आफूले जहाज किन्न टेण्डरअघि नै डिल गरेको कम्पनी समेत फेल भएपछि अब जुन उपाय अपनाएर भएपनि ठूला जहाज ल्याउने योजनामा लागेका हुन्।

‘यसअघि भाडामा ल्याउँदा कमिसनका कारण लाउडा काण्डका नाममा निगम बद्‍नाम भएको थियो। यसपालि फेरि वेट लिजका नाममा कमिसनकै लागि जसरी पनि जहाज ल्याउन खोजिंदैछ,’ निगमका अर्का उच्च अधिकृत भन्छन्, ‘बजार खोज्ने काम र व्यवस्थापनमा कमजोरीले अहिले भइरहेकै न्यारोबडी र ट्वीनअटर जहाजबाट नाफा कमाउन सकिएको छैन। निगम आर्थिकरुपमा दिनप्रतिदिन धराशायी बनिरहेको छ। तर व्यवस्थापन भने कमजोरी सुधार गर्ने भन्दा पनि कुम्ल्याउनका लागि अनेक उपायतिर लागिरहेको छ। निगमलाई सिध्याएर छोड्छ्न् कि क्या हो।’

ट्वीनअटर र न्यारोबडी जहाज मर्मतमा खेलाँची गरेको भनेर सार्वजनिकरुपमै अध्यक्ष अधिकारीलाई हटाउनेसम्मको चेतावनी दिएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लिजमा जहाज ल्याउने योजनामा भने साथ दिएका छन्।

‘मन्त्री किरातीको साथ नपाएको भए न न्यारोबडी जहाज वेट लिजमा ल्याउनका लागि टेण्डर गरिन्थ्यो, न त एटीआर जहाज ल्याउनका लागि भनेर समिति बनाइन्थ्यो,’ निगमका ती उच्च अधिकृत भन्छन्, ‘मन्त्रीलाई अध्यक्षले के भनेर हात लिएका छन् भन्ने थाहा भएन। तर सवा दुई अर्बभन्दा बढी नोक्सानी बेहोरेको अवस्थामा पनि अधिकारीको कुरा पत्याएर निगमले नाफा कमाएको भनेर मन्त्रीले भन्दा चाहिं उनी निकै कमजोर खालका हुन् भन्ने देखिन्छ।’