मासिक १७ करोड भाडामा दुईवटा न्यारोबडी जहाज ल्याउँदै एनएसी, केही दिनभित्रै टेण्डर

वसन्तराज उप्रेती
२०८० माघ २१ गते १८:०९ | Feb 4, 2024
मासिक १७ करोड भाडामा दुईवटा न्यारोबडी जहाज ल्याउँदै एनएसी, केही दिनभित्रै टेण्डर

काठमाडौं। नेपाल वायुसेवा निगमले दैनिक ७ घण्टा उडान ग्यारेन्टी गरेर ‘वेट लिज’मा दुई वटा न्यारोबडी जहाज ल्याउन टेण्डर गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

चार वटा ठूला जहाज ल्याउन लिएको ३४ अर्ब ऋण तिर्न नसकेर ५० अर्बको भार बेहोरिरहेको निगमलाई थप ठूलो ब्ययभार हुने गरी वेट लिजमा जहाज ल्याउन भन्दै एक साताभित्रै टेण्डर गर्न लागिएको छ।

निगम स्रोतका अनुसार टेण्डरका लागि अहिले कानुनी प्रक्रिया लगायत सबै प्रावधान हेर्ने काम भइरहेको छ। त्यो प्रक्रिया पूरा भएपछि ग्लोबल टेण्डर गर्ने तयारी रहेको स्रोतले बतायो।

निगमले जहाज ‘वेट लिज’मा लिन टेण्डर आह्‍वान गर्नुअघि केही कम्पनीसँग अनौपचारिक छलफल गरिसकेको छ। ती कम्पनीको प्रस्तावका आधारमा टेण्डर डकुमेन्ट तयार पारिएको स्रोतले बतायो।

स्रोतका अनुसार प्रति घण्टा तीन हजार अमेरिकी डलरका दरले वेट लिजमा जहाज ल्याउने गरी टेण्डर गरिंदैछ। दैनिक ७ घण्टाका दरले एक महिनामा एउटा जहाजको मात्रै भाडा ६ लाख ३० हजार अमेरिकी डलर (८ करोड ३१ लाख रुपैयाँ) बुझाउनुपर्नेछ।

टेण्डर डकुमेन्टमा कम्तीमा पनि एक वर्ष जहाज भाडामा लिने प्रावधान राखिंदैछ। यो आधारमा निगमले भाडाबापत एउटा जहाजको मात्र १ अर्ब रुपैयाँ तिर्नुपर्छ। ‘वेट लिज’मा जहाजका पाइलट र ‘क्याबिन क्रु’ भाडामा दिने कम्पनीको हुन्छ भने इन्धन र यात्रुलाई दिने खानेकुराको जिम्मा भाडामा लिने कम्पनीको हुन्छ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार भारतको गो एयरसँग पनि प्रस्ताव मागिएको थियो। गो एयरले बैंकरप्सी(टाट उल्टिएको) घोषणापछि गत वर्ष मेमा उडान बन्दको घोषणा गरेको थियो। यो कम्पनीसँग एयरवसका ए-३२० सिरिजका ७८ वटा न्यारोबडी जहाज छन्।

निगमले पनि यही सिरिजको जहाज भाडामा ल्याउन लागेको हो। यो बाहेक जापान एयरलाइन्स (जाल)सँग समेत प्रस्ताव मागिएको थियो। स्रोतका अनुसार जालको हेडक्वाटरभन्दा पनि जापानमा रहेको कुनै नेपाली एजेन्टमार्फत प्रस्ताव ल्याइएको हो। जालसँग पनि एयरबसको ए-३२० सिरिजको जहाज छ।

यस्तो छ वेट लिज योजना

निगमसँग अहिले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन्। तीमध्ये एउटा न्यारोबडी जहाज २ महिनाभन्दा बढीदेखि ग्राउण्डेड छ। जहाजको मर्मत सम्भारमा बेवास्ता गरी निगम व्यवस्थापनले भाडामा ल्याउने तयारी गरेको हो। यसमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको समेत साथ छ।

स्रोतका अनुसार निगम व्यवस्थापनले पर्यटनमन्त्री किरातीलाई भाडामा ल्याउने दुई वटा न्यारोबडी जहाजबाट दैनिक २ करोड ६० लाख रुपैयाँको व्यवसाय हुने जानकारी दिएका छन्। यो आधारमा मासिक ७८ करोड रुपैयाँ आम्दानी हुने जिकिर व्यवस्थापनको छ। त्यसमध्येबाट १७ करोड रुपैयाँ मात्रै जहाज भाडामा दिने कम्पनीलाई दिनुपर्ने भन्दै व्यवस्थापनले टेण्डरका लागि मन्त्री किरातीलाई मनाएको हो। तर, भाडामा ल्याइने जहाज सधैं उड्छन् भन्ने हुँदैन। जस्तो कि निगमको एउटा न्यारो बडी जहाज मंसिर १५ देखि ग्राउण्डेड छ।

उड्दा पनि फूल अकुपेन्सी भए मात्रै निगम व्यवस्थापनले भनेको आकारमा व्यापार हुने हो। कुनै कारणले जहाज नउड्दा पनि निगमले ७ घण्टाको भाडा बुझाउनुपर्छ। त्यसमा पनि जहाजको सबैभन्दा ठूलो खर्च इन्धनमा हुन्छ।

सुरुमा एक महिनाको भाडाबापतको रकम बैना दिएर जहाज ल्याउने तयारी रहेको निगमका एक कर्मचारीले बताए। ‘सुरुमा बैना नदिइ त जहाज आइपुग्दैन। सुरुमा हामी एक महिनाको पैसा दिन्छौं,’ उनले भने, ‘त्यो बैंक ग्यारेन्टी राख्छौं।’

लिजमा ल्याइने जहाज छोटो दूरी (सर्ट हल सेक्टर) अर्थात मलेसिया, कतार लगायत गन्तव्यमा उडान गर्ने तयारी छ।