शंखमुलको भट्टीमा तिरेको नोट नक्कली, कुन फिल्मको सुटिङबाट ल्याएको खोज्दै प्रहरी

बिजमाण्डू
२०८० पुष १० गते ११:४६ | Dec 26, 2023
शंखमुलको भट्टीमा तिरेको नोट नक्कली, कुन फिल्मको सुटिङबाट ल्याएको खोज्दै प्रहरी

काठमाडौं। पछिल्लो समय काठमाडौंमा नक्कली नोटको कारोबार बढेर गएको छ। मदिरा पसल, डान्स बार, तरकारी पसल लगायत ठाउँमा नक्कली नोटको प्रयोग हुने गरेको बरामदीका घटनाले देखाएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं प्रहरीले केही समयअघि धादिङ घर भएका ३० वर्षीय सन्तोष चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली नोटको कारोबार गरेको खुलेको थियो।

चेपाङलाई काठमाडौंको शंखमुलबाट नियन्त्रणमा लिँदा उनको साथबाट हजार र पाँच सयको नक्कली नोट फेला पारेको थियो। सोही घटनामा उनको साली नाता पर्ने प्रमिला प्रज्ञा र उनका श्रीमान् रत्नबहादुर श्रेष्ठ भने फरार रहेका छन्। प्रहरीसँगको बयानमा सन्तोषले नक्कली नोट रत्नबहादुर र प्रमिलाले दिएको बताएका छन्।

उनीहरूले विभिन्न बहानामा आफ्नो कोठामा बोलाएर नोट दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। कोठाबाट रकम लिएर उनी शंखमुलको एक भट्टी पसलमा पुगेर रक्सी खाएका थिए। त्यसपछि साथमा भएको हजारको नोट दिए। नक्कली नोट भएको खुलेपछि प्रहरीले हजार दरको पाँच वटा र पाँच सयको एउटा नोटसहित पक्राउ गरेको थियो।

उनीहरूले नोट नुवाकोटमा सुटिङमा जाँदा ल्याएको बताएका थिए। तर कुन फिल्मको सुटिङ? कसले दिएको भन्ने अनुसन्धानमा खुलेको छैन। फरार रहेका दुई जनालाई पक्राउ गरेपछि थप खुल्ने प्रहरीले जानकारी दिएको छ। ६ वर्षअघि प्रहरीले फिल्ममा प्रयोग गर्ने नक्कली नोटसहित ‘लुट’ चलचित्रका निर्माता माधव वाग्लेलाई पक्राउ गरेको थियो।