त्रिभुवन विमानस्थलमा २१ दिनको मात्रै सीसीटीभी फुटेज, कति सुन भित्रिन्छ छैन यकिन

बिजमाण्डू
२०८० पुष ८ गते १६:१६ | Dec 24, 2023
त्रिभुवन विमानस्थलमा २१ दिनको मात्रै सीसीटीभी फुटेज, कति सुन भित्रिन्छ छैन यकिन

काठमाडौं। एकपछि अर्को सुन तस्करी काण्डले बदनाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीसीटीभी फुटेज नै गायब बनाउने गरेको पाइएको छ। पछिल्लो १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनाइएको समितिले नै कानुनअनुसार सीसीटीभी फुटेज नपाएको हो।

Tata
GBIME
Nepal Life

कानुनअनुरुप तीन महिनाको रेकर्ड राख्नुपर्नेमा समितिले २१ दिनको मात्रै फुटेज पाएको हो। जसका कारण सुन प्रकरणमा थप प्रमाणहरु जुटाउन समितिलाई कठिन भएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले घटनाको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो। समितिले भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डेयलाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनमा मिन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले पटक-पटक गरी १३८ किलो सुन सेटिङ मिलाएर ल्याउने गरेको उल्लेख छ।

पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ किलो मात्र सुन समातिएको थियो। मंसिर २१ गते बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित उनी पक्राउ परेका थिए। फ्लाइ दुबईको विमानबाट काठमाडौं ओर्लिएका ४५ वर्षीय घले विशेष सुराकीको आधारमा पक्राउ परेका थिए।

उनको खानतलासी गर्दा सुन बिस्कुट आकारको ७ थान बरामद गरिएको थियो। सुन गोरखाका मीनबहादुर घलेको भएको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि उक्त घटना छानबिनका लागि समिति बनेको थियो। समितिले प्रतिवेदन तयार पारेर बुझाएको छ। भन्सार कार्यालय प्रमुख पाण्डेयले सरकारी वकिलसँग राय/सुझाव लिएर मुद्दा दायर गरिने बताए।

‘हामी सरकारी वकिलसँग सुझाव लिएर मुद्दा अघि बढाउछौं,’ उनले भने, ‘अबको हाम्रो प्रयास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध आयात हुन्छ, गलत हुन्छ भन्ने मानक मेट्नका लागि हुनेछ।’

समितिका संयोजक पौडेलले एयरपोर्टबाट सेटिङ सुन छिराउन सहयोग गर्ने कोही छन् कि भन्‍ने अनुसन्धानको विषय रहेको बताए। उनका अनुसार प्रतिवेदन तयार पार्नका लागि सीमित समय भएकाले सबै पाटो हेर्न सकिएको छैन।

‘हामीले प्रतिवेदन बुझाएका छौं। यसमा थप अनुसन्धान गरेर अरु पाटोहरु हेर्न सकिन्छ। अंकित अग्रवाल र कसले सुन सप्लाइ गर्थ्यो भन्‍ने पाटो खुलेको छैन,’ उनले भने, ‘एउटा सेटिङ गर्नेलाई अर्को सेटिङमा संलग्नले चिन्‍ने अवस्था छैन। त्यसकारण थप अनुसन्धान गर्न सकिन्छ।’

१४ किलो सुन प्रकरणमा ९ जनाको संलग्नता देखिएको छ। बारपाक गोरखाका मिन बहादुर घलेले कृष्ण कुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अंकित अग्रवाल र गुरु भन्‍ने व्यक्तिसँग सम्पर्क गरी १४ किलोका दरले अवैध रुपमा सुन नेपाल भित्र्याउने गरेका थिए।

१४ किलो अवैध सुन प्रकरणमा चन्द्र घले (गोरखा), कृष्णकुमार श्रेष्ठ (स्याङजा), शेरबहादुर बस्नेत (काठमाडौं), लेकबहादुर तामाङ (नुवाकोट), राधाकृष्ण श्रेष्ठ (काठमाडौं), रमेश देउला (काठमाडौं), अनिल श्रेष्ठ (धादिङ) र विना गुरुङ (लमजुङ) संलग्न रहेको पाइएको छ।

यो घटना छानबिन गर्दै जादा एमआरपीभन्दा पहिले प्रयोग हुने हस्तलिखित पासपोर्ट समेत प्रयोग गरेर तस्करी हुने गरेको निष्कर्ष समितिको छ भने कृष्ण कुमार श्रेष्ठसँग १७ वटा पासपोर्ट फेला परेको छ।